शालीनदीको पौराणिक र साँस्कृतिक महत्व छुट्टै छ

काठमाडौंको शंखरापुर नगरपालिको साँखुमा यहि पौष शुक्ल पूर्णिमादेखि एक महिने लामो शालीनदी मेला लाग्दैछ । यही शालीनदीमेलाको सन्दर्भमा र श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिको बारेमा उक्त समितिका निर्वतमान अध्यक्ष राजुभाइ मानन्धरसँग नवकान्तिपुर संवाददात महेश कठायतले गरेको कुराकानीको सम्पादित अंश :

शालीनदी सुधार समितिको अहिलेको समसामयिक अवस्था कस्तो छ ?



पछिल्लो समयमा शालीनदीको अवस्था हेर्दा प्रत्येक वर्ष सुधारोन्मुख छ । मैले शालीनदी सुधार समितिमा रहेर विगत दश बाह्र वर्षसम्म काम गरे । त्यसमा पनि विगतको २ वर्ष त म अध्यक्ष भएर नै काम गरें, यद्यपि त्यो बेला पनि व्यवस्थापनमा केही कमीकमजोरी भयो होला । त्यो बेला यहाँका जनताले जे जस्तो अपेक्षा गरेका थिए, त्यो अनुसारको विकास निर्माणका कामहरू गर्न सकिएन होला । यसका पनि विभिन्न कारणहरू होलान् । शालीनदी सुधार समितिलाई हामीले पछिल्लो केही सात आठ वर्ष यता व्यवस्थित बनाएर अघि बढ्ने भनेर नयाँ समिति बनायौं । हुन त यसमा पहिला पनि सम्पूर्ण ८ वटै टोलहरूको प्रतिनिधित्व हुने गरी नै गरेको थियो तर पछि त्यसलाई अलिकति व्यवस्थित बनायौं ।

पहिले समितिले विकास निर्माणको लागि भनेर करिव ३० लाख चन्दा उठाइएको थियो । त्यसपछि म आइसकेपछि लगभग ४५ लाख उठायौं । दोस्रो वर्षमा पनि करिव ५० लाख उठायौं । र, त्यही अनुसारको हामीले व्यवस्थापकीय क्षेत्रमा पहिलाभन्दा सुधार गर्दै गयौं । जुन बेला मेरो २ वर्षको कार्यकाल थियो त्यो बेला विकास निर्माणकामा लगभग १ करोड २० लाखको हाराहारीमा खर्च भएको थियो ।

गत वर्ष म निर्वतमान भइसकेको अवस्थामा पनि अहिलेका अध्यक्ष (गोविन्दबहादुर श्रेष्ठ) आइसकेपछि पनि हामीले सबै खर्च कटाएर पनि हामीले ६४ लाख कोषमा बचाउन सफल भयौं। जसले गर्दा विकास निर्माणका कार्यहरूमा तीब्रता दिन हामी सफल भयाैं । यसरी समग्रमा हेर्दा अहिलेको अवस्था सुधारोन्मुख नै छ ।

शालीनदीसँग अहिले भौतिक सम्पत्ति के कति छ ?

अहिले एउटा परम्परागत गेट बनेको छ । कलात्मक सिँढी बनेको छ । पोखरीसँगै झर्ना बनेको छ । खोलाको छेउमै १०८ भगवान शिवको मूर्तिहरू राखिएको छन् । गार्डेन बनाइएको छ । केही संरचनाहरू बन्दै छन् । माधवनारायण पार्क बन्दै छ । शङ्ख आकारको चारवटा पोखरीसहितको माधवनारायण स्तम्भ बन्दै छ । यसको जग्गा क्षेत्र पनि करिब १३ रोपनी छ ।

यतिबेला शालीनदी मेलाको पूर्वसन्ध्यामा छौ । शालीनदी मेलाका बारेमा केही बताइदिनुस् न ।

शंखरापुर करिव ३३ सय वर्षभन्दा पुरानो शहर हो । शालीनदीको मेला ठ्याकै यही मितिदेखि शुरू भएको भन्ने नभए पनि धेरै पहिलेदेखि नै शुरू भएको भन्ने विश्वास छ । यो वर्ष शालीनदी मेला यही पुस २५ गतेदेखि शुरू हुदैछ । यो मेला प्रत्येक वर्षको पौष शुक्ल पुर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म एक महिनाको मेला लाग्ने गर्छ । मेला २५ गतेदेखि शुरू भएता पनि हाम्रा ब्रतालुहरूले २४ गते बेलुका नै आएर जल लिएर ब्रत शुरू गर्नुपर्छ ।

समितिले मेलामा कति भक्तजनहरू आउने अपेक्षा गरेको छ ?

मेलाका लागि हामीले विभिन्न हिसाबले ४० लाखसम्म श्रद्धालु भक्तजनहरू आउने अपेक्षा गरेका छौं । यसका लागि हामीले विशेष गरेर तीन कुराहरू सुरक्षा, यातायात र बजारलाई फोकस गरेका छौं । त्यही अनुसार हामीले विभिन्न समिति र उपसमितिहरू बनाएर अगाडि बढ्ने छौं ।

शालीनदी मेलाको धार्मिक महत्व के छ ?

प्रायः माघ महिनामा सबैतिर प्रत्येक हिन्दुहरूको घरघरमा स्वस्थानी कथा वाचन हुन्छ । अहिलेसम्म लुकेर बसेको एउटा कुरा स्वस्थानीको कथाको मौलिकता भनेको साँखुको शालीनदीबाट भएको हो । धेरै पहिले पार्वतीले महादेव स्वामी पाउनका लागि यहीं शालीनदीमा आएर ब्रत बसेको भन्ने किवंदन्ति छ । अहिले स्वस्थानी माताको मन्दिर पनि यही नदीसँगै छ । यहाँ माधवनारायण भगवानको एक महिने मेला पनि लाग्छ । साथै, यो ठाउँमा स्वस्थानी कथाको वाचन हुन्छ । यहाँको यो पवित्र स्थानमा आएर माधवनारायण भगवानको र गंगा माताको दर्शन गर्दा र यो नदीमा स्नान गर्दा आफूले इच्छाएको पूरा हुन्छ भन्ने जनविश्वास पनि रहिआएको छ । र, अर्को कुरा छोराछोरी नभएका बिहे नभएकाहरूले ब्रत बस्दा उनीहरूको पनि इच्छा पूरा भएको पनि छ । यहाँ छोरा नभएका एकजनाले त ब्रत बसिसकेपछि छोरा जन्मेको र उसको नाम नै माधवनारायण राखेको पनि छ ।

यो २०७६ सालको माघ मेला यही पुस २५ बाट शुभारम्भ हुँदै छ । यो मेलाका लागि व्यवस्थापनमा हामीले सम्पूर्ण रूपले उच्चतम व्यवस्थापन गर्नेे प्रयत्न गरेका छाैं । सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई म ढुक्कसँग माधवनारायण भगवानको दर्शन गर्न, स्वस्थानी माताको दर्शन गर्न र शालीनदीमा स्नान गर्न आग्रह गर्दछु । यहाँ सजिलैसँग आउनसक्नु हुन्छ । सहुलियत दरमा खान र बस्नको व्यवस्था पनि रहेको छ । साथै, श्रद्धालु भक्तजनहरूलाई सजिलैसँग फर्किने गरी र पूर्ण रूपमा सुरक्षित महसुस गराउने व्यवस्थापन पनि हामीहरूले गरेका छाैं  ।

 

सम्बन्धित समाचार