सफलता र कठिनाइ

वास्तवमा मानिसको जन्म नै सङ्घर्षको लागि भएको हो । सङ्घर्ष विना ऊ अगाडि बढ्न सक्दैन न त कुनै सफलता नै प्राप्त गर्न सक्छ । तर, सङ्घर्षपछिको सफलतामा जति आनन्द आउँदछ त्यो अरू केहीमा आउँदैन । बच्चा जन्मेदेखि नै अथवा नन्मनुभन्दा अगाडि जन्मनको लागि पनि सङ्घर्ष गर्दछ । आमाको गर्भबाट बाहिर निस्कदादेखि बच्चाले सङ्घर्ष गर्न सुरु गरेको हुन्छ र यो सङ्घर्ष नमर्दासम्म जारी रहन्छ । जुन व्यक्ति सङ्घर्ष र असफलतादेखि टाढा भाग्दछ, डराउँदछ वा पलायन हुन्छ उसले जीवनमा केही पनि प्राप्त गर्न सक्दैन, सफलता त परै जाओस् ।

वास्तवमै जीवन भनेको गुलाबको फूलको बिछ्यौना होइन । व्यवधान र कठिनाइहरू हामी हिड्ने मार्गमा आइरहन्छन् । सबैले सफलताको इच्छा राखेका हुन्छन् । तथापि, प्रत्येक व्यक्ति उसले चाहेको लक्ष्य प्राप्त गर्न सफल हुँदैन । असफलता हाम्रो जीवनको अभिन्न अङ्ग हो । तर जो असफलताका बाबजुद पनि निरन्तर र अनवरत रूपमा कर्म गरिरहन्छ, उसले अन्ततः सफलताको ताज पहिरन्छ ।



सफलता भनेको कडा परिश्रम, अटुट सङ्कल्प र समर्पणको परिणाम हो । कहिलेकाहीं प्रयास गर्दा गर्दै पनि असफल भइन्छ । तर असफलता भनेको प्राकृतिक प्रक्रिया हो । असफलताले बहुमूल्य अनुभवलाई सँगालेको हुन्छ । वास्तवमा सफलता र असफलता एउटै सिक्काका दुईवटा पाटाहरू हुन् ।

प्रत्येक असफलता सफलतातिरको एउटा सिंढी हो । असफलताले हामीलाई धेरै कुरा सिकाउँदछ । यसले हाम्रो कमजोरीहरूलाई उजागर गर्दछ जसमाथि हामीले विजय प्राप्त गर्नुपर्ने हुन्छ । साथै यसले हामीलाईृ हाम्रो कार्यको समस्याको क्षेत्रको बारेमा पनि सूचना दिन्छ । हाम्रो कार्यमा बढी प्रयास गर्न यसले हामीलाई दिशानिर्देश गर्नुका साथै प्रेरणा पनि प्रदान गर्दछ । साथै यसले हाम्रो योजनामा भएका कमीहरूलाई पनि उदाङ्ग पारिदिन्छ । यसले बढी निर्णयात्मक रूपले कार्य गर्न बल प्रदान गर्दछ । हामी हाम्रो सीमितताको बारेमा पनि थाहा पाउँछौं । त्यसैगरी असफलताले हामीलाई भविष्यमा कसरी कार्यलाई अगाडि बढाउने भन्ने गरेमा मार्ग प्रशस्त गर्दछ । असफलताले यसरी एउटा व्यक्तिलाई अझ राम्रो सफलताको सम्भावनामा अगाडि बढ्ने प्रयासमा सघाउ पु¥याउँदछ ।

एउटा व्यक्ति जसले असफलताको स्वाद चाखेको छैन त्यसले सफलताको बारेमा पनि जानेको हुँदैन । ऊ आफूमैं बढी आश्वस्त र सरल प्रक्रियाबाट जीवनलाई अगाडि बढाइरहेको हुन्छ । धेरै जसो महान् व्यक्तिहरूले लामो लडाई र सङ्घर्षपछि मात्र सफलताको स्वाद चाख्न पाएका हुन्छन् । तिनीहरूले आफ्नो असफलताबाट धेरै कुरा सिकेका हुन्छन् ।

एउटा व्यक्ति जसले असफलतालाई प्राप्त गरेको छ उसले उही कार्यमा सफलता हासिल गर्न पहिले जस्तो पागल भएर कार्य गर्नु जरूरी हुँदैन किनकि उसले पहिले गरेको कार्यबाट पर्याप्त रूपमा अनुभव बटुलेको हुन्छ । उसले आफूले अपनाएका तरिकाहरूलाई विश्लेषण गर्नुपर्ने हुन्छ । असफलता नै नभईकन सफलता कहिलेकाहीं मात्रै सम्भव हुन्छ । असफलताले हामीलाई जीवन राम्ररी बिताउन रोक्न सक्दैन । जीवनमा घटेका दुःख र कष्टपूर्ण घटनाका बाबजुद पनि यसलाई राम्रो र खुशी साथ बिताउन सम्भव छ । यसले कुनै फरक पार्दैन कि मानिसले आफ्नो काम गुमाओस्, आर्थिक सङ्कटबाट गुज्रिओस् वा आफूभन्दा पनि प्रेम गर्ने आत्मियलाई गुमाओस् तर मानिसको अन्तरआत्मामा उही ईश्वरले बास गरेको हुन्छ र उसले एउटा अविचलित र स्थायी शान्ति पाउन सक्दछ । जीवनमा जस्तोसुकै घटना घटे पनि जीवन त रोकिदैंन, यो त अगाडि बढ्छ नै । यही आशातीत प्रवृत्तिले उसलाई जीवनमा अगाडि बढ्न र जीवनलाई आशा र विश्वासका साथ जिउन सहास दिइरहेको हुन्छ । वास्तवमा राम्रोसँग जिउनु नै असफलतामाथि बदला लिनु हो ।

भाग्यले सहासी र बहादुरहरूलाई मात्र साथ दिन्छ र बहादुरहरू ती हुन् जो जस्तो सुकै विषम परिस्थितिका बाबजुद पनि अगाडि बढिरहन्छन्, असफलतामाथि विजय प्राप्त गर्दछन् र आफ्नो लक्ष्यलाई प्राप्त गर्दछन् । हामीले हाम्रा प्राथमिकताहरूलाई हाम्रो अगाडि राख्नु पर्दछ, त्यसमाथि पूर्ण रूपमा एकाग्र गर्नु पर्दछ, त्यसलाई प्राप्त गर्नको निम्ति लगातार प्रयास गर्नुपर्दछ अनि हामीले पाउनेछौं कि प्रत्येक कुरा ठीक ठीक ठाउँमा छन् ।

सहासी र बहादुर व्यक्तिहरूमा जीवनमा आउने चुनौतीहरूलाई स्वागत गर्ने आत्मविश्वास हुन्छ । असफलताले हामीलाई निराशातिर धकेल्नु हुँदैन । निराशाले सफलताको मार्गमा हामीलाई चिप्ल्याउन सक्दछ । निराशावादीहरू प्रत्येक अवसरमा केही न केही कठिनाइहरू देख्दछन् । तर आशावादीहरू भने प्रत्येक कठिनाइमा अवसरहरू देख्दछन् । यसरी उनीहरूको लागि असफलता त आशाको किरण बन्न पुग्दछ । यदि हामी असफल भयौं भने हामीले विभिन्न किसिमका टिका टिप्पणी, गाली गलौज वा दुत्कार पनि सहनुपर्ने हुन्छ । यी सबै कुरालाई हामीले चुपचाप बसेर सहनु राम्रो हुन्छ र मनमनै इख लिएर म अर्कोचोटि धेरै राम्रोसँग काम फत्ते गर्दछु भनेर सङ्कल्प लिनु धेरै राम्रो हुन्छ ।

त्यसैगरी विभिन्न कुराको आविष्कार गर्न र पत्ता लगाउनु पनि निरन्तर कडा परिश्रम र अनवरत प्रयासको खाँचो पर्दछ । वैज्ञानिकहरू र नयाँ नयाँ कुरा पत्ता लगाउने खोजकर्ता पनि आफ्नो कडा परिश्रमका बाबजुद धेरै चोटि असफल भएका हुन्छन् तर तिनीहरू कति पनि विचलित नभई कार्यलाई बीचमा नछोडी डटेर लागेका हुन्छन् । जीवन बचाउने औषधिहरू त्यस्तो निरन्तर परिश्रमको नतिजा हो ।

कुनै पनि ठूला ठूला कुरा अनवरत प्रयास र चुनौतीपूर्ण कठिनाइलाई पार नगरी प्राप्त गर्न सकिदैन । यसमा नेपालको प्रजातन्त्रको स्थापना यसको उदाहरण हो । प्रजातन्त्रको स्थापनाको लागि चाहे त्यो २००७ सालको आन्दोलनमा होस् वा २०४६ सालको, कैयौं व्यक्तिहरूले शहादत प्राप्त गरेका छन् र कैयौंले आफ्नो ज्यानको बाजी थापेर आफ्नो जीवन र परिवारको कुनै वास्ता नगरेर आन्दोलनमा होमिएकोले नै हामीले प्रजातन्त्रको उपभोग गर्न पाएका हौं । त्यसैगरी भारतलाई स्वतन्त्र बनाउन पनि कैयौं व्यक्तिहरूले आफ्नो जीवन उत्सर्ग गरेका छन् । उनीहरूले पनि आफ्नो जीवन र परिवारको कुनै वास्ता नगरि स्वतन्त्रताको आन्दोलनमा होमिएका थिए । तिनीहरूको लागि सबैभन्दा ठूलो कुरा भनेको देशको स्वतन्त्रता थियो । प्रत्येक असफलताले उनीहरूको हौसलालाई झन् बुलन्द गरेको थियो । अन्ततः बलवान ब्रिटिस राज्यले भारतीयका सामु घुँडा टेक्नु परेको थियो र भारतलाई छोडेर जानु परेको थियो । त्यसैगरी दक्षिण अफ्रिकाका महान् नेता नेल्सन मण्डेलाले पनि २९ औं वर्ष जेलमा बसी सङ्घर्ष गरी देशलाई स्वतन्त्र बनाउन सफल भएका थिए । उनले पनि विभिन्न कठिनाई र सङ्घर्षको सामना गर्नुपरेको थियो ।

अहिलेका युवाहरू निकै बेचैन छन् । तिनीहरू कुनै पनि कार्यको परिणाम तुरून्तै चाहन्छन् । तिनीहरूसँग धैर्य गर्ने क्षमता छैन । निकै पुरानो कहावत छ कि रोम एक दिनमा बनेको थिएन । जब एकचोटि हामी हाम्रो उद्देश्यतिर अगाडि भाग्दछौं सफलता हामीले कुनै पनि हालतमा पाउँछौं । एउटा व्यक्ति आफ्नो मार्गमा असफलताको सामना गर्दा निराशा हुने वा उदास हुने गर्नु हुँदैन ।

सम्बन्धित समाचार