भारत सरकारले हालै जारी गरेको भारतको राजनैतिक नक्सामा पश्चिम उत्तर नेपालको कालापानी क्षेत्रको केही नेपाली भूभागसमेत समेटेपछि भारतको नियत प्रष्ट भएको छ । नेपाली भूभाग कालापानीका विषयमा भारतसँग नेपालको विवाद रहिआएकोमा अहिले एकलौटी रूपमा विवादित क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेर नेपालप्रतिको आफ्नो धारणालाई प्रष्ट पारेको हो ।
सार्वजनिक स्थानमा गरिने भाषणहरूमा भारतीय शीर्ष नेताहरूले नेपाललाई माया गरेजस्तो गरे पनि यथार्थमा त्यस्तो देखिंदैन । सीमाको विषय र पारबहनका विषयमा इतिहासदेखि वर्तमानसम्म नेपाल भारतीय नियतसँग ढुक्क हुन सकिरहेको छैन । नेपालको दक्षिणतिर रहेका धेरै सीमास्तम्भहरू हराइरहेको समाचारहरू आइरहेको परिप्रेक्षमा अहिले पश्चिमतिरको सीमा मिचिएको समाचारले सम्पूर्ण नेपालीहरूको मन कुँडिएको मात्र छैन, आन्दोलित पनि भएको छ । अब आफ्नो अन्तर्राष्ट्रिय सीमा–सुरक्षाका बारेमा नेपालले नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको छ । कुनै छिमेकीको गलत नियतले सार्न, भत्काउन र मेटाउन नसक्ने गरी नेपाली सीमाहरू सुरक्षित गर्ने बेला आएको छ ।
स्ष्ष्ट छ, दक्षिणतिरबाट सीमास्तम्भ हराउनु र पश्चिमतिरको भूभाग भारतीय नक्सामा समेटिनु कुनै ‘भुलचुक’ मात्र होइन । भारतीय सुरक्षाकर्मी नेपाल छिरेर नेपालीहरूलाई कुटपिट गर्नु, रातारात सीमा स्तम्भहरू हराउनु, इपिजीको प्रतिवेदनलाई बेवास्ता गरिनु, नेपाली नेताहरूलाई गलाउन वा आफ्नो अनुकूल प्रयोग गर्न नसक्ता नाकाबन्दी गर्नु, नेपालको नयाँ संविधानलाई खुलेर स्वागत गर्न नसक्नु तथा दुई देशका उच्चस्तरीय प्रतिनिधिहरू बसेर निरूपण गर्नुपर्ने मुद्दाहरूमा एकलौटी रूपमा निर्णय गरी जारी गर्नुलाई भारतीय शीर्ष नेताहरूले नेपाललाई हेर्ने दृष्टिकोणको समष्टि सार हो भनेर बुझ्दा अन्यथा नहोला ।
जे होस्– भारतको दरिद्र मानसिकता पुनः एकपल्ट उजागार भएको छ । नेपाल सरकारले कालापानी नेपालकै भूभाग रहेको स्पष्ट पार्दै कूटनैतिक समाधानका लागि विज्ञप्ति पनि निकालिसकेको छ । अरू बेला जो जता फर्किए पनि माटोको सुरक्षाका सवालमा सबै नेपाली एक भएको सन्देश प्रवाह भइसकेको छ । विवादित नक्साका बारेमा कुरा चुहिनेबित्तिकै नेपालीहरूले देखाएको चासो, चिन्ता र माटोको सुरक्षाका लागि उठेका गर्जनहरूले राष्ट्रियताका सवालमा नेपालीहरू कति संवेदनशील छन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । देशको रक्षाका लागि उठेका सबै आवाजहरू स्तुत्य छन् ।
विवादित नक्सा त्यति बेला सार्वजनिक गरियो, जति बेला भारतको बुझाइमा नेपाल आन्तरिक रूपमा कमजोर अवस्थामा छ । एकातिर प्रधानमन्त्री बिमारी छन्, अर्कोतिर पार्टीका दुई अध्यक्षबीच विश्वासको सङ्कट चुलिएको छ । यसले नेकपालाई गुट उपगुटका रूपमा विभाजन गरेर थला पारेको छ । प्रतिपक्षी कांग्रेस पनि आन्तरिक रूपमा विभाजित छ । देउवा, पौडेल, सिटौला र अन्य गुटमा कांग्रेस नराम्ररी फँसेको छ । समाजवादी पाटीभित्र पनि आन्तरिक असन्तोष बढेको छ । मधेशवादी दलहरूले भारतीय चालको खुलेर विरोध गर्ने छैनन् । यही विश्लेषणका आधारमा भारतले यही बेलामा प्रहार गरेका हुन सक्छन् । यदि त्यसो हो भने भारतले नेपाली मानसिकतालाई नबुझकै अर्थ लाग्छ । राष्ट्र, राष्ट्रियता र माटोको सवालमा सबै नेपालीहरू एकढिक्का भएर जाइलाग्न सक्छन् भनेर अब बुझ्न जरुरी छ र जिस्क्याउने काम बन्द गरे हुन्छ ।
भौगोलिक रूपले नेपाल सानो देश भएकोले भारतसँग सिंगौरी खेलेर जित्न सहज छैन । त्यसैले अब नेपालले आफ्नो अन्तर्राष्ट्रिय सीमालाई बलियो पार्न पहल गर्नु पर्छ । विवाद उठिसकेपछि टालटुले पाराले हैन, कूटनैतिक र वैज्ञानिक रूपमा अन्तर्राष्ट्रिय अभ्यासहरूलाई पनि हेरेर सीमा विवादको अन्त्य खोजिनु पर्छ । दक्षिणतिरको नेपाली सीमामा कसैले चाहँदैमा सजिलै सार्न, भत्काउन र ठेल्न नमिल्ने विशाल पर्खाल लगाउनु पर्छ । जबसम्म दक्षिणतिर पर्खाल लगाइँदैन, तबसम्म सीमा विवाद समाधान हुने देखिंदैन । यसले अवाञ्छित घुसपैठलाई पनि रोक्न मद्दत गर्नेछ ।