अनाम शर्मा
काठमाडौं, ८ भदौ ।
लोकतन्त्रमाथि प्रश्न उठ्यो भने, लोकतन्त्रको धरातल कमजोर भयो भने वा लोकतन्त्रप्रति जनतामा वितृष्णा फैलियो भने त्यो केवल देउवा, ओली र दाहालका दम्भ र गैरजिम्मेवारीपनका कारण भएको मानिने छ । यी तीनजना लोकतन्त्रका नायक र खलनायक दुबै हुन् । यिनीहरूले गर्न चाहेको भए असम्भव केही थिएन तर गरेनन् । यिनकै स्वार्थी र आत्मकेन्द्री चरित्रका कारण अहिले नेपालमा लोकतन्त्रमाथि अनेक प्रश्न उठ्न थालेको हो, लोकतन्त्रको जग कमजोर बनेकोे हो ।
यिनीहरू लोकतन्त्रको मर्म र भावना अनुसार चलिदिएको भए, जनताको आशा र भरोसालाई बचाइदिएको भए, यस कारण राजतन्त्र गलत थियो र यस कारण लोकतन्त्रिक शासन व्यवस्था सही छ भनेर पुष्ट्याइँ गरिदिएको भए आजसम्ममा देशको अवस्था अर्कै हुने थियो । जनताका छोरा छोरी देशको सर्वोच्च स्थानमा पुग्दा देश र जनताको अवस्थामा यसरी परिवर्तन गर्न सकिन्छ भनेर प्रमाणित गरिदिएको भए आज देउवा, ओली र दाहालहरूलाई जनताले जननायक मानेर श्रद्धाले स्तुति गर्थे होलान् । तर जनताले शालीग्राम मानेर पुजेका यिनीहरू त केवल बगरका साधारण ढुङ्गा मात्र सावित भए । फेरि पनि यिनीहरूबाट देशमा विकास र समृद्धिको अपेक्षा गर्नु भनेको बयल गाडामा चढेर अमेरिकाको यात्रा गर्ने सपना देख्नुजस्तै मात्र हो ।
देउवा, ओली र दाहालले आफूलाई परिक्षण गर्ने र आफ्नो सामर्थ्य प्रस्तुत गर्ने अवसर बारम्बार पाएका हुन् । उनीहरूमा भिजन र भिजन पूरा गर्ने इच्छाशक्ति भएको भए आजसम्ममा उनीहरूले नेपाली जनताको मन मुटुमा सुरक्षित स्थान बनाइसकेका हुन्थे । तर जनताले जति पटक मौका दिए पनि उनीहरूले आफूलाई कहिल्यै अब्बल सावित गर्न सकेनन् र जनताको मनमा बस्न सकेनन् । राजनीतिक रूपमा पटक पटक फेल भएर पनि निर्लज्ज यिनीहरू अझै पनि अरूलाई मौका दिने पक्षमा छैनन् । देउवा, ओली र दाहाल यी तीनै जनाको साझा विशेषता भनेको आजीवन पार्टीको प्रमुख बनिरहनु र प्रमको अवसर आउने वित्तिकै हतार हतार आफैंलाई प्रस्तुत गर्नु हो । दास कार्यकर्ता भएका पार्टीमा यिनीहरूको निर्णयमा कोही पनि प्रश्न उठाउने साहस गर्न सक्तैनन् । यी तीनजना नेतृत्वमा रहुञ्जेल भ्रष्टाचार र बेथितिले थप मौलाउने अवसर पाउला तर देश र जनताका पक्षमा केही हुनेवाला छैन ।
यी महङ्गा डेट एक्पायर औषधिहरू– फाल्न पनि लोभ लाग्ने, खाँदा पनि मरिएला कि भन्ने पीर हुने ! सजाएर राखौं न त भन्दा पनि प्रदूषण फैलाउलान् भन्ने डर रहने ! देशको हितमा यिनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने सवाल नै आजको सर्वाधिक जटिल समस्या हो ।
यी तीनैजना नेपाली राजनीतिका नेताजस्ता देखिने अभिनेताहरू हुन्, हास्य कलाकार हुन् । यिनीहरूको नाटक हेरेर, यिनीहरूको असफल र टिठलाग्दो अनुहार हेरेर कुन युवा के सम्भावना देखेर नेपाल बस्न चाहन्छ र ? भ्रष्टाचार, कुशासन र बेथितिका पर्यायवाची बनेका यिनीहरूले देशका लागि थोरै मात्र पनि केही सकारात्मक काम गरिदिएका भए युवाशक्तिको पलायन हुने क्रम पातलिन सक्थ्यो होला । यिनीहरूले गर्नुपर्ने केही गरेनन् तर नगर्नु पर्ने चाहिँ धेरै कुराहरू गरे । त्यसैले पनि यिनीहरूको कर्मबाट आजित बनेका नेपाली जनता श्रीलङ्का र बंगलादेशको घटनाक्रम हेरेर हौसिएका छन्, लोभिएका छन् । जसले जनताको मनोभाव बुझेर काम गर्न सक्तैन, उसले भाग्नु पर्छ वा उसलाई भगाइनै पर्छ । सुन्दर विहानीको परिकल्पना गर्ने हो भने अँध्यारोसँग लड्ने सामर्थ्य जुटाउनु पर्छ ।
र, अझै पनि प्रधानमन्त्रीका रूपमा काङ्ग्रेसले देउवालाई, एमालेले ओलीलाई र माओवादीले दाहाललाई नै अघि सार्ने हो भने यी पार्टीहरूको पतन निश्चित छ । पुराना पातहरूको पतन भएन भने नयाँ पात पलाउने अवसर पाउँदैन । तततत् पार्टीलाई मत दिएका मतदाताले पनि आफूलाई स्वतन्त्र ठानेर नयाँ वैकल्पित पार्टी खोज्न सक्नुपर्छ । कुनै व्यक्तिको अकर्मण्यतालाई व्यवस्थासँग जोडेर व्यवस्थाको विकल्प खोज्नुभन्दा प्राप्त व्यवस्थालाई जोगाउँदै व्यक्तिको विकल्प खोज्नु मतदाताहरूको बुद्धिमानी हुने छ । सही व्यक्तिलाई चयन गर्न सक्ता परिवर्तन कसरी सम्भव हुँदो रहेछ भनेर बालेन्द्र शाहले देखाइदिएका छन् ।
तर अझै पनि मतदाताले आफ्नो मतको मूल्य बुझेर विकल्प नरोज्ने हो भने युगौंसम्म पनि यिनीहरूको दासता स्वीकार्न तयार हुनु पर्ने छ । हिजो कसैले हामीलाई दास बनाए, लोकतन्त्रका नाममा आज नयाँ मठाधीशहरू हामीलाई दास बनाइरहेका छन् । पिंजडा सुनकै भए पनि स्वतन्त्रता जीवित रहँदैन । त्यसैले चिया पसलमा बसेर गरेको परिवर्तनका गफले मात्र केही हुनेवाला छैन । जति तातो भए पनि उन्लिएको पानीमा चुरोट सल्काउन सकिँदैन ।