नेपाली सभ्य समाजका लागि मानव बेचबिखन एउटा कलङ्क र अभिशाप बन्दै गएको छ । नेपाली समाजमा मानव बेचबिखन घट्नुका साटो पछिल्लो समय बढ्दै गएपछि सामाजिक व्यवस्थामाथि नै प्रश्न चिह्न खडा भएको छ भने सरोकारवाला निकायलाई यसले ठूलो चुनौती थपिदिएको छ ।
नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा गत एक वर्षको अवधिमा ८६९ महिला हराएको भन्दै खोजीका लागि निवेदन पर्नुले मानव बेचबिखन अब सतही विषय नभएको प्रष्ट भएको छ । बेचिएको तुलनामा उद्धारको प्रतिशत अत्यन्तै न्यून हुनु यसको अर्को दुःखद् पक्ष हो ।
माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, उक्त अवधिमा हराएकामध्ये अहिलेसम्म २९७ जना मात्र फेला परेको छन् । त्यस अवधिमा बाँकेको नेपाल–भारत सीमानाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ८९६ जनालाई परामर्श दिएर घर फर्काइएको थियो भने भारतमा यौन शोषणमा परेका सात जनाको माइती नेपाल उद्धार गरेको थियो ।
पछिल्लो समय मानव बेचबिखनको समस्याले विश्वलाई नै गाँजेको छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । पछौटेपन र गरिबीलाई मानव बेचबिखनको मुख्य कारण मानिन्छ । नेपालले पनि यही नियति भोग्दै आएको छ । नेपालमा विशेषतः काम पाउने लोभमा बालबालिका र महिला बेचिने गरेका छन् ।
नेपाल सरकारले भारतको बाटो भएर तेस्रो मुलुकमा रोजगारीका लागि जान रोक लगाएको छ तर, मानव दलालले भने विभिन्न जिल्लाका महिला तथा किशोर अवस्थाका बालबालिकालाई रोजगारीको प्रलोभनमा पारी भारत लैजाने गरेको मानव बेचबिखनविरुद्ध काम गदै आएका सङ्घसंस्थाले बताउँदै आएका छन् । माइती नेपालको तथ्याङ्कअनुसार प्रत्येक वर्ष १० हजार नेपाली महिला भारत र खाडीमुलुकमा बेचिने गरेका छन् ।
नेपालका अन्य सीमावर्ती नाकाजस्तै बाँकेको सीमानाका जमुनहा हुँदै पनि प्रत्येक वर्ष नेपाली महिला र बालबालिकालाई भारत र तेस्रो मुलुकमा लगेर बिक्री गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले केही दिनअघि मात्रै भारतमा बेच्न लिएर लाँदै गरेको अवस्थामा उक्त नाकाबाट ४५ महिलाको उद्धार गरेको थियो ।