सम्पादकीय
काठमाडौं, ९ साउन ।
एउटा मार्मिक र सान्दर्भिक नीतिकथा । कुनै समयको कुरा हो । एउटा कवि राजालाई भेट्न दरबार गएछन् । उनले दरबारियाहरूलाई रिझाएर एकपल्ट राजालाई भेट गर्न सफल हुन्छन् । राजालाई भेट्न पाएको कविले राजालाई खुसी पार्न दुई घण्टासम्म राजाको प्रशंसाले भरिएका कविता वाचन गर्छन् । कविको कविताहरू सुनेर राजा पनि प्रफुल्ल हुन्छन् । खुसीले गदगद भएका राजाले भोलि कविलाई उचित इनाम दिने घोषणा गर्दछन् ।
शाहीे घोषणाबाट फुरूङ्ग भएका कवि पनि दङ्ग पर्दै दरबारबाट घर फर्किन्छन् । उनी कहिले भोलि होला र राजाबाट इनाम पाइएला भनेर छटपटाउँदै रात बिताउँछन् । बिहान सबेरै उनी दरबारमा हाजिर हुन्छन् तर दरबारका मान्छेले उसलाई खास्सै महत्व दिंदैनन् । तैपनि उनी धैर्य गर्दै राजाको प्रतीक्षा गर्छन् । अन्ततः राजासँग भेट हुन्छ । कविलाई एकाबिहानै दरबारमा देखेर राजा उनलाई यति सबेरै दरबार आउनुको कारण सोध्छन् । कवि राजालाई अघिल्ला दिनको घटना स्मरण गराउँदै उनी राजाले घोषणा गरेको इनाम लिन आएको जानकारी दिन्छन् । कविको कुरा सुनेर राजा मुसुक्क मुस्काउँछन् र व्यङ्यात्मक शैलीमा भन्छन् ‘हे कवि, तिमीले मलाई खुसी पार्न दुईघण्टासम्म मेरो प्रशंसामा लेखिएका कविताहरू सुनायौ । म खुसी पनि भएँ । अब तिमीलाई खुसी पार्ने दायित्व मेरो थियो । मैले तिमीलाई इनाम दिने घोषणा गरिदिएँ । मेरो एउटै वाक्यले तिमी पनि खुसीले फुरुङ्ग भयो । यहाँ त एकले अर्कोलाई खुसी बनाउने कुरा मात्र थियो, लेनदेनको कुरा कहाँबाट आयो ?’
केके न इनाम पाइएला भनेर दरबार पुगेका कवि राजाको जवाफ सुनेर झण्डै झण्डै मुर्छा परे ।
यो नीति कथाको सारवस्तुले नेपाली राजनीतिसँग ठ्याक्कै मेल खाएझैं लाग्छ । चुनावी घोषणापत्रमा जनतालाई मख्ख पार्न प्रशस्त विकास र समृद्धिका कुराहरू लेखिए, रातारात जनताको जीवनस्तरको उकासेर मुलुकको कायापलट गर्ने कुराहरू लेखिए । पाँचवर्षमा नेपाल सिङ्गापुर हुने कुरा गरिए । जनताले पनि होला कि भनेर उनीहरूलाई विश्वासको मत दिए । मत प्राप्त व्यक्ति सांसद र मन्त्री बने । अब लेनदेनको कुरा सकियो । चुनावी घोषणापत्रको कुरा सकियो । विकास र समृद्धिका कुराहरू सकिए । एउटा पक्षले अर्को पक्षलाई खुसी पार्ने कुरा सकिए । सबै सकियो । विचरा जनता, कविको हालतमा । जस्ताको तस्तै ।
हिजो पञ्चायतकालमा पनि विकास र समृद्धिका नारा लागेकै हुन् । नेपालको हावापानी सुहाउँदो पञ्चायती व्यवस्थाका पक्षमा शासकहरू बोलेकै हुन् । सबै पञ्च नेपाली र सबै नेपाली पञ्च पनि भएकै हुन् । सुधारिएको पञ्चायती व्यवस्थामा पनि विकास भएकै हो । अहिलेको लोकतन्त्रमा पनि विकास भइरहेकै छ । शासकका आँखाहरूमा मुलुक एशियाली मापदण्डमा पुगेकै छ । हिजो मुठ्ठीभरका ‘अत’हरू सरकारको विरोध गर्थे र अहिले पनि सरकारले गरेका विकास र समृद्धिको भार थाम्न नसकेर विकास विरोधी ‘केही’ तत्त्वहरू ईष्र्याबस् सरकारको विरोध गरिरहेका छन् । यस्तै यस्तै हुन्छ सत्तामा पुग्नेहरूको सोच ।
सत्ताको शीर्ष स्थानमा रहुञ्जेल शासकहरू मुलुकभरि जताततै विकास र समृद्धि मात्र देख्छन् । जनतालाई कहिल्यै पूरा हुन नसक्ने सपनाहरू देखाएर जबरजस्ती विश्वास गर्न आग्रह गर्छन् । उनीहरूको सपनामा प्रश्न उठाउने छुट कसैलाई छैन । पत्रकारहरू कहिलेकाहीं उनीहरूको आँखाको कसिंगर बनिदन्छिन् । त्यसैले पञ्चायतकालदेखि अहिलेसम्म पत्रकारहरू (केहीलाई छोडेर) सरकारको बक्र दृष्टिमा पर्ने गर्छन् । हिजो पनि उस्तै, आज पनि उस्तै ।
सत्ताधारी नेताका कुरा पत्याउने हो भने नेपालमा समृद्धि आइसक्यो । नेपालमा रेल आयो, पानीजहाज आयो, पाइपलाइनबाट घरघरमा ग्यास आयो, मेलम्चीको पानी आयो, समग्रमा नेपाली जनतालाई जेजे चाहिएको थियो– सबै आयो । भ्रष्टाचारी समातिए, व्यभिचारी लखेटिए, चुस्त दुरूस्त कर्मचारीतन्त्र छ, सुशासनका लागि अरू के चाहियो ? सरकारलाई आत्मरतिमा रमाउनका लागि पुग्दो भयो । तर उनीहरू जान्न चाहँदैनन् कि शब्दजालमा गरेका जनताले के पाए ? उनीहरू बुझ्न चाहँदैनन् कि वास्तवमा जनतालाई कहाँ दुखेको छ ? न हिजो न आज ।
भाषणमा र कागजमा आएको समृद्धिको लालीे थोरै मात्र भए पनिे नेपाली जनताको मुहारमा पोतिन पाएको भए नेपाली जनताले पनि परिवर्तनको प्रत्याभूति अनुभव गर्थे होलान् । भोको पेटमा पटुका कसेर पनि राज्यलाई कर तिर्ने दीनहीन जनताले सरकार भएको अलिकति पनि अनुभव गर्न पाएको भए भविष्यप्रति थोरै भए पनि आशावादी हुन्थे होलान् तर भूकम्पपीडितको अवस्था आज पनि उस्तै छ । बाढीपीडितको अवस्थामा कुनै परिवर्तन छैन । अपराधिक घटनाहरू बढिरहेका छन् । बलात्कारका घटनाहरूमा कमी आउन सकेको छैन । गृह मन्त्री नै भोलि पनि यस्ता घटना भइरहने सङ्केत गर्छन् ।
पानी पर्दा हिलाम्मे हुने र घामलाग्दा धुलाम्मे हुने काठमाडौंकै सडकको यो हरिबिजोग छ भने दूरदराजका गाउँ–बेंसीको के कुरा गर्ने ? सत्ता निकट रहेकाहरू नै कोही प्रम निवास किनबेच गर्दन् कोही सिंहदरबार । तैपनि नेपाली जनताले दुई तिहाइको सरकारको जयगान गर्नै पर्ने ? दूरदराजका गाउँहरूमा ज्वरो आउँदा सिटामोल र झाडापखाला लाग्दा जीवन जलसम्म खान नपाएर नागरिक मरिरहेका छन् तर सरकारका मन्त्रीहरूलाई र पूर्व विशिष्टहरूलाई सुविधा पुगेको छैन । तैपनि आम–जनता मौन रहनै पर्ने !
शासकहरू, शासकका वरिपरि बस्नेहरू र शासकबाट आशीर्वाद पाउनेहरूलाई हिजो पनि समृद्धि नै थियो र आज पनि छ । त्यसैले उनीहरू सबैतिर समृद्धि नै समृद्धि देख्छन् र समृद्धिकै कुरा गर्छन् । उनीहरूले कहिल्यै अभावको अनुभव गर्नु नै परेन । समयले शासन फेर्यो, शासक फेर्यो तर संस्कार फेर्न सकेन । यो नै नेपाली जनताको दुर्भाग्यको विषय बन्यो । संस्कारविहीन परिवर्तनको मर्म बुझ्न चाहनेहरूका लागि नेपाल एउटा विश्वविद्यालय नैै बन्यो होला तर हामी निरीह नेपाली जनता नीतिकथाको कविजस्तै बन्न बाध्य भयौं ।