‘सामाजिक सञ्जालको नियमन आवश्यक’

सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकारलगायतले युट्युबलगायतका सामाजिक सञ्जालले समाजमा नकारात्मक कुरालाई बढावा दिएको भन्दै यसको नियमन आवश्यक भएको औंल्याएका छन् ।

सञ्चारिका समूहले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले सामाजिक सञ्जालको नियमनको आवश्यक भएको बताएका हुन् । नेपाल दूरसञ्चार संस्थानका अध्यक्ष पुरुषोत्तम खनालले सामाजिक सञ्जालको सबैभन्दा बढी असर बालबालिका र किशोरकिशोरीमा परिरहेको बताए ।



सूचना प्रविधि ऐन पास भएपछि यसले सामाजिक  सञ्जाललाई नियमन गर्ने उनले बताए  ।  उनले भने, “परिवारका सदस्यहरु एकै ठाउँमा बसिरहँदा पनि आ–आफ्नै मोबाइलमा इन्टरनेटमा व्यस्त हुने समय आएको छ ।”

राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले युट्युबका सञ्चालक आफूले प्रशारण गर्ने विषयप्रति संवेदनशील हुनुपर्ने बताइन् । आफ्ना सामग्री परिवारका सदस्यले हेर्दा त्यसको असर के पर्न सक्छ भन्ने विचार गरेर मात्रै सामग्री प्रशारण गर्नुपर्ने उनको सुझाव छ । उनले भनिन्, “भ्युअर बढाउनकै लागि जथाभावी कुरा प्रसारण गर्नु हुँदैन ।”

अग्रज पत्रकार बबिता बस्नेतले मिडिया काउन्सिल ऐनमा नियमनकारी निकायको समेत व्यवस्था हुने भएकाले सामाजिक सञ्जालमा रहेका विकृति हट्ने बताइन् ।

सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थीले समूहले मिडियामा पत्रकार महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धिको विषयसँगै लैङ्गिक समानताका पक्षमा वकालत गर्दै आएको बताइन् । कार्यक्रममा सहभागी युट्युब सञ्चालकले पनि यसलाई नियमन गर्न कानून आवश्यक भइसकेको औँल्याएका थिए ।

सम्बन्धित समाचार