नेपालमा एग्रो टुरिजमको सम्भावना छ र हाम्रो लक्ष्य पनि त्यतैतिर छ: अधिकारी

सागर अधिकारी युवा कृषि व्यवसायीको नाम हो । उनी हाल चितवनको रामपुरस्थित कृषि तथा पशु विज्ञान विश्वविद्यालयमा स्नातक तहको अन्तिम सेमिष्टरमा अध्ययनरत छन् । उनका दौंतरीहरू कामको अवसर खोज्दै विदेशतिर पलायन भइसके र कोही जाने तयारीमा छन् । तर २१ वर्षीय अधिकारी भने नेपाली भूमिमा नै सम्भावनाको खोजी गर्दै आधुनिक तरीकाले कृषि पेशामा लागेका मात्र छैनन्, धेरैका लागि उदाहरण पनि बनिसकेका छन् । उनै अधिकारीसँग नवकान्तिपुर डटकमका संवाददाताले गरेको कुराकानी उनकै भाषाशैलीमा प्रस्तुत गरिएको छ ।

मेरो नाम सागर अधिकारी हो । म अहिले २१ वर्षको भएँ । म अहिले चितवन रामपुरमा कृषि तथा पशु विज्ञान विश्वविद्यालयमा व्याचलर लेभलको अन्तिम सेमिस्टरमा पढ्दै छु । कलेज पढ्नेक्रममा र कृषिविज्ञान पढेकै आधारमा पढ्दा पढ्दै आफूले प्राप्त गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न के कति सम्भव रहेछ भनेर परीक्षण गर्न पनि म यतातिर आकर्षित भएँ । गुरुहरूले स्कुल कलेजमा दिएकोे ज्ञानलाई व्यवहारमा उतार्न सकिन्छ कि सकिन्न भनेर पनि यो पेशा अँगालेको हुँ । यो एकीकृत फार्म हो । यसमा पशुपालन, कृषि र फलफूल सबै हुन्छ ।



विदेशमा गएर अरूको काम गर्ने मेरो उद्देश्य थिएन । स्वदेशमा नै केही गर्न सकिन्छ भनेर देखाउन तथा नेपालमा केही अवसर छैन भनेर विदेश जाने साथीहरूका अगाडि उदाहरण बन्न पनि मैले यो पेशा रोजेको हो र अहिले आफ्नो निर्णयप्रति गर्व पनि लाग्छ । आफूले कृषिविज्ञान नै पढेकोले पनि यस पेशामा आउँन म प्रेरित भएँ । मलाई रमाइलो पनि लाग्दै गयो । खासमा मलाई किताबी ज्ञानले नै प्रेरणा दियो भन्दा हुन्छ । किताबमा पढेको कुराराई व्यवहारमा उतार्न पाएँ र यो क्रम जारी छ ।

हामीसँग अहिले ४ विघा जग्गा छ । त्यसलाई वैज्ञानिक तरिकाले उपभोग गर्ने योजना बनाएका छौं । अहिले हामीसँग बाख्राका लागि गोठ तयार भइसकेको छ । लगभग २ विघा जतिमा घाँस र अन्नवाली उत्पादन गर्ने र त्यो आफैंले पालेका गाई–बाख्रालाई नै ख्वाउने र बाँकी रहेको २ विघा जग्गामा मौसम अनुसारको फूलहरू र तरकारी लगाउन योजना छ । त्यही अनुसार नै त्यो जग्गालाई वर्गीकरण गरिएको छ ।

अहिले हामीसँग ७ वटा गाईहरू छन् । हाम्रो लक्ष्य भनेको ३० वटा गाई पाल्ने छ र त्यही अनुसारको गोठ पनि बनिसकेको छ । बाख्राको खोर अहिले पूरा भएको छैन् । ३५० बाख्रा राख्न सक्ने क्षमताको खोर पूरा हुने अवस्थामा छ ।

मैले यो पेशामा काम गर्दै जाँदा एउटा नयाँ कन्सेप्ट पनि आएको छ । त्यो के भने अबको दुई-चार वर्षपछि एग्रो टुरिजमको रूपमा विकास गर्ने र युथ एक्सचेन्ज प्रोगाम गर्ने योजना छ ।

कृषि नै पढेकोले पनि म यो पेशामा आबद्ध भएँ । अर्को कुरा घरपरिवारबाट पनि यस पेशालाई नै निरन्तरता दिन साथ, सहयोग र सल्लाह पाएँ । नेपालमा सबैभन्दा राम्रो र सजिलो पेशा पनि मलाई यही लागेकोले पनि यस पेशामा नयाँ तरीकाले केही गरौं भनेर लागेको हुँ । आजसम्मको अनुभवमा म उकदम सकारात्मक छु । ठीकै गरेँछु भन्ने लागेको छ ।

शिक्षित भएर पनि बेरोजगार भएकाहरूलाई म बेरोजगार भएँ भनेर नआतिनुहोस् भन्न चाहन्छु । नेपालमा धेरै कृषियोग्य जमिन खालि छ । कृषि पेशामा लागेर के हुन्छ र भन्ने नकारात्मक सोच त्याग्न सके यही माटोमा सुन फल्न सक्छ भनेर सल्लाह दिन चाहन्छु । तर कृषिमा परम्परागत शैलीभन्दा पनि आधुनिक शैली अपनाउनुहोस् भन्न चाहन्छु । सरकारले पनि कृषिलाई प्राथामिकता दिएको छ । त्यसैले गर्न सक्ने हो कृषि पेशामा नै लागेर पनि मनग्य आम्दानी गर्न सकिन्छ । यो मेरै अनुभव पनि हो ।

मलाई यो पेशामा लाग्न र यसैबाट केही गर्न सकिन्छ भनेर प्राडा भोजराज अर्याल सरले धेरै नै सहयोग र उत्पे्ररणा दिनुभएको छ । हामी नजिकै नभए पनि टाढाबाट पनि सरले मलाई साथ सहयोग दिइरहनु भएको छ । उहाँप्रति म धेरै आभारी पनि छु र यसै प्रसङ्गमा धन्यवाद पनि भन्न चाहन्छु ।

https://www.facebook.com/sagar.adhikari.3910829/videos/2627337850827809/

सम्बन्धित समाचार