कास्की क्षेत्र नं २ निर्वाचन नजिकिँदै गर्दा साना–ठूला दल चुनावी अभियानमा केन्द्रित छन् । चुनावका लागि केन्द्रीय तहका नेताको पोखरा आगमन बढिरहेको छ । ठूला दलका शीर्षनेताका गरमागरम भाषणका समाचारले सञ्चारमाध्यममा दोहोरी चलिरहेको सन्दर्भमा विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा भने ‘साधारण मान्छेको असाधारण’ राजनीति भन्दै गुलाफ चिह्न लिएर मतदातामाझ पुगिरहेकी छिन् ।
सामाजिक विभेद र विसङ्गतिका विरुद्ध खुलेर आवाज उठाउने शर्मा महिला अधिकारकर्मीका रूपमा परिचित छिन् । विशेषगरी सामाजिक मनोपरामर्शदाताका रूपमा आफ्नो परिचय स्थापना गरेकी शर्मा सामाजिक परिवर्तनका लागि राजनीति आवश्यक रहने भन्ने चेतले आफूलाई उम्मेदवार बन्न प्रेरित गरेको बताउछिन् ।
“म ताँतीका ताँती कार्यकर्ता र घाँटीभरिको माला भिरेर उम्मेदवार बन्न रुचि राख्दिन, परिवर्तनको झिल्का सानोबाट शुरु हुन्छ, म साधारण मान्छेको असाराधारण राजनीतिबाट यसलाई सम्भव तुल्याउने अभ्यासमा छु”, शर्माले भनिन् । “हाम्रो परम्परागत राजनीतिक अभ्यास कस्तो भयो, आजसम्म के पायौँ र अब के पाउँछौँ भनेर मूल्याङ्कन गर्ने सही समय आएको छ । अब उपनिर्वाचनबाट जनताले असल नेतृत्व छान्ने छन् ।”
समाजशास्त्र र मानवशास्त्रमा एवं ग्रामीण विकासमा स्नातकोत्तर ३२ वर्षीया शर्मा कानूनमा पनि स्नातक हुन् । उनले प्रारम्भिक शिक्षा बाँके कोहलपुरबाट प्राप्त गरेकी थिइन् । आफ्नो शिक्षा र विशेषज्ञताले सांसदका रूपमा आफू योग्य हुने उनको जिकिर छ । “अबको राजनीति कुनै वाद र तन्त्रविरुद्ध वा प्राप्तिको निम्ति होइन । अबको राजनीति भनेको गरीबी, अशिक्षा, भ्रष्टाचार, असमानता र परनिर्भरता विरुद्ध हो, यसका लागि युवा जमात अगाडि आउनैपर्छ”, उनले भनिन् । अब सामाजिक रुपान्तरणका लागि स्वच्छ र इमान्दार व्यक्ति राजनीतिमा आउनुपर्ने मतदाताको आवाजले पनि आफूलाई उत्साहित बनाएको शर्माको भनाइ छ ।
“हामी खरायो दौडमा होइन, कछुवा दौडमा छौं, अहमताको राजनीतिले चर्को आवाज निस्के पनि सेतीजस्तै सुस्ताइरहेका हाम्रा आवाज परिवर्तनका लागि गन्तव्य खोजेर बगिरहेका छन्”, शर्मा भनिन् ।
पोखरा लेकसाइडकी शर्मालाई सघाउन केन्द्रदेखि युवा नेत्री रञ्जु दर्शना मुख्य प्रचारकका रुपमा कस्केली जनतामाझ छिन् । युवा पुस्तामा राजनीतिक चेतको विकास गरेर राजनीतिमा नयाँ धारलाई स्थापित गर्ने लक्ष्य पनि विवेकशीलले लिएको पार्टी नेताहरुको भनाइ छ । पार्टीको सङ्घीय पदाधिकारीमा ५० प्रतिशत महिलालाई विधानमै सुरक्षित गरेकाले पनि राजनीतिप्रति महिलाको रुचिलाई विवेकशील पार्टीले तान्न खोजेको देखिन्छ । युवालाई राजनीतिमा प्रवेश गराउन केही हदसम्म विवेकशीलले प्रयत्न गरेको छ । अहिले पनि हातमा गुलाफ फूल लिएर मतदातामाझ पुग्ने अधिकांश युवामा महिला देख्न सकिन्छ ।