मनसुन शुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जाने यात्रुका लागि सिद्धबाबाखण्ड काल जस्तै बनेर उभिन्थ्यो । पहिराका कारण दैनिकजसो नै सवारी साधन रोकिँदा यात्रा गर्नेका लागि सो मार्ग मृत्यु मार्ग जस्तै बनेको यथार्थता भोग्नेलाई मात्र थाहा छ ।
पटकपटक सरकार फेरिए, मन्त्री फेरिए, आयोजनाका प्रमुख फेरिए, सडक विभागका उच्चपदस्थ कर्मचारीसमेत बदलिए । स्थानीयवासी सधैँ समस्यामा नै परिरहे । पहिरामा परेका कतिका परिवार बिते, कति टुहुरा भए । अनि अपाङ्गताको जीवन अझै बाँचिरहेका पनि छन् । तिनलाई सरकार भएको र नभएको कुनै फरक परेन । सडकले जीवन लिएकाले समस्याबाट कहिले मुक्ति पाइएला भनेर बस्नुको विकल्प थिएन । किनकी राज्यले उनीहरुको दुःख देखेकै थिएन । देखेकै भए पनि अनुभव गरेको थिएन ।
बुटवलवासी र पाल्पालीवासीका लागि सिद्धबाबा खण्ड एउटा नराम्रो यथार्थ जस्तै बनेको थियो । वर्तमान सरकारले सो सडक खण्डमा स्थानीयवासीले भोगेको समस्या समाधानका लागि एउटा उपाय निकाल्यो र बजेटमा समेत समावेश गर्यो । सो सडक खण्डमा सुरुङमार्ग निर्माण गर्न सकियो भने स्थानीयवासीको समस्या समाधान हुन सक्छ ।
निरन्तरको पहलपछि एउटा गतिलो र दीर्घकालीन समस्या समाधानको चरणमा पुग्न सकिन्छ भन्ने आम सोचाई जस्तै सिद्धबाबा खण्डको समस्या समाधान गर्ने लक्ष्यसहित सरकारले सुरुङमार्ग निर्माणका लागि स्रोतको सुनिश्चितता गरेको छ । थानकोट–नागढुङ्गा सुरुङमार्गको शिलान्याश भइसकेको छ । सो आयोजनाको निर्माण कार्य शुरु हुन लागेकै बखत अर्थमन्त्रालयले सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि रु १० अर्ब १५ करोड बराबरको स्रोत सुनिश्चितता गरेको हो ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले सो आयोजनाका लागि स्रोत सुनिश्चितता भएको सहमतिपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ । यही मङ्सिर १ गते अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई स्रोतको सुनिश्चितता गरिदिनुभएको हो । सो पत्र आज मात्रै अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको हो ।
सडक विभागका अनुसार चिडियाखोला छेउबाट शुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुग्नेछ । स्थानीय दोभान सडकखण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने सुक्खा र ढुङ्गे पहिराका कारण उक्त सडकखण्ड भएर यात्रा गर्नेले दैनिक सास्ती भोग्दै आएका छन् । सडक विभागका प्रवक्ता सापकोटाले अर्थको स्वीकृतिपछि सो सडकखण्डमा सुरुङमार्ग निर्माणका लागि काम शुरु हुने र डिपिआरले तय गरेका आधारमा प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
“हाम्रो मागअनुसार नै अर्थले स्वीकृत दिएको छ, स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको समस्या समाधानका लागि यो महत्वपूर्ण र खुशी दिने विषय हो”, प्रवक्ता सापकोटाले भन्नुभयो । देशको एक प्रमुख र व्यस्त राजमार्गको सडकमा स्थानीयवासीले भोग्दै आएको हैरानी र क्षतिको न्यूनीकरणका लागि सुरुङमार्ग नै उत्तम र भरपर्दो विकल्प देखिएको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत देशका विभिन्न स्थानमा सुरुङमार्ग निर्माणको अध्ययन शुरु गर्ने कार्यक्रम समावेश गरेको छ ।