देउवाको बोलीबाट तरङ्गित नेपाली राजनीति

प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीचको यौन प्रकरणले तातेको देशको राजनीति नेपाली कांग्रेसका सांसद अफताब आलमको गिरफ्तारीले फेरि एकचोटी तरङ्गित हुन पुगेको छ । देशका उच्च पदस्थ व्यक्तिहरू यसरी एकपछि अर्काे गर्दै अवाञ्छित घटनाहरूसँग जोडिंदै जादाँ देशको छवि अन्तर्राष्ट्रिय स्तरमासमेत धमिलिंदै छ । यो आरोपित व्ययक्तिहरूका लागि मात्र होइन, सिङ्गो देशकै अपमानको विषय हो ।

अहिलेसम्मका घटनाक्रमलाई हेर्दा आलम पक्राउ काण्ड इतिहासकै क्रुर, अपराधिक र अक्षम्य घटनाको रूपमा लिन सकिन्छ । यस्तो अमानवीय र अकल्पनीय घटनाको जति निन्दा र भर्सना गरे पनि कम हुन्छ । २०६४ चैत्र २७ गते बम बनाउदै गर्दा बिष्फोट भएका घाइतेलाई ट्याक्टरमा हालेर इँटा भट्टामा लगेर जिउँदै जलाइएको अपराधका कथित् नाइके आलम १२ वर्षपछि पक्राउ परे । उनी कांग्रेस पार्टीको तर्फबाट सांसद पनि हुन् ।



आलम कांग्रेसका सांसद मात्र थिएनन्, उनी पावरवाला व्यक्ति पनि थिए । त्यसैले पावर, शक्ति र पैसाको आडमा १२ वर्षसम्म यस्तो कहालीलाग्दो र जघन्य आपराधिक घटनालाई ढाकछोप गर्न सफलता प्राप्त भयोे । १२ वर्षपछि खोला पनि फर्किन्छ भन्थे, फर्कियो पनि । फर्कियो मात्र होइन, यसले कतिलाई बगाउने हो अहिले नै भन्न गाह्रो छ । तर स्वाभाविक रूपमा के मात्र भन्न सकिन्छ भने यो घटना आलमकै सनकका भरमा घटित भएको भए पनि यस घटनालाई लुकाउन उनी एक्लैको सामथ्र्यले सम्भव थिएन र होइन पनि । आलमको लहरोले कतिको फुली फुकालिने र कतिको कालो अनुहार उदाङ्गिने हो, हेर्न केही समय धैर्य गर्नु पर्ला ।

तस्विरमा लेखक नवराज घिमिरे

आलम प्रकरण अहिले अदालतमा पुगेको छ र प्रहरी पनि थप अनुसन्धानमा जुटेको छ । विभिन्न सञ्चारमाध्यमहरूमा आएको समाचार, स्थानीयबासी र प्रत्यक्षदर्शीहरूको बयानलाई आधार मान्ने हो भने आलमले उन्मुक्ति पाउने सम्भावना खास्सै देखिँदैन तर त्रास र दबाबमा बयानहरू फेरिन समय लाग्दैन । तर आलम काण्डले एउटा कुरा के स्पष्ठ पार्छ भने मुलुकमा राजनीतिक आडमा पर्दा खुल्न नसकेका अरू पनि थुप्रै घटनाहरू हुन सक्छन् जसले मुलुक अराजकताको दिशातिर गइरहेको आभास दिलाउँछ । दण्डहीनताको यो अवस्था एउटा पराकाष्टा नै हो । अझ लजाउनु पर्ने कुरा के छ भने कुनै कुनै राजनीतिक पाटीहरू यस्ता घटनाहरूलाई प्रश्रय दिने गरी सडकमा उत्रिएका छन् । यसले मुलुकमा हुने कुनै पनि अराजक गतिविधिमा प्रत्यक्ष परोक्ष रूपमा राजनीतिक संरक्षण थियो र छ भन्ने कुरालाई सङ्केत गर्दछ ।

आलम काण्डमा नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक व्यवस्थाको वकालत गर्ने पार्टी नराम्ररी फँस्नपुग्यो । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो औकात देखाएदिए । पटक–पटक प्रधानमन्त्री भइसकेका व्यक्तिको संवेदनाहीन तथा आम पार्टीपङ्क्तिको सोचविपरीत आएको धारणालाई टिकाउन भने सकेनन् बरू जनदवाव धान्न नसकेर २४ घण्टा नबित्तै पे्रस विज्ञप्ति निकालेर सच्याउने प्रयास गरे । सार्वजनिक ठाउँमा सर्वाङ्ग नाङ्गिएर घरमा पुगेपछि पार्टी प्रवक्ताले लगाइदिएको पातलो लुगाले लाज कति बाँच्यो, त्यो अबको समीक्षाको विषय बन्ला । तर नेपालको इतिहास नै कलंकित हुने यस्तो निन्दनीय घटनामा नेपाली कांग्रेसका सभापतिले हतार हतार यस्तो अभिव्यक्ति देलान भनेर कसैले अपेक्षा गरेका थिएनन् । देउवाको अभिव्यक्तिले नेपाली कांग्रेसमा आस्था राख्नेहरू मात्र होइन, न्याय प्रेमी आम नेपालीहरूको शिर निहुरिएको छ । विधिको शासन लज्जित बनेको छ ।

कुनै पार्टीलाई बलियो र संगठित गर्न वषौं वर्ष लाग्न सक्छ तर धराशाही बनाउन एउटा घटना वा शीर्ष नेताको एउटा अविवेकी बोली नै प¥याप्त बन्दछ । गलत समयमा बोलिएको सही कुरा पनि कहिलेकाहीं आत्मघाती बन्न सक्छ । आलमलाई राजनैतिक प्रतिशोधका लागि सरकारले फँसाएकै भए पनि सारा जनमत आक्रोसित भएको देउवाको बोली आत्मघाती नै हो ।

अपराधी नछुटोस् र निर्दोष नफँसोस् भन्नका लागि निष्पक्ष छानबिनमा नेपाली कांग्रेसले विना सर्त सघाउने मन्तव्य दिएको भए समय सान्दर्भिक हुने थियो तर त्यसो गर्न सकेन । अझ आलमको पक्राउको विरोधस्वरूप नेपाली कांग्रेसका सांसददेखि मेयरसम्म जुलुस प्रर्दशनमा उत्रनु भनेको अपराधको पक्ष पोषण गर्नु हो । यस्ता अविवेकी क्रियाकलापहरूबाट नेपाली कांग्रेस नसच्चिने हो भने यस्ता घटनाहरूले पार्ने दुरगामी असरको मूल्य कांग्रेसले चुकाउनु पर्ने छ जुन उसका लागि निक्क महङ्गो सावित हुनेछ । अनि नेपाली कांग्रेसका कार्यकर्ता फिल्मी शैलीमा भन्न बाध्य हुने छन्– साला एक मच्छड आदमीको हिजडा बना देता है !

सम्बन्धित समाचार