महेश कठायत
काठमाडौं, १८ कात्तिक ।
प्रकृतिको अथाह सम्भावना भएको देश हो नेपाल । नेपालको प्राकृतिक सम्पदालाई पर्यटकीयकरण गर्ने प्रयास र प्रयत्न यस अघि पनि नभएका होइनन् तथापि नेपाल सरकारले अझैं यस मामिलामा सफलता प्राप्त गर्न सकेको छैन । यसपटक पनि पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले नेपालको पर्यटकीय सम्भावनालाई उच्च प्राथमिकता दिंदै सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने कार्यक्रम अगाडि सारे । दैवको लीला, जसले यो सुन्दर सपना देख्यो, जसले यी सारा कल्पना गर्यो, उही यो धर्तीमा रहेन । यद्यपि सरकार र सम्वन्धित निकाय भने स्वर्गीय मन्त्री अधिकारीको सपनालाई पूरा गर्नका लागि कम्मर कसेर लागिपरेको छ ।
प्रकृति र संस्कृतिमा धनी देश नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु चिनाउने मूल उद्देश्य राखेर नेपाल सरकारले यो कार्यक्रमको घोषणा गरेको हुनुपर्छ । सन् २०२० मा २० लाख र सन् २०५० मा ५० लाख पर्यटक नेपाल भित्र्र्याउने महत्वाकाङ्क्षी लक्ष्यका साथ सरकार र सम्वन्धित निकायहरू लागिपरेका छन् । हुन त योभन्दा अगाडि पनि सरकारले दुईपटक भ्रमण वर्ष मनाइसकेको भए पनि तीे त्यति फलदायक बन्न सकेनन्, जसका कारण कतिपय पर्यटक व्यवसायीहरू नेपाल भ्रमण वर्ष २०२० लाई पनि आधारभूत पुर्वाधारविना हतारमा घोषणा भयो भन्ने गुनासो गर्छन् । सरकारले देशभरका विभिन्न क्षेत्रलाई एक सय एक गन्तब्यका रूपमा घोषणा गरिए तापनि आधारभूत पूर्वाधार, सेवा सुविधा र प्रवद्र्धन जस्ता विषयहरूमा सरकार चुकेकोले लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिनेमा कतिपयको आशंका छ, तर छोटो समयमा धेरै कामहरू गर्नु पर्ने भए पनि सबैको साथ र सहयोग रहेमा नेपाल भ्रमण वर्ष २०२० पूर्ण रूपमा सफल हुने अर्कोथरीको मत रहेको छ ।
वर्तमान युग भनेको विज्ञान र प्रविधिको युग हो । सामाजिक संजालले आज विश्वलाई निक्कै साँघुरो बनाइदिएको छ । प्रविधिले संसारलाई एक क्लिकमा जोडिदिन्छ । यो समयमा सरकारले प्रविधिको प्रयोग गर्दै भ्रमण वर्षको प्रचार प्रसारलाई जोड दिएको छ । नेपालका अधिकांश युवाहरु विदेशमा छन् । विदेशमा रहेका नेपालीहरूबाट पनि अझ धेरै अपेक्षा गरिएको छ वा गर्न सकिन्छ पनि । अहिले सामाजिक संजालबाट टाढा कोही छैन । यदि सबैले आ–आफ्नो ठाउँबाट तदारुकताका साथ लागिपर्ने हो भने अवश्य नै भ्रमण वर्ष सफल हुने छ ।
नेपाल भ्रमण वर्षको प्रचार प्रसार र तयारीका सम्पूर्ण गतिविधि सार्वजनिक गर्न नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले वेबसाइट तथा सामाजिक संजालका ह्यान्डलहरू फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम आदि संञ्चालनमा पनि ल्याएको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र जनस्तरमा चेतना अभिवृद्धिका लागि नेपालमा रहेका विभिन्न कुटनीतिक प्रतिनिधि, विदेशमा रहेका नेपाली, नेपाल सरकारका उच्च पदाधिकारी, राजनीति दलका नेता, खेलाडी, कलाकार, पत्रकार र आम नागरिकबाट सरकारले ठूलो अपेक्षा गरेको छ ।
भ्रमण वर्षलाई सफल पार्न सरकारको एक्लो प्रयासले मात्र सम्भव नहुने हुँदा यसमा प्रदेश र स्थानीय सरकारको पनि उत्तिकै साथ सहयोगको खाँचो रहन्छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागी पर्यटकसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकारका सम्पूर्ण क्षेत्रहरूमा ध्यान दिन जरुरी छ । त्यसको शुरुवात पर्यटक विमानस्थल भित्रिएदेखि नै आरम्भ गर्नु पर्ने हुन्छ । विमानस्थलका कर्मचारीहरू र ट्याक्सी व्यवसायीहरूको व्यवहारमा सुधार ल्याउनु पर्छ । त्यस्तै पर्यटकको गाइडका लागि पनि उनीहरूसँग दोभाषे आवश्यक पर्ने हुँदा यस्ता बिषयमा पर्यटकलाई अप्ठ्यारो महसुस हुन नदिन हामी सचेत बन्नु पर्छ । कसैले पनि पर्यटकसँग आफ्नो व्यक्तिगत स्वार्थका लागि ठग्ने, गलत सूचना दिने, दुःख दिने जस्ता घृणित कार्य गर्नु हुँदैन जसका कारण देशकै प्रतिष्ठामा आँच आओस् । त्यसैले त्यसतर्पm पनि सरकारदेखि नागरिक समाज सबैले सचेत बन्न जरुरी छ । यदि यस्तो कार्य कहीं कतैबाट भए त्यसलाई तत्काल नै निरुत्साहित गरिनु पर्छ । भ्रमण वर्ष सफल पार्न विशेष सहयोग पुर्याउने पर्यटन व्यवसायीहरुलाई विभिन्न पुरस्कारद्वारा सम्मान गरिनु पर्छ जसको परिणाम् पर्यटन प्रबद्र्धनमा अझ बढी टेवा पुग्न सक्छ ।
विमानस्थलदेखि पर्यटकीय गन्तव्यसम्मको बाटोघाटो र त्यहाँसम्म पुग्नका लागि सवारीको व्यवस्था के कस्तो छ ? सातै प्रदेशमा मुख्य पर्यटकीय क्षेत्रसँग जोडिएका सडकको स्थिति, होटल रेष्टुरेन्टहरू, सपिङ सेन्टरजस्ता आधारभूत पूर्वाधारहरूबारे सरकार गम्भीर बन्नु पर्छ । पर्यटकहरूको सुरक्षा, खानापिनको राम्रो व्यवस्था, मैत्रीपूर्ण व्यवहार र सही सूचना आदि पनि आवश्यक पूर्वाधारहरू हुन् ।
नेपाल भ्रमण वर्ष मनाउँदा र यो योजना सफल हुँदा यसवाट आम जनताहरूले र सरकारले कस्तो लाभ प्राप्त गर्न सक्दछन् ? भन्ने बारेमा पनि जनस्तरमा चेतना जगाउन जरुरी छ । पर्यटकहरूलाई नेपालमा जति भित्र्याए पनि यदि नेपाल भ्रमण वर्ष २०२० को नारा ‘लाइफ टाइम एक्सपेरिन्स’ लाई सार्थक बनाउँने हो भने उनीहरू नेपाल भ्रमण गरेर फर्किसकेपछि पनि उनीहरूलाई पुनः नेपाल आउन उत्प्रेरित हुने खालको वातावरण बनाउन जरुरी छ ।
कार्यक्रम र नीति आकर्षक बनाउने तर व्यवहार उस्तै गर्ने प्रवृत्तिले हामी ग्रसित छौं, यसले न त हाम्रा कार्यक्रम सफल हुन्छन् न त मुलुकले समृद्धि हासिल गर्न सक्छ । मुलुकलाई समृद्धितर्फ अग्रसर गराउने गतिलो माध्यम भनेकै पर्यटनको विकास हो । पर्यटनको विकास र विस्तार गरेर हामी मुलुकलाई समृद्ध बनाउन सक्छौं । हामीसँग भएका अथाह प्राकृतिक सम्पदाहरूलाई जबसम्म हामी नगदमा रूपान्तरण गर्न सक्दैनौं तबसम्म हामी समृद्धि हासिल गर्न पनि सक्दैनौं । पर्यटन प्रबद्र्धनले मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने तथा मुुलुकलाई समृद्धशाली बनाउन प्रत्यक्ष भूमिका खेल्ने भएकोले यसलाई एउटा भ्रमण वर्षसँगमात्र जोडेर हेर्नु अपूर्ण हुने छ । यो त प्रस्थान विन्दु मात्र हो, गन्तव्य धेरै टाढा छ छ । अतः भ्रमण वर्षलाई मुलुकको समृद्धिको आधारशीला सम्झेर यसमा सबै नेपालीहरू एक भई यसलाई सफल बनाउनु आजको आवश्यकता हो । सरकारले बनाएको नीति तथा कार्यक्रमलाई जनस्तरबाट पनि साथ, सहयोग र समर्थन प्राप्त भयो भने भ्रमण वर्ष अवश्य पनि सफल हुने छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि प्रत्येक नागरिकको आ–आफ्नो दायित्व र भूमिका हुन्छ, जसबाट नागरिक समाज पनि चुक्नु हुँदैन ।