नेपाल : भ्रष्टाचारको छायामा समृद्धिको सपना

लोकतन्त्रको सीमा भनेकै अपारदर्शी चुनाव प्रक्रिया हो । त्यसैले व्यक्ति चुनाव जित्नकै लागि अनैतिक, अपारदर्शी र निर्वाचन संहिताविपरीत कार्य गर्न पुग्दछ । अप्रत्यक्ष रूपमा चुनावमा हुने ठूलो लगानीका कारण व्यक्ति सत्तामा पुगेर आफ्नो लगानी उठाउन भ्रष्टाचार गर्न थाल्दछ र त्यसका लागि भ्रष्टहरूसँग काँधमा काँध मिलाउन पुग्दछ । त्यसपछि ऊ चुनाव खर्च मात्र उठाउन लाग्दैन, शक्ति र सत्ताको चरम दुरुपयोग गर्दै सात पुस्तालाई पुग्ने द्रव्य सङ्कलन गर्नतिर लाग्दछ ।

यसरी सत्तामा पुगेकाहरू देश र जनताका समस्या समाधान गर्नतिर होइन, सत्ताको दुरुपयोग गरी कसले बढी सम्पत्ती सङ्ग्रह गर्ने भन्ने प्रतिस्पर्धामा लाग्दछन् । देश लुट्ने कुरामा कसैको पनि विमति रहँदैन । सुशासनका कुरा त मिडियाबाजीका लागि मात्र हो । नेता र नेतृत्वको बोली र व्यवहारमा कहिल्यै मेल देखिएन । नेताले बोलीको मर्यादा राख्थे भने नेपाल धेरै पहिला नै समृद्ध भइसक्थ्यो होला ।

पछिल्लोपटक चर्चामा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, सुन काण्ड, गिरीबन्धु टि स्टेट काण्ड, यती–ओम्नी काण्ड, वाइडबडी काण्ड, ललिता निवास काण्डलगायत सहकारी रकम अपचलन काण्डहरू शक्ति र सत्ता दुरुपयोगकै विभिन्न रूपहरू हुन् ।

उल्लेखित काण्डहरूको निष्पक्ष छानविन गरिने हो भने हामीले देवता मान्दै आएका सबै शीर्ष व्यक्तित्वहरू पुराणहरूमा वर्णित राक्षसभन्दा धिनलाग्दा र डरलाग्दा लाग्नेछन् । तर शीर्ष तहको छानविन नै कहिल्यै भएन र हुनेवाला पनि छैन । कुनै विषयमा छानविन भइहाले पनि पहिले नै कसलाई फँसाउने र कसलाई उन्मुक्ति दिने भनेर बटम लाइन तय गरेर मात्र गरिन्छ । छानविनको जालो त भ्रष्टाचार शिरोमणिहरूले ‘भाग खोस्न आउने’ नयाँलाई फँसाउने चक्रव्युह मात्र हो । नत्र जनमानसमा सुशासनका कुरा गरेर आफूलाई महान् देखाउन चाहनेहरूबाटै सम्पत्ति सुद्दीकरणको कार्य आरम्भ गरौं न त; कुन प्रधानमन्त्री, कुन मन्त्री वा कुन उपल्लो तहको कर्मचारी जेल जानबाट बँच्दोरहेछ ?! हिजोको सामान्य अवस्थामा रहेको कुनै एउटा पात्र रातारात कसरी खरबपति हुन्छ ? के उनीहरूले चाहिँ स्रोत खुलाउनु पर्दैन ?

एउटा अनैतिक व्यक्ति अरूलाई नैतिकताको पाठ पढाउँछ । एउटा भ्रष्ट आरचरण भएको व्यक्ति अरूलाई सदाचार, शून्य सहनशीलता र समृद्धिका कुरा गर्छ । कति हास्नु होला !?

सत्य तीतो हुन्छ भनिन्छ । सोच्नुहोस् त, आम जनताकोे व्यथा र अवस्था भने वर्षौंदेखि उही र उस्तै रहने तर आफूले मत दिएर पठाएको एउटा सामान्य अवस्थाको जनप्रतिनिधि चाहिँँ छोटो समयमा नै कसरी नवधनाड्य बन्न सक्छ ? आलिसान भवन र महङ्गा गाडी कहाँबाट आउँछन् ? आय आर्जको लागि देखिने कुनै व्यवसाय नभई विलासी जीवन कसरी समभव हुन्छ ? विचरा हामी, भ्रष्टाचारको छायामा समृद्धिको सपना देख्छौं !

तर, नेताको दैनिकी जनताले नबुझका छैनन्, केवल धैर्य गरेका मात्र हुन् । यी लेण्डुपहरूसँग जनताले कुनैदिन सबै हिसाब किताब माग्नेछन् । जनताले हिसाब किताब मागेका दिन धेरै स्वघोषित महाराजहरूको श्रीपेज सुरक्षित नरहने पक्का छ । त्यो दिन टाढा नहोला ।

नेपालमा पनि लेण्डुपहरू विभिन्न आवरणमा देशका विशिष्ट स्थानमा विराजमान हुन सक्छन्् । लेण्डुपले अन्तिम चाल चल्नुअधिसम्म सबै सिक्किमे जनता लेण्डुपलाई राष्ट्रवादी नेता नै मान्दथे । तर तिनै राष्ट्रवादी आवरणले ढाकिएका लेण्डुपले सिक्किमलाई सुनको किस्तीमा राखेर भारतलाई बुझाइदिए ।

सम्बन्धित समाचार