कांग्रेसलाई पुनर्जीवन दिन नेतृत्व हस्तान्तरण हुनुपर्छ

नेपाली कांग्रेस देशमा लामो इतिहास बोकेको राजनीतिक पार्टी हो । राणाकाल, पंचायत हुँदै बहुदलसम्म, लोकतन्त्रदेखि गणतन्त्रसम्म लडेको पुरानो पार्टी हो । विभिन्न परिस्थिति र कालखण्डमा जनता र देशका लागि लडदै आएको पार्टी भएकै नाताले जनताले पनि पटक पटक आफ्नो अमूल्य मत दिएर मुलुकको ठूलो पार्टी बनाएकै हुन् । बिपी, गणेशमान, गिरीजाप्रसाद कोइराला हुँदै आज शेरबहादुर देउवासम्म आइपुग्दा कांग्रेस विभिन्न गुट उपगुटबाट आक्रान्त छ । यसले कांग्रेसको ऐतिहासिक गरिमा स्खलित मात्र भएको छैन, क्रमशः जनविश्वास पनि गुमाउँदै छ । यो स्थिति नेपाली कांग्रेसमा आस्था राख्नेहरूका लागि त पीडाको विषय हुँदै हो, लोकतन्त्रप्रति विश्वास राख्नेहरूका लागि पनि चिन्ताको विषय हो ।

कांग्रेस पार्टीभित्रको गुटबन्दी केन्द्रीय तहदेखि क्रमशः स्थानीय तहसम्म पुगेको अवस्था छ । पार्टीभित्रको गुटबन्दी र हुर्कंदै गएको स्वार्थ समूह इमान्दार कार्यकर्ताहरूका लागि चिन्ताको विषय बनेको छ । अब त पार्टी राम्रो होला कि भनेर एउटा सक्षम, समुन्नत र संगठित कांग्रेसको सपना देख्ने गरेका जनताहरू पार्टीभित्रको नौटङ्की देखेर निराशा मात्र बनेका छैनन्, एउटा कुसल समन्वयकर्ताको खोजीमा पनि छन् जसले सिङ्गो कांग्रेस पार्टीलाई सम्भावित दुर्घटनाबाट बचाउन सकोस् ।



के नेपाली कांग्रेसभित्र कुसल संगठकको अभाव भएकै हो ? के वर्तमान नेतृत्व कांग्रेसलाई सम्भावित दुर्घटनाबाट बचाउन सक्षम छ ? के विभिन्न गुट–उपगुटमा विभक्त कांग्रेस अब एक हुन सक्तैन ? के समयका चुनौतीलाई हाँक दिन सक्ने नेता काँग्रेस पार्टीमा छैनन्  ? के स्वर्णिम इतिहास बोकेको कांग्रेस पार्टी नेतृत्वको असक्षमताका कारण अवसान हुनै लागेकै हो ? यस्ता निर्मम प्रश्नहरू बोकेर इमान्दार कार्यकर्ताहरू नेतृत्वतिर फर्केर आशाको नजरले हेरिरहेका छन् ।

तस्विरमा लेखक नवराज घिमिरे

नेपाली काँग्रेस पार्टीको नेतृत्व शेरबहादुर देउवाको काँधमा छ । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा ४९ वर्षका थिए । कांग्रेसमा बीपीपछि युवा अवस्थामै प्रधानमन्त्री बन्ने भाग्यशाली व्यक्ति उनै हुन् । देउवा आफै पनि कर्ममा भन्दा भाग्यमा विश्वाश गर्छन् । ज्योतिषिले ६ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको उनी बेलाबखत पार्टी–पङ््तिमा सुनाउने गर्दछन् । हाल उनी ७४ बर्षका भए, अझै पनि उनी पार्टी–सत्ता हाँकिइरहेका छन्, र अझै दोस्रो कार्यकालका लागि पार्टी नेतृत्व हात पार्ने ध्याउन्नमा लागिपरेका छन् ।

एउटा सबल, सुदृढ र ऊर्जाशील पार्टी बनाएर युवा नेतृत्वलाई पार्टीको बागडोर सुम्पने तयारी गरेको भए देउवाको उचाइ अझ बढ्ने थियो । एउटा राम्रो नजीर पनि बन्ने थियो । कोइराला परिवारबाट देउवामा नेतृत्व पुग्दा धेरैले अब केही हुन्छ भन्ने ठानेका थिए र स्वयम् शेरबहादुर देउवाले पनि कार्यकर्तालाई धेरै सपना देखाएका थिए । आम भोटर र कार्यकर्तालाई अब केही होला कि भन्ने पनि लागेको थियो तर उनले आफ्नो पहिलो कार्यकालमा पार्टीलाई न सुदृढ र सबल बनाउन सके, न आफ्नो असक्षमतालाई स्वीकार गर्दै नेतृत्व सुम्पने आँट देखाए । बरू नेतृत्व दोहोर्याएर ८० वर्षसम्म पार्टीको नेतृत्वमा बसिरहने सोचले क्रियाशील बनिरहेको देखियो । यदि त्यसो भए त्यो कांग्रेस पार्टी र स्वयम् देउवाका लागि पनि सुखद् हुनेवाला छैन ।

देउवाको कार्यकालमा पार्टी सबैभन्दा कमजोर बनेको, प्रतिपक्षीको भूमिकामा पनि सबल नदेखिएको, चर्चा गर्न योग्य एउटै काम नभएको भन्दै दोस्रो र तेस्रो पुस्ताका नेताहरू देउवाको कार्यशैलीको बिरोध गर्दै आएका छन् । बाहिरी कुरा त के, आफू नेतृत्वमा आएपछि महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरू पनि उनले अहिलेसम्म गठन गर्न सकेका छैनन् । भातृ संस्थाहरुलाई नेतृत्वविहीन बनाएको आरोप उनीमाथि छ । अहिले उनले १७ वटा केन्द्रीय विभाग थप्ने प्रस्थावसमेत ल्याएका छन् । त्यसो हुने हो भने विभिन्न गुट उपगुटमा विभाजित कार्यकर्तालाई आफ्नो पक्षमा पार्न अनुकूल परिस्थिति निर्माण हुने उनको बुझाइ हुन सक्छ । र, त्यसैको जगमा उभिएर महाधिवेशनमा जाने रणनीतिक चाल उनको देखिन्छ ।

यतिखेर उनी पार्टीका निकायहरूलाई आफू अनुकूल क्रियाशील बनाउन लागिपरेका छन् । पार्टीका संरचनालाई पूर्णता दिएर मात्रै महाधिवेशन गर्ने उनको योजना छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितको संस्थापनइतर खेमा भने देउवाका यिनै कमजोरीलाई महाधिवेशनको मुद्दा बनाउने योजनामा छन् । आसन्न पार्टी महाधिवेशनमा देउवा सभापतिका उम्मेरद्वार हुन् । १३औ महाधिवेशनबाट सभापति निर्वाचित उनको पहिलो कार्यकाल फागुनमा सकिंदै छ । नियमित महाधिवेशन आगामी फागुनमा हुनुपर्ने भए पनि विधानको सुविधा उपयोग गर्दे देउवाले ०७७ फगुनमा मात्रै माहाधिवेशन गर्ने तयारी गरेका छन् । त्यतिवेलासम्ममा उनी उमेरले ७५ कटिसकेका हुनेछन् । दोस्रो कार्यकाल सकिँदा देउवा उमेरले ८० पुग्नेछन । त्यही भएर इतरपक्षका नेताहरु उनलाई दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न दवाब दिइरहेका छन । ४ पटक प्रधानमन्त्री र एकपटक पार्टी सभापति भइसकेका मान्छे अब फेरि केका लागी चुनाव लड्ने ? अर्का नेता शेखर कोइरालाले एक कार्यक्रममा बोल्दै सुझाब दिए, देउवा र उनका समकक्षी रामचन्द्र पौड्यालले अब उत्तराधिकारी खोज्नपर्छ र दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।

तर यसो गर्दा उनको पुनः प्रधानमन्त्री बन्ने सपना तुहिन सक्छ । देउवा पार्टी सभापति भएर अझै एकपल्ट मुलुकको प्रधानमन्त्री बन्ने आशामा छन् । संस्थापनमा देउवको उत्तराधिकारी बन्न उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार अग्रसर रहेका छन् । संस्थापन इतरखेममा देउवालाई चुनौती दिन उनकै समकक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल अग्रभागमा छन् । उनी देउवाभन्दा एक वर्ष जेठा अर्थात् हजुरबुबा पुस्ताका नेता हुन् । महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पुर्व महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि देउवालाई चुनौती दिने लाइनमा छन् तर बाजी कसले मार्ने हो, सबैलाई प्रतीक्षाको विषय बनेको छ ।

संस्थापन इतरपक्षको सर्वसम्मत हुने वातावरण नबनेकोले देउवालाई थप उत्साहित भएका हुन सक्छन् । देउवाका निकट मानिने नेता मीन विश्वकर्माका अनुसार– ‘फेरि देउवा नै किन रु भन्ने प्रश्न संस्थापन पक्षभित्रै उठ्ने गरेको छ । भरपर्दो उत्तराधिकारी नपाएरै देउवाले आफै उठ्न खोज्नुभएको हुन सक्छ ।’

पार्टीले गत प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय निवार्चनमा पराजय भोगेपछि चन्द्र भण्डारी, गगन थापा, प्रदिप पौडेल, धनराज गुरुङ्घ र गुरुराज घिमिरेलगायत युवा नेताहरू नेतृत्व परिवर्तन नभई पार्र्टी सुधार नहुने निचोडमा पुगेका थिए । उनीहरूले नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नभएकाले पार्टी जमेको पोखरीमा परिणत भएको लिखित धारणा केन्द्रीय कार्यसमिति र महासमिति बैठकमै राखेका थिए । उनीहरूले यथास्थितिमा संगठन कसरी चलाएमान हुन्छ रु भनेर प्रश्न उठाएका थिए । त्यसैले पनि नेतृत्वलाई निरन्तरता दिन खोज्नु भनेको जनादेश र मतादेशलाई नबुझनु नै हो । नेपाली कांग्रेस पार्टीभित्र रक्त सञ्चार गर्न पनि नयाँ नेतृत्वको खोजी गर्नु समयको माग हो ।

सम्बन्धित समाचार