नेपाल र भारत सदियौं पुराना मित्रहरु हुन् । दुई देशको रहनसहन, संस्कृति र भाषामा समेत केही हदसम्म समानता छ । भारत र नेपालको रोटीबेटीको सम्बन्ध छ । भौगोलिक हिसाबले नेपाल भारतभन्दा कैयौं गुना सानो छ । दुई देशको सम्बन्ध राम्रो रहेपनि बेला बेला भारतले विभिन्न बहानामा नेपाललाई दुःख दिंदै आएको छ । अझ स्पष्ट शब्दमा भन्ने हो भने बेलाबेला भारतको हेपाहा प्रवृत्ति हावी भएर जान्छ । कहिले नेपालमा नाकाबन्दी लगाउने गरेको छ भने कहिले सीमा अतिक्रमणको नाममा दुःख दिंदै आउँदै गरेको छ । कालापानी, लिपुलेक र लिम्पयाधुरा स्पष्ट रुपमा नेपालको भूमि हुँदा हुँदै पनि अहिले भारतले जारी गरेको नयाँ नक्सानमा यी स्थानलाई आफ्नो नक्साभित्र पारेर नेपालीको सार्वभौमिकता र स्वाभिमानमाथि प्रहार गर्ने गरेको छ । नेपाल सानो भए पनि नेपाल विगतमा कुनै देशको अधिनमा रहनु परेन, कसैको गुलामी बन्नु परेन। बरु भारत कैयौं वर्षसम्म ब्रिटीसद्वारा शासित हुनुपरेको थियो । नेपालीको स्वाभिमान गोपाल योञ्जनले गाएको गीतमा प्रष्ट झल्कन्छ, बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, म आगो सहन्छु, अन्याय सहन्न, म त्रिश्ना सहन्छु, तिरश्कार सहन्न। मेरो सिर उडाउ, बरु त्यो सहन्छु,तर कोई परायाले टेके सहन्न। नेपालीहरु कसैले आफ्नो भूमिमा टेकेको, भूमि हडपेको कदापि सहन सक्दैनन् । परिणाम जस्तो सुकै होस् अन्यायको विरुद्ध नेपालीहरु लड्न सँधे तयार छन् ।
दक्षिण र पश्चिमी क्षेत्रमा भारतसँग सीमा जोडिएको कञ्चनपुरमा तीन सय ८० सीमा स्तम्भ रहेका छन् । जसमध्ये ३६ वटा हराएका छन् भने २ सय १७ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् । सीमा स्तम्भ हराएका ब्रह्मदेव, दोेधारा चाँदनी, बेलौरी र पुनर्वासका अधिकांश क्षेत्र भारतले आफ्नो भूभाग दाबी गरी वर्षौँदेखि अतिक्रमण गर्दै आएको छ ।
सरकारले नेपाल–भारत सीमा विवाद टुङ्गो लगाउन २०७३ चैतमा दुवै देशको संयुक्त सर्भे टोली कञ्चनपुर पठाएको थियो । निर्मला आचार्य र सुदर्शनसिंह धामी नेतृत्वमा खटिएको संयुक्त सर्भे टोलीले सीमा क्षेत्रको नक्सांकन गरे पनि विवादित क्षेत्रमा सीमा स्तम्भ निर्माण गर्न नसक्दा वर्षैदेखिको विवाद अन्त्य हुन सकेको छैन ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित सीमा क्षेत्र भारतीय सुरक्षाकर्मी ९एसएसबी० ले आफ्नो कब्जामा लिएको छ । वर्षै विवादित रहेको यो क्षेत्र एसएसबीले झण्डै चार वर्षदेखि आफ्नो कब्जामा लिएका हुन् ।
उनीहरुले १ सय ९४ देखि १ सय ९७ नम्बर सीमास्तम्भसम्म आफ्नो भूमि दाबी गर्दै नेपालीलाई रोक लगाएको पुनर्वास नगरपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले बताए ।
‘विगत चार पाँच वर्षदेखि एसएसबीले यो क्षेत्र आफ्नो भूभाग दाबी गर्दै आएको छ’, उनले भने, ‘त्यतिमात्रै होइन उनीहरुले नेपालीलाई १ सय ९५ नम्बरको सीमानामा जानसमेत दिँदैनन् ।’
वडाध्यक्ष जैशीका अनुसार १ सय ९५ नम्बर सीमास्तम्भ ढलेको अवस्थामा छ भने १ सय ९६ हराएकाले भारतीयले यो क्षेत्र आफ्नो भूमिमा पार्न खोजेका हुन् । दुवै देशको साझा सीमा स्तम्भमा जान एसएसबीले नेपाली नागरिकलाई मात्रै होइन जनप्रतिनिधि र सुरक्षाकर्मीलाई समेत रोक लगाएको छ ।
यो क्षेत्रमा जान आफूहरुले समेत एसएसबीसँग अनुमति लिनुपर्ने खड्डा कङ्कड प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार पहिले एसएसबी आफैले अनुमति दिने गरे पनि पछिल्लो समय भने जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय उच्च अधिकारीको अनुमति लिएर आउन उनीहरुले आग्रह गर्न थालेका छन् ।