आशा भोसले भन्छिन् – “नेपालमा जस्तो यस्तो स्वागत कहिल्यै देखेकी थिइन”

भारतीय चर्चित गायिका आशा भोसलेले थुप्रै नेपाली गीत गाइन्। उनका एकपछि अर्को नेपाली गीत निकै लोकप्रिय रहे। नेपालीलाई थुप्रै कालजयी गीत दिएकी उनै आशा नेपाल आएर भने पहिलोपटक गुञ्जिइन्। दोस्रोपटक नेपाल आएकी आशाले नेपालमा पहिलोपटक सांगीतिक प्रस्तुति दिएकी हुन्।

पुस महिनाको चिसो मौसममा शनिबार साँझ राजधानीको सोल्टी होटल आशाका कालजयी गीतमा गुञ्जाएमान रह्यो। यो माहोल मिलाएको थियो, साधना कला केन्द्र पुलतीसडकले। कार्यक्रम थियो, ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’।



खासमा आशालाई नेपाली सुगम संगीतमा ल्याउने संगीतकार गजमेर नै हुन् । उनैको सम्पर्क र सम्बन्धबाट नेपाली संगीत क्षेत्रले आशाको सुमधुर स्वर पाएको थियो । रञ्जितले संगीत भरेका सयौं नेपाली गीत कालजयी छन्। शुरुवातमा रञ्जितका संगीतबद्ध गीतमा तीन दर्जन बढी गायक–गायिकहरूले प्रस्तुति दिएका थिए।

सात बजेपछि जब आशा स्टेजमा उक्लिईन्, दर्शकदीर्घाबाट ताली र सिट्ठीको गडगडाहट शुरु भयो। शुरुवातमा उनले नेपाल र नेपालीप्रति व्यङगात्मक गुनासो गरिन्। उनको गुनासो आफूलाई ढिलो गरी नेपाल बोलाइएकोमा थियो।

उनले व्यङग्य कस्दै बोलिन्,–‘अहिले म ८६–८७ वर्षको उमेरमा छु। काठमाडौँमा ओर्लदै गर्दा म सोच्दै थिएँ, नेपालले मलाई यति चाँडो किन बोलाएको होला ? दुई चार वर्ष अझै ढिला गरेको भए त मलाई बोलाउन माथि नै आउनुपर्थ्यो।’ उनले यति भन्नासाथ हल हाँसोले गुञ्जियो ।

उनले आफूलाई नेपाल असाध्यै मनपर्ने बताउँदै यहाँको जस्तो स्वागत र सत्कार आफूले कहिल्यै नदेखेको बताईन्। उनले भनिन्, –‘अहिले आउँदा विमानस्थलबाट बाहिर मैले जुन खालको सम्मान र सत्कार देखें यस्तो सत्कार कहिल्यै देखेकै थिइन।’ उनले नेपालसँग आफ्नो धेरै प्रेम भएपनि नेपाली भाषा सिक्न भने नसकेको बताईन् ।

नेपाल र भारतमा धेरै कुरामा समानता रहेको भोसलेले बताईन्। ‘नेपालीमा स्वागतलाई के भन्छन् रु’ दर्शकले स्वागत नै भन्छन् भनेपछि आशा बोलिन्, ‘स्वागतलाई नेपालीमा पनि स्वागत नै भन्छन् भने नेपाल र भारतमा के फरक भयोरु हाम्रो भाषामा समानता छ। धर्ममा समानता छ। नेपालमा पशुपतिनाथ छन् भारतमा ज्योतिर्लिङग छ ।’

आशाले पहिलोपटक गाएको नेपाली गीत ‘झरी बनी आएछ सावन‘’हो। संगीतकार रञ्जित गजमेरको आग्रहमा आशाले नेपाली गीत गाएकी हुन्। त्यसयता नेपालमा आशाको माग र क्रेज दुवै लोभलाग्दो रहँदै गयो। शनिबार साँझ आशाले उनै सङ्गीतकार रञ्जितका पुराना गीतहरू गाउँदै उपस्थितलाई मन्त्रमुग्ध बनाईन् ।

‘झझल्को लिएर’ बाट गाउन सुरु गरेकी भोसलेले ‘किन बढ्दैछ ढुकढुकी मुटुको।।’, ‘डाँडा खोला‘’ गाईन् भने गायक रामकृष्ण ढकालसँग ‘मोहनी लाग्ला है’ गाइन् । त्यस्तै ‘आगे आगे तोपैको गोला’बोलको गीतले हलको माहोल संगीतमय बनाईन्। उनले हिन्दी गीत‘दम मारो दम’ पनि गाएकी थिइन्।

भोसलेको प्रस्तुतिमा गायक ढकालसँगै सङ्गीतकार स्वयम् रञ्जित गजमेर, भोसलेकी नातिनी जुनाई भोसले र थुप्रै वाद्यवादकहरूले साथ दिएका थिए। संगीतकार गजमेरकै आग्रहमा गत बुधबार नेपाल आएकी आशाले उनीसंगको सम्बन्धबारे भनिन्, –‘उसलाई म कान्छा भनेर बोलाउँछु । गजमेर वा यो–त्यो केही जान्दिनँ। उसले बोलाएपछि म नेपाल आएकी हुँ ।’

कार्यक्रममा नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानका लागि भोसलेसहित संगीतकार गजमेरलाई सम्मान पनि गरिएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुनले दुवैलाई ताम्रपत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए। प्रस्तुतिपछि गायिका भोसलेले उपस्थित संगीतकार तथा वाद्यवाधकले निकै राम्रो बजाएको बताइन् ।

‘यहाँ उपस्थित संगीतकारहरु निकै राम्रो हुनुहुन्छ । निकै राम्रो बजाउनुहुन्छ । मलाई लाग्थ्यो मुम्बईका संगीतकारहरु निकै राम्रो छन् । मेरो त्यो भ्रम आज तोडिएको छ । यी संगीतकारहरु विश्वस्तरीय संगीतकारहरु जत्तिकै छन् । तपाइँहरु सबैलाई मेरो आशीर्वाद छ। तपाइँहरु यस्तै बजाउँदै रहनुहोला ।’

गायिका आशा सोमबार भारत फर्किनेछिन्।

सम्बन्धित समाचार