सरकारी उपेक्षाको शिकार बन्दै सिसडोल क्षेत्रका बासिन्दाहरू

ककनी गाउँपालिका वडा नं. २ मा रहेको बन्चरेडाडाँमा दीर्घकालीन डम्पिङ्घ साइट पाँच बर्षभित्रमा सम्पन्न गर्ने भनिए पनि २५ बर्ष बितिसक्दा पनि काम सुरू गर्न नै सकिएको छैन भने अस्थाई डम्पिङ्घ साइटको रूपमा सिसडोललाई प्रयोग गरिंदै आइएको छ तथा विगत १४ वर्षदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिको फोहोर सिसडोलमा नै थुपारिंदै आइएको छ । जाइका लगायतका संस्थाहरूले दुई वर्षका लागि मात्र फोहर डम्पिङ गर्न मिल्ने भनी प्रतिवेदन दिएको र सरकारले पनि दुई वर्षका लागि मात्र अस्थाई रूपमा फोहरमैला डम्पिङ गर्ने भनिएको भए पनि हालसम्म स्थायी विकल्पको व्यवस्थापन गर्न सकिएको छैन ।

क्षमताभन्दा बढी फोरहमैला डम्पिङ हुँदा सिसडोल वरिपरिको क्षेत्रमा झाडा–पखाला तथा हैजा जस्ता रोगहरू फैलिएको र अरू पनि थुप्रै नकारात्मक प्रभाव परेको स्थानीय बासिन्दाहरूले गुनासो पोखेका छन् । डम्पिङ साइडबाट निस्कने दुर्गन्धले गाउँमा नै बस्न नसकिने भएको उनीहरूको भनाइ रहेको छ । अझ फोहरबाट निस्कने लिचेड (विषाक्त रस) लाई सिधै कोल्पु खोलामा हालिएको छ । कोल्पु खोलाको पानी लाग्ने क्षेत्रका अन्नबाली आदिमा विषाक्त पानीले नकारात्मक असर पर्ने गरेको छ । विषाक्त पानीले गर्दा चौपायाहरू पनि मर्ने गरेको स्थानीय वासिन्दा सीताराम घिमिरेले सुनाए । उनले भने– फोहरमैला डम्पिङ गरेको ठाउँमा ठूलो मात्रामा ग्यास रहेको र त्यो ग्यास विस्फोट भए वरिपरिको गाउँमा धेरै धनजनको क्षति हुन सक्ने भएकोले त्यसको विरोधस्वरूप स्थानीय वासिन्दाहरूले कहिलेकाहीं फोरहमैला बोक्ने गाडीलाई अवरोधसमेत गर्ने गरेका छन् तैपनि सम्बन्धित पक्षले स्थानीयले भोग्नुपरेको पीडा र उनीहरूको मागलाई गम्भीर रूपमा लिन सकेको छैन ।



काठमाडौं र ललितपुर महानगरपालिकाबाट फोहरमैला बोकेको गाडी सिसडोल पुग्न पनि सजिलो छैन । बाटाहरू अत्यन्त जीर्ण बनेका छन् । वर्षा याममा बिजोग नै हुन्छ । गाडी चिप्लिने जोखिम बढी हुने भएकाले फोहरको माथिल्लो भागसम्म गाडी पु¥याउन नसकिने कुरा काठमाडौं महानगरपालिका वातावरण विभागकी अधिकृत सरस्वती पोखरेले पनि स्वीकार गरिन् । क्षमतमभन्दा धेरै फोहोरमैला थुपारिएका कारण ल्याण्डफिल साईट धसिएको र चिरा पनि पर्न थालेको जानकारहरू बताउँछन् ।

तीन महिनापछि के गर्ने ?
सिसडोलको डम्पिङ साइटलाई भ्याली वान र भ्याली टू गरी दुई भागमा बाँडिएको छ । दुबै भागमा बढीमा तीन महिनासम्म फोहर व्यवस्थापन गर्न सकिएला तर तीन महिनासम्ममा पनि बन्चरे डाँडालाई डम्पिङ साइटका रूपमा तयारी गर्न सकिएन भने त्यसपछि के गर्ने भन्ने कुरामा चिन्ता रहेको कुरा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

उपत्यकामा दैनिक कति फोहर पैदा हुन्छ ?
काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार हाल काठमाडौं उपत्यकामा दैनिक ८ सय ५३ टन र वार्षिक ३ लाख ७० हजार ८० टन फोहोर उत्पादन हुन्छ । उपत्यकाभित्रका दुई महानगरपालिका र १५ नगरपालिकामा उत्पादन हुने फोहोर व्यवस्थापन गर्ने जिम्मा काठमाडौं माहानगरपालिकाले लिइरहेको छ । त्यसका लागि काठमाडौं महानगरपालिकाको वार्षिक ७ करोड ४५ लाख २० हजार रुपैयाँ खर्च हुने गरेको छ । यस्तै ललितपुर महानगरपालिकाले वार्षिक करिब ६५ लाख ५७ हजार फोहोर व्यवस्थापनमा खर्च गरिरहेको छ । यीबाहेकका अन्य नगरपालिकाहरूले फोहोर व्यवस्थापनमा खास्सै खर्च गर्दैनन् ।

२५ बर्षसम्म बन्न सकेन बन्चरेडाँडा
बन्चरेडाँडामा काठमाडौं र ललितपुर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने निर्णय भएको २५ वर्ष बितिसक्दासमेत आवश्यक पूर्वाधार निमार्ण हुन सकेको छैन । सरकारले २०५१ सालमा नुवाकोटको ककनी गउँपालीका वडा नं. २ र धादिङको धुनेबेसी नगरपालिका वडा नं. १ का बीचमा पर्ने बन्चरेडाँडालाई दीर्घकालीन ल्याण्डफिल साइटका रूपमा विकाश गर्ने निर्णय गरेको थियो तर निर्णय भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन । २०६२ सालदेखि अल्पकालीन डम्पिङ्ख साइटका रूपमा सिसडोललाई प्रयोग गरिएको छ । बर्षायामअगाडि नै बन्चरेडाँडामा फोहारव्यवस्थापन गर्ने भन्दै सहरी विकाश मन्त्रालयले २०७६ वैशाख १२ बाट ल्याण्डफिल साइट निर्माण सुरू गरेको थियो । निर्माण आरम्भ गर्दा मन्त्रालयले दुई महिनाभित्र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने गरी कार्य गर्ने दाबी गरेको थियो तर अहिले आएर भने दशैंअगाडि फोहोर व्यवस्थापन गर्न नसकिने सहरी विकास तथा भवन निर्माण विभागले जानकारी गराएको छ ।।

सम्बन्धित समाचार