जिका भाइरस नेपालमा पनि फैलन सक्ने, सावधानी अपनाउन सुझाव

नेपालमा पनि जिका भाइरस फैलन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । डेंगी सार्ने लामखुट्टे र जिका भाइरस सार्ने लामखुट्टे एउटै हुन्छ । नेपालमा यो वर्ष डेंगीको संक्रमण धेरै भएको र अझै डेंगी सार्ने लामखुट्टे सक्रिय रहेकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिए ।

अहिले भारतको राजस्थानमा १ सय ५९ जनामा जिका भाइरसको संक्रमण देखिएको ब्रिटिस मेडिकल जर्नल ‘ग्लोबल हेल्थ’मा प्रकाशित भएपछि नेपालमा पनि खुला सिमानाका कारण त्यसको संक्रमण हुन सक्ने उनको भनाइ छ । यस्तै भारतका अन्य ठाउँमा पनि जिका भाइरसको संक्रमण देखा परेको छ ।



भारतमा जिका भाइरस आइसकेकाले नेपाल यो रोगको उच्च जोखिममा भएको र जिका परीक्षण गर्नमा ढिलाइ गर्न नहुने डाक्टर पुनको भनाइ छ । जिकाका लक्षण पनि डेंगीसँग मिल्दोजुल्दो हुने उनको भनाइ छ । एडिस जातको लामखुट्टेले टोकेको ३ देखि १४ दिनमा जिकाका लक्षणहरू देखिने गर्छन् । लक्षणहरू डेगीसँग मिल्दोजुल्दो हुने भए पनि कडा नहुने भएकाले धेरैले यसप्रति ध्यान नदिने गरेको उनले बताए ।

विषेशगरी गर्भवती अवस्थामा जिका संक्रमण भएमा जन्मने बच्चाको टाउको सानो हुने तथा स्नायु प्रणालीमा तत्काल वा दीर्घकालीन प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएको उनको भनाइ छ । जिका भाइरसको संक्रमण हुँदा सामान्य ज्वरो आउने, जीउ र जोर्नी दुख्ने, टाउको दुख्ने, आँखा रातो हुने लगायतका लक्षण देखिने डाक्टर पुनले बताए ।

नेपालले पनि केही वर्ष अगाडि ब्राजिलमा जिकाको महामारी फैलिएको बेला परीक्षण सुरु गरेको थियो तर त्यसले निरन्तरता भने पाउन सकेन ।

सम्बन्धित समाचार