दुरी बढ्यो ओली-प्रचण्डको, सभामुखमा सहमति नहुँदा संसद बैठक अनिश्चित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय दुरी बढेको छ । राष्ट्रपति विद्या भण्डारीलाई सरकारको कार्यकारी अधिकार दिएर उपचारका लागि अमेरिका जान लागेको विषयलाई लिएर ओलीसँग प्रचण्ड रुष्ट बनेका थिए । त्यसमाथि पनि पूर्व माओवादीको खातामा रहेको सभामुख पदमा पनि सुवास नेम्माङलाई ल्याउन खोजेपछि प्रचण्ड ओलीसँग थप रुष्ट बनेका हुन् । आफू विरामी हुँदा प्रचण्ड सक्रिय भएर पार्टीभित्र आफ्नो पक्षमा माहोल सिर्जना गर्न सफल हुने त्रासमा रहेका ओली प्रचण्डका प्रत्येक प्रस्ताव अस्वीकार गरेर किनारामा पार्न चाहन्छन् । सभामुख प्रकरणलाई यसकै एउटा कडी मान्न सकिन्छ ।

पछिल्लो समय ओली र प्रचण्डको सम्बन्ध जोगीसँग भैसी डराएको र भैसीसँग जोगी डराएजस्तो भएको छ । उपचारको क्रममा ओली लामो समय आराम गर्नुपर्ने हुनसक्ने भएकोले पदबाट राजीनामा दिएर उपचारमा लाग्न पूर्व माओवादी खेमाका केही नेताहरुले दिएको सुझावमा ओलीले प्रचण्डको स्वार्थ देखेका छन् । आगामी निर्वाचनको मतपरिणाम नआउदासम्म ओली नै प्रधानमन्त्री रहने र प्रचण्डले पार्टी हेर्ने सहमति भए पनि आफ्नो स्वास्थ्य अवस्थालाई बाहाना बनाएर प्रचण्ड प्रधानमन्त्री बन्न चाहेको ओलीको बुझाइ छ । त्यसैले ओलीले राष्ट्रपतिलाई अगाडि सारेर भए पनि प्रचण्डलाई साइजमै राख्न चाहेका छन् ।



ओली प्रचण्डबीच सभामुख चयन र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र राष्ट्रपतिको सक्रियतालाई लिएर दुरी बढ्दा नेकपा नै अप्ठ्यारोमा परेको छ । दुई अध्यक्ष यस विषयमा एक मत नहुँदा आइतबारको सचिवालय बैठकमा यस विषयले प्रवेश पाउन सकेन ।

पार्टी एकता हुने बेला सभामुख पद पूर्व माओवादी खेमाले लिएको र अहिले पनि पूर्व माओवादी खेमाले नै सभामुख पाउनु पर्ने पूर्व माओवादी नेताहरूको धारणाा छ । तर, ओली त्यस पक्षमा नरहेको बताइएको छ । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग सभामुखको नाम प्रस्ताव गर्न आफूले पाउनु पर्ने बताएपछि यस विषयले बैठकमा प्रवेश नपाएको हो ।

संसद सचिवालयमा कार्यरत एक महिला स्वास्थ्यकर्मीले यौन दुराचारको आरोप लागेपछि असोज १४ गते कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि अहिले सभामुख पद रिक्त छ । एक साताअघि बसेको स्थायी समिति बैठकले सचिवालय बैठकबाट सभामुखको उम्मेद्वार चयन गरिने निर्णय गरेको थियो । तर, स्थायी समिति बैठकपछि पहिलो पटक आइतबार बसेको सचिवालय बैठकमा यसबारेमा छलफल नै हुन सकेन ।

नेकपाले अर्को बैठक आउँदो बुधबारका लागि तय गरेको छ । उक्त बैठकमा पनि सभामुखबारे कुनै छलफल हुने सङ्केत नदेखिए बैठक सर्न सक्ने सम्भावना पनि उत्तिकै छ । नेकपाले सभामुख कसलाई बनाउने भन्ने बारे निर्णय नगर्दा संसद बैठक अनिश्चित बनेको छ । दुई दिनअघि शुक्रबार तय भएको प्रतिनिधिसभाको बैठक पनि नेकपाले सभामुखको उम्मेद्वार तय गर्न नसक्दा सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

यता नेकपाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न दवाव दिए पनि उपसभामुख तुम्बाहाङ्फेले भने आफूलाई सभामुख बनाउने प्रतिबद्धता नजनाएसम्म उपसभमुखबाट राजीनामा नदिने अड्डी कस्दै आएकी छन् । राजीनामा नै दिन पर्ने भए आफू के कारणले सभामुख बन्न अयोग्य हो त्यो नेतृत्वले भन्नुपर्ने भन्दै उनले पार्टीलाई अप्ठ्यारो पारिरहेकी छन् ।

बैठकमा यसअघि तय भएका एजेन्डामा छलफल नभए पनि प्रदेश ३ को नाम र राजधानीका विषयमा भने निर्णय भएको छ । बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी अहिले रहेकै हेटौंडा कायम गर्न प्रदेश सभा दल र प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ । उद्दपी पार्टीको यो निर्णयलाई लिएर नेकपाकै अधिकांश सांसद्हरुले असन्तुष्टि जनाईरहेका छन् ।

सम्बन्धित समाचार