चलचित्र समीक्षा: जाइरा

नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ । आज शुक्रबारबाट रिलिज भएको यस चलचित्रले सोलो रिलिजको मौका पनि पाएको छ । बदलाको कथामा निर्माण भएको फिल्ममा अभिनेत्री श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । लभर गर्लको भूमिकामा निकै रुचाइएकी नम्रता जाइरामा एक्सन अवतारमा प्रस्तुत भएकी छिन् । एकदशक लामो करियरमा उनी पहिलोपटक एक्सन फिल्ममा देखिएकी हुन् । चलचित्रको चरित्रमा डुब्न उनले आठ महिनासम्म तालिम लिएको बताइन्छ । चलचित्रका लागि उनले कपाल समेत मुण्डन गरेकी छन् । जेठबाटै सुस्ताएको सिनेबजारलाई जाइराले उकास्ने अपेक्षा गरिएको छ ।

जाइराको कथा
चलचित्रको कथा जाइरा (नम्रता)कै वरिपरी घुम्छ । उनका श्रीमान् राव राणा (अनुप) प्रहरी निरिक्षक हुन्छन् । कामकै सिलसिलामा उनको राजा भनिने रविशंकर (प्रमोद) सँग दुश्मनी हुन्छ । राजा राजनीतिक दलका नेता र मन्त्रीहरुलाई प्रलोभनमा परेर विभिन्न अपराधिक कार्यमा सक्रिय हुन्छन् । जाइराको लक्ष्य मार्शल आर्टमा राष्ट्रिय अवार्ड जित्नु हुन्छ । उनको प्रतिष्पर्धीको रूपमा हेरिएकी बुलेट (सृजना) राजाकै प्रेमिका हुन्छिन् । त्यसैले पनि राव र जाइरासँग राजा र बुलेटको दुश्मनी हुन पुग्छ । यसैक्रममा राजाको इन्काउन्टर गर्ने तयारी गरेकै बेला प्रहरी निरीक्षक राव राणालाई राजाकै समूहले मारिदिन्छ । पतिको हत्या भएपछि जाईराले राजासँग कसरी बदला लिन्छिन् ? के जाइराले मार्शल आर्टको राष्ट्रिय उपाधि जित्न सफल हुन्छिन् त ? यस जिज्ञासाको जवाफ चलचित्रले दिन्छ ।



चलचित्रका कमजोरी पक्ष:
नेपाली चलचित्रमा दोहोरिरहने कमजोरी भनेकै पटकथामा हो । यो कमजोरीबाट जाइरा पनि मुक्त हुन सकेको छैन । चलचित्रको कहानी अगाडि बढ्दै जाँदा मुख्य भूमिकामा रहेकी नम्रताको लक्ष्य मार्शल आर्टको उपाधि हो या श्रीमान्को हत्याराको बदला ? भन्ने नै ठम्याउन मुस्किल हुन्छ । यसको असर उनको फाइनल गेमको अगाडि हुनुपर्ने तयारीको सिन नै छुटेको छ । श्रीमान्को हत्यापछि एकोहोरिएकी उनलाई एक्कासी रिङमा प्रतिस्पर्धा गरेको दृश्यमा देख्दा अपत्यारिलो लाग्छ ।

चलचित्रको अर्को कमजोरी खेल मैदान र रिङभित्रै देखिन्छ । मार्शल आर्टका खेलाडीले रिङभित्र खेलाडिलाई प्रभावित पार्ने गरी कुनै सङ्केत गर्न पाउदैनन् । तर चलचित्रको फाइनल खेलमा रिङमा भिडिरहेका दुई खेलाडी साङ्केतिक रूपमा एक अर्काको विगत सम्झाउने र बदला लिने सङ्केत गरिरहेका देखिन्छन् ।

त्यसैगरी रिङ बाहिर बसेर जाइरा र बुलेटको समर्थन गरिरहेको दर्शकहरूको भावना, आक्रोश र पीडालाई प्रस्तुत गर्न नसक्नु चलचित्रको अर्को कमजोरी पक्ष लाग्दछ ।

जाइराका समर्थक उनले मुक्का खाइरहँदा पनि रमाएर उफ्रिरहेका देखिन्छन् । खेलाडीको समर्थन गरिरहेका समर्थकहरू पनि खेलाडी अफ्ट्यारोमा पर्दा पीडाबोध भएको र जितउन्मुख भएको ठाँउमा रमाएको दृश्य नहुँदा खड्किएको अनुभव हुन्छ । भनिन्छ– चलचित्रले दर्शकलाई थिएटरमा छु भन्ने बिर्साउन सक्नुपर्छ तर यी र यस्ता विषयसँग कथावस्तुको मेल नखाने दृश्यले दर्शकलाई बाध्न सक्दैन ।

साथै खेल अवधिभर मुक्कै मुक्का खाएको र उठ्नै नसक्ने गरी ढलेको मुख्य कलाकारले नै अन्त्यमा जादुमयी ढङ्गले शक्ती आर्जन गरेको देखाएर विजेता भएको देखाउनु पनि कमर्शियल फिल्म र कथावस्तु अनुसार सुहाउला तर खेलको स्वभाविक अवस्थामा त्यस्तो सम्भव हुँदैन । चलचित्रमा पनि जाइरा शिथिल भएर उठ्नै नसक्ने स्थितिमा पुगेर पनि अन्त्यमा बुलेटमाथि विजयी भएको दृश्य फिल्मी लाग्छ । चलचित्रको कथामा बगेको देखिदैन ।

चलचित्रको सुरुवातमैं रावले औंला काटिदिँदा राजाको अनुहारमा लागेको रगत चलचित्रको अन्त्यसम्म उस्तै रूपमा देखिन्छ । भलै राजाको भूमिका र गेटअपलाई त्यो सुहाएको छ र पनि दर्शकलाई त्यो स्वभाविक रूपमा पाच्चय लाग्दैन ।

चलचित्र हो, चलचित्रमा जे पनि स्वभाविक हुन्छ भन्ने मानसिकताको शिकार जाइरा भएको छ । यसको एक उदाहरण चलचित्रमा राजालाई जाइराले लिएको बदलालाई लिन सकिन्छ । शहरमा ४ जना व्यवसायीको हत्या गरिसकेको र राजनीतिलाई हत्केलामा लिएर अपराध कर्ममा रमाइरहेको राजालाई बदला लिन जाइरा एक्लै कुनै हतियार विना राजाको सम्राज्यमा पुग्छिन् र एकएक गरी सबैलाई ढालेर राजासँग बदला लिन्छिन् । यसको सट्टा जाइराले आफ्ना कोच र एक साथीसँग मिलेर योजनाबद्ध ढङ्गबाट राजासँग बदला लिएको देखाउन सकेको भए स्वभाविक देखिने थियो ।

पतिको शव जलाइरहेको स्थानमा जाइरालाई एकएक गरी साथीभाइ र आफन्तले छोडेर गएको दृश्य स्वभाविक लाग्दैन । चलचित्रको अर्को कमजोरी भनेको सस्पेन्न विहीन सिलसिला हो । चलचित्र हेर्दै गर्दा अब कुन दृश्य आउदैछ भन्ने दर्शकले सजिलै खड्कल काट्न सक्छन् । रावको हत्या हुँदैछ भन्ने कुरा दर्शकले १० मिनेट अगावै अनुमान गर्न सक्छन् । यसरी एक दृश्यले अर्को दृश्यको सङ्केत गरिदिँदा चलचित्र खल्लो महशुस हुन्छ । चलचित्रको प्रत्येक खण्डमा कलाकारहरूले निकै मेहनत गरेका छन् तर चलचित्रको समग्र बुनाई राम्रो नभएकोले चलचित्र राम्रो बन्ने अवसर निर्देशकले गुमाएका छन् ।

चलचित्रका सफल पक्ष :
चलचित्रको लागि नम्रताले गरेको मेहनत तारिफयोग्य छ । उनको मेहनतले चलचित्रमा दर्शकलाई राहत दिन्छ । जाइराको भूमिकामा देखिएकी उनी चलचित्रको खम्बा नै हुन् । उनको अभिनयमा खोटलगाउने ठाँउ छैन । तर चलचित्रको पटकथामा देखिएको कमजोरीले नम्रताको मेहनतले ओझेलमा पारिदिएको छ ।

यसै चलचित्रमार्फत सिनेनगरीमा डेब्यु गरेकी सृजना रेग्मीको काम तारिफयोग्य छ । प्रमोद, अनुप र रेमन चलचित्रमा फिट छन् । निर्देशक आशुतोषले पहिलो प्रयासमा तारिफयोग्य नभए पनि छिः भन्ने खालको छैन । मार्शल आर्ट रुचाउने दर्शकलाई चलचित्रले केही राहत देला तर आम दर्शकले चलचित्रलाई औषत रूपमा नै लिनेछन् । लवर गर्लको भुमिकामा नम्रतालाई रुचाएका दर्शकलाई जाइराले केही निराश बनाउन सक्छ ।

निर्देशकः आशुतोष श्रेष्ठ
कलाकारः नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठलगायत
कार्यकारी निर्माताः प्रसन्न गोपाली
सम्पादनः लोकेश बज्रचार्य
रेट: (५मा) २

सम्बन्धित समाचार