– छायादत्त न्यौपाने ‘बगर’
काठमाडौं, २२ कात्तिक
भाषा देशको मौलिक सम्पदा हो । यसले देशको पहिचान बताउँछ । भाषाकै देन हो कि कुनै पनि देश विश्व परिवेशमा चिनिँदै जान्छ । यसले देशभरि छरिएर बसेका जनताको मनोभाव व्यक्त गर्छ । मानवीय विचार विनिमयको सशक्त माध्यम भाषा नै हो । यसकै बलले मानिस राष्ट्रिय अन्तरर्राष्ट्रिय तहमा पुग्छ ।
नेपाली जनताको साझा मनोभाव व्यक्त गर्ने भाषा नेपाली हो । नेपालमा बसोबास गर्ने सबै नेपालीको सम्पर्क भाषा र धेरै नेपालीको मातृभाषा पनि नेपाली नै हो । नेपाली भाषा संसारभर छरिएका नेपालीको मूलका नेपालीको परिचयाक पनि हो । नेपाल र नेपालीको अस्तित्व बचाउने, हुर्काउने र फैलाउने भरपर्दो माध्यम नेपाली भाषा नै हो । नेपाली भाषा नेपालमा बस्ने र नेपालबाहिर छरिएर बसेका नेपाली मूलका सबै नेपालीको आत्म नै हो । यसमा ठेस पु-याउने काम कहीँ कतैबाट हुनुहुँदैन ।
नेपाली ऐतिहासिक सभ्यता बताउने प्राचीन भाषा हो । यसले प्राचीन वैदिक परम्परासँग नेपाल र नेपालीलाई जोड्छ । यो संसारका चर्चित भाषाहरूमा पर्छ । साँच्चै लेखाजोखा गर्ने हो भने नेपाली भाषी नपुगेको देश छैन । संसारकै बढी जनसङ्ख्या भएको मुलुक भारतमा त झन्डै एक करोड नेपाली भाषी बसोबास गर्छन् । यस्तै चीन, भुटान, जापान, बेलायत, अमेरिका, अस्ट्रेलियाजस्ता मुलुकमा पनि नेपालीहरू पुगेर नेपाली भाषा साहित्यको उत्थान गरिरहेका छन् । साहित्य सिर्जनामा समर्पित भइरहेका छन् । युरोप, अमेरिका, जापान, चीनजस्ता मुलुकहरूमा नेपाली भाषा साहित्यले उच्च स्थान प्राप्त गरिसकेको छ ।
नेपाली भाषा नेपालका बासिन्दाको मात्र नभई नेपाली मूलका सबै नेपालीको सम्पर्क सूत्र पनि हो । यसलाई विदेशीहरूले समेत समृद्ध भाषाका रूपमा लिएको पाइन्छ । भाषा वैज्ञानिक दृष्टिले पनि नेपाली भाषा संसारको विकसित भाषामध्ये पर्छ । यसले समस्त नेपाली जनताको मनोभाव बोकेर प्रसिद्धि कमाइरहेको छ । नेपाली शिक्षा, विज्ञान प्रविधि, व्यवसाय, खेलकुद, पर्यटनका क्षेत्रमा पनि आफ्नो पहुँच पुर्याइरहेको छ ।
नेपाली नेपालको संवैधानिक भाषा हो । यसले शैक्षिक, सामाजिक, सांस्कृतिक, व्यावसायिक माध्यम भाषा बनेर आफूलाई स्थापित गरेको छ । दार्चुलाको चन्द नेपालीले ताप्लेजुङका राई नेपालीसँग सम्पर्क गर्ने माध्यम भाषा नेपाली नै हो । मोरङको यादव र सङ्खुवासभाको शेर्पाले व्यवहार चलाउने सूत्रका रूपमा नेपाली भाषा रहिआएको छ । नेपाली थारू र मगरले मित्रता कायम राख्न नेपाली भाषा नै चाहिन्छ । नेपाली नेपालको कानुनी भाषा पनि हो । नेपाली भारतको पनि संवैधानिक भाषा हो । विश्वका ख्याति प्राप्त बिबिसि, सिएनएन, रेडियो बेजिङ, अलइन्डिया रेडियोजस्ता सञ्चार संस्थाहरूमा समेत नेपाली भाषाले वर्षौदेखि सुरक्षित स्थान पाइरहेको छ तर विडम्बना नेपालकै विश्वविद्यालयहरू र सञ्चारमाध्यमहरू नेपाली भाषालाई उपेक्षा गरिरहेछन् ।
पछिल्लो समयमा आएर नेपाल र नेपालीको अभिन्न अङ्ग बनेको नेपाली भाषालाई क्रमशः विस्थापित गरेर नेपाल आमाका सन्तान नेपालीको अस्तित्व सङ्कटमा पार्ने काम विषय विज्ञ मानिने महापण्डितहरूबाटै भइरहेको छ । यस्तो दुःखद् परिणामले समस्त नेपालप्रेमी नेपालीहरूलाई थिचिरहेको छ । केही प्राज्ञिक भनिएका पाठ्यक्रम निर्माताहरूबाट थोरै प्रलोभनमा फसेर राष्ट्र र राष्ट्रियतालाई खाडलमा धकेल्न दुस्प्रयास भइरहेको छ । विश्वविद्यालय र विद्यालयतहका पाठ्यक्रममा नेपाली भाषालाई कम महत्त्व दिने जस्तो जघन्य अपराध विद्वान् गुरुहरूबाटै हुँदै आएको छ । कहिले प्रविधि भित्र्याउने निउमा नेपाली भाषामाथि प्रहार, कहिले नयाँ विषय प्रवेशको निउमा प्रहार ! कति जानीजानी त कति अर्काको निर्देशनबाट निर्देशित भई स्वत्व बिर्सेर नेपाली भाषालाई पाठ्यक्रमबाटै कमजोर बनाउने, प्रयोगहीन देखाउने घृणित काम भएको छ । यदि यसो होइन भने नेपालमा कारोबार गर्ने वित्तीय संस्थाहरूले नेपाली भूगोल र नेपाली समाज चिन्नु आवश्यक छैन रु नेपाली जनताको उपचार गर्छौ भनेर स्वास्थ्य सेवामा प्रवेश गर्नेहरूले नेपाली संवेदना थाहा पाउनु पर्दैन ? नेपालको दूरदराजमा बस्ने नेपालीले आर्थिक कारोबार, स्वास्थ्यसम्बन्धी परामर्श, प्रविधिसम्बन्धी सूचनाहरू पाउनु पर्दैन रु यी आधारभूत आवश्यकता परिपूर्ति गर्न नेपाली जनताले नेपाली भाषामा संवाद गर्न नपाउने ? अन्य कुनै विदेशी भाषाको सहारा लिनै पर्ने ? यस्तो दरिद्र मानसिकताले पाठ्यक्रम निर्माण हुँदा नेपालको भविष्य कहाँ पुग्छ र कसरी सुरक्षित हुन्छ रु यदि यस्तो परिस्थितिलाई सामान्य ठानेर यसो गरिएको हो भने सुदूर भविष्यमा यसले सिङ्गै मुलुकको अस्तित्व सङ्कटमा पार्छ भन्ने कुरा अलिकति पनि हेक्का नराखेको र लापर्बाही गरेको ठहर्छ । यस्तो दुर्घटनाबाट नेपाल र नेपालीलाई बचाउन स्वयम् नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, संस्कृति मन्त्रालय समेत यस मातहतका पाठ्यक्रम विकास केन्द्रहरू इमानदारीपूर्वक संवेदनशील हुनु जरूरी देखिन्छ । आवश्यकता हेरी सरकारी हस्तक्षेप पनि हुनुपर्नेहुन्छ ।
सबै नेपालीको साझा भाषा नेपालीले अनिवार्य विषयका रूपमा मावि तहका कक्षाहरूमा विशेष महत्त्व पाउनुपर्छ । सहज ढङ्गले पठन–पाठन गराइनु आवश्यक छ । यस्तो राष्ट्रिय अस्मितासँग जोडिएको चुनौतीलाई कुनै नेपाली विषय पठन-पाठनमा लागेकाहरूको गुनासो ठानेर जिम्मेवार नागरिक दायित्व निर्वाह गर्नबाट भाग्ने गल्ती नदोहोर्याइयोस् । यो त समस्त नेपालीको हृदयमा बसेको मननीय विषय हो । महाविद्यालयमा पनि मानविकीका केही सीमित कक्षाहरूमा मात्र पढे(पढाएर पुग्दैन । व्यवस्थापन र विज्ञान सङ्कायका स्नातक तहसम्मका कक्षाहरूमा पनि कम्तीमा १००/१०० पूर्णाङ्कको नेपाली विषयको अनिवार्य पठन–पाठन किन नगर्नेरनगराउने रु यो गम्भीर प्रश्न हो । यसलाई सच्चा नेपालीले हलुका ठान्दैन, ठान्न मिल्दैन पनि । नेपाल नभई नेपाली र नेपाली नभई नेपालको जस्तै नेपाली भाषा विनाको नेपाल र नेपाली कल्पना गर्न सकिन्न । यस क्रममा नेपाली जनता, पठन–पाठनमा लागेका सचेत नागरिक समुदाय तथा सरकारी निकाय सबैले गम्भीर रूपमा लिएको वाङ्मयको उछितो काढ्ने कुरा कदापि सह्य हुँदैन । यसका सम्बन्धित सबैको सक्रियतामा पाठ्यक्रम विकास केन्द्रहरूले नेपाली विषयलाई खुम्च्याएर नेपाल आमामाथि गरेको यस्तो खेदजनक कठोर प्रहार टुलुटुलु हेरिरहन सकिँदैन । यसमा सम्बन्ति पक्षले पुनर्विचार गरोस् । हेक्का रहोस् कि विदेशी भाषा आवश्यकताले पढिने हो भने नेपाली भाषा व्यावहारिक ज्ञान, प्रयोगात्मक सिप सिकेर राष्ट्रिय पहिचान व्यवस्थित र सुरक्षित राखिरहन पढिने विषय हो ।
अतः यस जनभावनालई गम्भीर रूपमा लिएर अबिलम्ब सकारात्मक निर्णय लिइयोस् । कतै नेपाली वाङ्मयको अस्तित्व कायम राख्न कठोर निर्णय लिएर सङ्घर्षमा उत्रन बाध्य नबनाइयोस् । ‘अस्तु’