भो, अब म केही बोल्दिनँ

मुलुक प्रगतिपथमा लम्किरहेको छ । विगत २५० वर्षमा नभएको विकास यही एक–डेढ वर्षभित्र भएको छ । मुलुक समृद्ध बनेको छ । अभाव र अन्याय खोज्दा पनि पाइन्न । नागरिकहरू अहिले रामराज्यमा नभएको सुख भोगिरहेका छन् । रामको व्यक्तित्वबाट जलेर कुनै धोबी स्वास्नी कुट्तै रामलाई आरोपित गरिरहेको पनि हुन सक्छ तर त्यसले आधुनिक रामलाई केही फरक पर्नेवाला छैन । मुलुकले गरेको प्रगतिबाट सन्तुष्ट म पनि सत्ता चिन्तनका विपक्षमा केही बोल्ने छैन ।

म निर्मलाको बलात्कारी खोज्नुपर्छ भन्ने छैन र शालिकरामको हत्यारा पनि पत्ता लगाउनुपर्छ भन्ने छैन । म द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकका बारेमा पनि बोल्ने छैन, म वाइडबडी जहाज खरिद प्रक्रियामा भएको अनियमितताका बारेमा र ललिता निवास जग्गा प्रकरणका विषयमा पनि केही भन्ने छैन । म चुपचाप हेर्दै जाने छु तर बिलकुल बोल्नै छैन ।

एउटा पत्रिकाले मन्त्री विना मगरले गरेको भ्रष्टाचारका बारेमा लेखे छ, अर्को पत्रिकाले श्याम परदेशी काण्डमा नेकपा सांसदकै संलग्नता रहेको लेखे छ । सायद यी लेख्नेहरूका पछि ठूलै शक्ति होला र त लेखे । तर दसी प्रमाण नपुग्ने वा पुग्ने भए पनि ठूला नेताको मान मर्दन हुने यस्ता विषयमा म बोल्ने छैन ।



म मेरा प्रभुहरूका बारेमा पनि केही बोल्ने छैन, बोलिहाले अरिंगाल खनिएलान भनेर कटाक्ष पनि गर्ने छैन । गरिब जनताले खाइनखाई तिरेको करको चरम दुरूपयोग भयो पनि भन्दिनँ । भिभिआइपीहरूको उपचारको बहानामा देशको ढुकुटी रित्तियो पनि भन्दिनँ । किनभने इतिहासको कुनै कालखण्डमा उनीहरूले देशका लागि सिन्को भाँच्ने काम गरेका थिए । त्यसैको ब्याजवापत आज उनीहरू राज्यकोषबाट भुक्तानी लिइरहेका छन् । जति बेला उनीहरूले देशका लागि सिन्को भाँच्तै थिए, त्यसबेला म त जन्मेको पनि थिइनँ होला, अनि आज मैले उनीहरूको मान मर्दन हुने गरी व्यङ्ग्य गर्न मिल्छ ? ‘मकैमा कीरा लागे’ भन्ने सन्दर्भमा लेख्ता जेलको यातना भोग्नुपर्ने देशको एउटा अकिञ्चन नागरिक म, अनि कसरी उनीहरूको राष्ट्र प्रेममाथि शङ्का गरेर आफूमाथि जोखिम पार्न सक्छु र ? त्यसैले पनि म केही बोल्दिनँ । मनमा लाग्छ ‘लुट्न सके लुट’ भन्ने गीतमा मुलुकको वर्तमान यथार्थता प्रतिविम्बित छ, तर पनि प्रभुहरूको मन दुख्ला कि भनेर त्यसको प्रशंसा गर्न सक्तिनँ । यो मेरो राष्ट्रिय चरित्र हो, त्यसैले पनि बोल्दिनँ ।

कोही कोही आरोप लगाउँछन् सरकारले केही गरेन भनेर । नागरिकलाई उठ्न नसक्ने गरी करको भारी बोकाउने काम सरकारले गरेको छ । अन्यायमा परेको एनसेललाई उन्मुक्तिको बाटो खोलिदिएको छ । महङ्गीलाई अनियन्त्रित रूपमा छोडेर दशैंको मुखमा आम नागरिकको ढाड सेक्ने काम गरेको छ । पहिले पहिलेका नेताहरू नेपाललाई सिंगापुर बनाइदिन्छौं भन्थे, अहिलेका नेताहरूले सिंगापुरलाई नेपाल बनाइदिएका छन् । अझै पनि सरकारलाई केही गरेन भन्न मिल्छ ? त्यसैले पनि म केही बोल्दिनँ ।

चाणक्यसम्बन्धी एउटा प्रेरक प्रसङ्ग छ । एक साँझ एकजना सज्जन उनलाई भेट्न गएछन् । त्यसबेला उनी टुकी बालेर केही कार्य गर्न व्यस्त रहेछन् । केही क्षणपछि चाणक्यले बलिरहेको टुकी निभाएर अर्को टुकी बालेर ती सज्जनसँग वार्ता गर्न थालेछन् । त्यो देखेर सज्जनले बलिरहेको टुकी निभाएर अर्को बाल्नुको कारण सोधेछन् । चाणक्यले जवाफ दिएछन्– तपाई आउँदा बलिरहेको टुकीमा राज्यको इन्धन प्रयोग भइरहेको थियो र म पनि राजकीय कार्यमा व्यस्त थिएँ । अहिले म तपाईसँग बोलिहेको छु, यो मेरो व्यक्तिगत कार्य हो । व्यक्तिगत कार्यमा राज्यकोषको दुरूपयोग हुनुहुन्न । अतः मैले मेरो निजी टुकी जलाएको हुँ । चाणक्यको जवाफले सज्जन चकित भएछन् ।

विचरा चाणक्य नेपाली नेताको सङ्गतमा परेको भए बुझ्थे पदमा पुगेपछि कोही कसरी व्यक्तिगत हुन सक्छ भनेर । पदमा पुगेपछि जेजति कार्यहरू हुन्छन्, ती सबै राज्यकोषबाट हुन्छन् । चाणक्य नेपाल भ्रमणमा आएका भए उनको जीवन दर्शन नै परिवर्तन हुने थियो सायद । तर म राज्यकोषको चरम दुरूपयोग भयो भनेर कसैप्रति कटाक्ष गर्न चाहन्न । मैले लालमोहर लाग्नै लागेको मिडिया काउन्सिलका बारेमा सुनेको छु, त्यसैले पनि म मौन धारण गर्नु उपयुक्त ठान्दछु ।

कुनै उपकुलपतिले विदा हुने अधिल्लो दिन गुपचुप रूपमा मेडिकल माफियाहरूलाई सहज हुने गरी निर्णय गरिदिएर ठूलो आर्थिक लाभ लिएको कुरा मलाई थाहा छैन । कुनै निकायका प्रमुखले पदीय मर्यादाको दुरूपयोग गरी अकुत कमाएर विदेश पलायन भएको पनि सुनेको छैन । मलाई ३३ किलो सुनकाण्ड, एनटिसीको फोरजी काण्ड, परीक्षा नियन्त्रण कार्यालयको प्रमाणपत्र लिलाम काण्ड, गुठी काण्डआदि केही थाहा छैन । यस्ता सयौं बेथितिहरूको चाङमा बसेर पनि म केही बोल्न सक्तिनँ । बोलेर पो के हुनेवाला छ र ? दैनिक अखबारहरूले, अनलाइन पोर्टलहरूले, टिभी तथा रेडियोहरूले केके लेखेका छैनन् र केके बोलेका छैनन् ? लेखेर वा बोलेर परिवर्तन हुने भए नेपाल आज अर्कै भइसक्थ्यो । बोलेर केही हुनेवाला छैन भन्न बुझेर पनि केही बोल्दिनँ । भोे, अब म साँच्चै केही बोल्दिनँ ।

सम्बन्धित समाचार