प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएका ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको हो ।
एपेन्डिसाइटिस भएपछि अस्पतालले प्रधानमन्त्री ओलीको अपरेसनको तयारी गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा। अरुण सायमीले अपरेसनका लागि तयारी भइरहेको जानकारी दिए ।
के हो एपेन्डीसाइटिस ?
दाहिने कोखाभन्दा अलिकति तल रहने एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ । यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो । समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार शुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पनि पुर्याउन सक्छ ।
केही भाइरसको संक्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन् र यसरी सुन्निएको कोषमा ब्याक्टेरिया जस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप संक्रमण गराउदँछन् अनि एपेन्डिसाइटिस हुन्छ । एपेन्डिक्स ठूलो आन्द्रासँग सिधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिसा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको संक्रमण गराउन सक्दछ ।
एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो । कब्जियतका बिरामीले दिसा खुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ ।
यी माथि उल्लेख गरिएका कुनै पनि कारणले गर्दा एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरका कारणले गदाए त्यहाँको चापमा वृद्धि हुन जान्छ । चापमा भएको बृद्धिले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँदछ । रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन ठूलो हुँदै आफ्नो आकारमा वृद्धि गर्न थाल्दछ ।
जसले गर्दा रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ अनि विस्तारै कुहिन शुरु गर्दछन् । शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को विकल्प छैन ।
एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने यसले हाम्रो पेटमा रहेको आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रालगायतलाई ढाकेर राख्ने तन्तुको एक तह जसलाई पेरिटोनियम भनिन्छ, त्यसलाई फुटाई दिन सक्छ । यदि त्यस्तो भएमा संक्रमण शरीरभरि फैलिएर अवस्था चिन्ताजनक पनि बनाउन सक्छ ।
यदि पेरिटोनियम पनि फुटेमा आन्द्राभित्रको गुह्य तत्व बहिर निस्कन्छ अनि जटिल प्रकारको संक्रमण हुन्छ । कहिलेकाँही आन्द्राको वरिपरी आएर आन्द्रा वरिपरी रहेको ओ मेन्टअ्म भन्ने बोसोले ढाकेर संक्रमण हुनबाट रोक्छ । यसलाई अप्पेन्डिकुलर लम्प भनिन्छ ।
यसले पिपलाई अन्यत्र सर्नबाट रोक्छ । अस्तो भएमा तुरुन्त शल्यक्रिया गर्न पर्दैन । तर चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनु पर्छ । अनि बिस्तारी संक्रमण निर्मुल भएपछि शल्यक्रिया गर्नु पर्छ ।