गीत सङ्गीत भनेको व्यक्तिको मात्र नभएर देशको पनि पहिचान हो

विगत एक दशकदेखि गीत क्षेत्रमा लागेका एक जना प्रतिभाशाली गीतकार । लगभग छ दर्जनभन्दा बढी गीत सिर्जना गरिसकेका तथा लोकगीत सङ्गीतको क्षेत्रमा क्रियाशील सदाबहार सर्जक स्रष्टा गणेश चौलागाईंसँग समसामयिक विषयमा केन्द्रित रहेर नवकान्तिपुर संवाददाता महेश कठायतले गरेको कुराकानी :

पछिल्लो समयमा तपाई के गर्दैहुन्छ ?



अहिले विशेष त्यस्तो केही गरिरहेको छैन । सामान्य यही गीतहरू नै प्रकाशन र प्रसारण गर्ने । अग्रज दाइदिदीहरू र साथीहरूसँगको सहकार्य भेटघाटमा समय बितिरहेको छ ।

तपाई गीत सङ्गीत क्षेत्रमा लागेको कति समय भयो ?

ठ्याक्कै यही समयदेखि लागेको हुँ भन्ने त थाहा छैन । तर औपचारिक रूपमा म २०६५ सालमा कक्षा १० मा पढ्दादेखि नै लाग्ने गरेको हुँ । जुन बेला मेरो एउटा दशैं विशेष गीत रेकड भएको थियो ।

यो क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?

सानैमा म काठमाडौं आएँ । यहाँ आएपछि एक किसिमको नयाँ माहोल नयाँ प्रवेशमा आफूलाई कसरी सामेल गर्ने भन्दैगर्दा विशेष गरी लोकगीत र रेडियोका कार्यक्रममा नै काम गर्ने साथिहरूसँग सङ्गत भयो । सुनेका र आफूले बुझेका यही क्षेत्रका अग्रज दाइदिदीहरूसँग भेटघाट गर्न पाएँ हुन्थ्यो भन्ने रहर थियो । त्यसैक्रममा आजभन्दा लगभग दश वर्षअघि आदरणीय दाइ विमल डागीसँग भेट भयो । त्यही बेला मैले लेखेका गीतहरू दाइ (विमल डागी) लाई देखाएँ । मैले लेखेका गीतहरू रेकडिङ हुन्छ की हुँदैन् भनेर सुझाव मागें । अनि दाइले पनि मेरो अनुरोधलाई स्वीकारेर आफ्नै लयमा विष्णु माझी र राजु परिवारको आवाजमा दाइले मेरो पहिलो गीत रेकडिङ गरिदिनु भएको थियो । त्यसरी नै यो क्षेत्रमा प्रवेश भयो भनौं ।

सानैमा तपाई रूचि के थियो ?

म बच्चा बेलामा भन्दा पनि अलि बुझ्ने भइसकेपछि गाँउघरतिर प्रायः क्यासेटहरूबाट गीतहरू बज्ने गर्दथ्ये । त्यो बेला गीत सङ्गीतप्रति अलिकति रूचि त थियो । त्यो समयमा विमल डागीका गीतहरू सुनिन्थ्यो । उहाँको गीत सुनेपछि व्यक्ति कस्तो हुनुहुन्छ होला भन्ने लाग्थ्यो । तर मलाई यसरी औपचारिक रूपमा गीत नै रेकर्डिङ गरेर गीतकारको परिचय बनाउँला भन्ने कल्पना पनि गरेको थिएन, तर गीत सङगीतमा रहर चाहिँ अवश्य सानैदेखि नै थियो ।

आजसम्म आइपुग्दा तपाईले कतिजति गीत सिर्जना गर्नु भयो होला ?

संख्यात्मक हिसाबले हेर्दा ठ्याक्कै यति नै भन्ने अवस्था छैन । तर रेकर्डेड, प्रकाशन र प्रसारण भएका मात्र हेर्ने हो भने करिब ६ दर्जन भन्दाबढी गीतहरूको सिर्जना गरिसकेको छु, जसमा आधुनिक, लोकदोहोरी गीत, गजल सबै समावेश छन् ।

आज एकजना गीतकारले यहाँसम्म आइपुग्दा के कति सङर्घष गर्नु पर्यो ?

आफ्ना रहर चाहानाहरू पूरा गर्न सङ्र्घष त हरक्षेत्रमा गर्नु नै पर्ने हुन्छ । यो गीत सङ्गीत क्षेत्रमा लाग्नेहरूका लागि पनि त्यही नै हो । तर यसमा पनि त्यो समयमा हामी पश्चिमतिरकाहरूले काठमाडौं आएर अग्रजहरूसँग भेटघाट गरेर गीत रेकर्डिङ गर्नु गाह्रो नै भए पनि असम्भव भने थिएन । त्यसैले पनि मलाई यो क्षेत्रमा त्यति धेरै दुःख गर्नु परेन ।

गीत सङगीत क्षेत्रमा तपाई के कस्ता अप्ठ्याराहरू देख्नुहुन्छ ?

यस क्षेत्रमा अप्ठ्याराहरू भन्नु पर्दा गीत सङ्गीत सिर्जना गरेर मात्र हुँदैन् । त्यसका लागि आर्थिक रूपमा पनि मजबुद हुनु पर्छ । नेपालमा मात्र नभएर विश्वमा नै जुन रूपमा धेरैले गायक र गायिकालाई चिन्ने गर्छन् त्योभन्दा थोरैले मात्र गीतकारलाई चिन्ने गर्छन् । त्यसैले एउटा कुरा परिचय पाउँनै अलि गाह्रो छ । आफ्ना सिर्जनालाई प्रचार प्रसार गर्न पनि लगानी नै चाहिने भएकाले यस्ता खालका केही अप्ठ्याराहरू भने छन् ।

त्यसो भए, के गीत सङ्गीतमै लागेर बाच्ने आधार छैन ?

अहिले व्यक्तिगत रूपमा मेरो कुरा गर्दा व्यावसायिक रूपमा लागेर बाँच्छु भनेर भन्दिन । तर व्यवसायिक रूपमा गीत सङ्गीतमै मेहनत र लगानी गरेर लागेकाहरूले गरिरहेका पनि छन् । केही मेरै सहकर्मीहरू र नयाँ साथीहरूले समेत गरिरहेका छन् । बाच्नै नसकिने भन्ने होइन तर दिगो समयसम्म कसरी बाच्ने भन्ने कुरा गीत सङगीतमा गाह्रो नै छ जस्तो लाग्छ मलाई । किनभने अध्ययनले पनि त्यही नै देखाउँछ । त्यसैले पनि गीत सङ्गीतमा मात्र लागेर आर्थिक रूपले सम्पन्न हुन गाह्रो नै छ ।

खासमा तपाईले कस्ता खालका गीतहरू बढी लेख्नु भएको छ ?

मैले लेखेको त गजल कविताहरू पनि छन् । तर रेकड भएका मात्र भन्ने हो भने दोहोरी गीत नै बढी छन् । दोहोरीमा पनि प्रायः वियोगान्त गीतहरू बढी छन् ।

सबै भन्दा बढी चलेका तपाईका गीतहरूमा कुन कुन पर्छन् ?

सबैभन्दा पहिला मैले लेखेको दशैं विशेष गीत थियो । राजु परियार र विष्णु माझीको आवाज र विमल डागीको लय भएको ‘दशैं तिहार घर खर्च, पठाउँनलाई सकिनँ हे प्यारी दुःख सुख चलाउ यो वर्ष’ यो गीत टिभी रेडियोमा बजेपछि नयाँ साथीहरूबाट पनि मलाई थप प्रेरणा मिल्यो । त्यसपछि मैले राजु परियार र देवी घर्तीको आवाज बिबि अनुरागीको लयमा रहेको ‘अञ्जानैमा पिरती लाएको खेती भयो ऐलानी जग्गाको आफ्नो भन्न कहिल्यै पाइएन, तिम्रो झुटो पिरती अन्तै देऊ भो अब मलाई चाहिएन्’ यो गीत पनि धेरैले मन पराउनु भयो । त्यसैगरी ‘ए सानु पत्याउ अब त तिम्रै नाममा चल्छ यो ढुकढुकी बग्छ रगत’ ऋषि अधिकारी र ऋतु थापाको आवाज र स्व. सूर्यकुमार क्षेत्रीको लय र मेरै शब्दको मेरै एल्वम भनेर विन्दाबासिनी म्युजिक प्रा.लि.बाट आएको राष्ट्रिय स्तरका दुई चारओटा अर्वाडहरू जित्न सफल र धेरै साथीहरूले अहिले मलाई चिन्ने गीत यही नै हो । यिनीहरू बाहेक पनि अरू थुप्रै गीतहरू छन् जस्तैः ‘पागलै बनौँला मेरी मायालु गल्लीमा हराउदै बेस्सरी कराउदै तिम्रै नाम भनाैंला मेरी मायालु…’, धन कमाउन प्रदेशमा जति गरे पनि…, ‘तिमी विना भन्थ्यें बाच्दिनँ, यदि तिम्रो साथ पाइनँ भने त कोही कसैलाई माया साँच्दिन्…’, ‘कान्छु तिमीलाई कति माया गर्छु…’, ‘सम्झेर मायालाई मन रेटिंदो रैछ, दिलभित्र बसेको मान्छे आज त्यही दिल तोडेर गयो चोखो माया संसारमै नभेटिदो रैछ..’ आदि ।

तपाईका गीतहरूमा प्राय जसो प्रेम मिलनभन्दा पनि बढी वियोगान्त भेटिन्छ, किन यस्तो ? कतै जीवन भोगाइमा नि यस्तो भएर हो कि ?

(केही क्षणको हाँसोपछि) होइन् होइन् त्यस्तो भोगाइ नै होइन् । यी सबै वियोगान्त गीतहरूको कुरा गरिरहँदा मैले के चाहिँ बिर्सनु हुँदैन् भने मेरो दोस्रो गीत राजु परियार र विष्णु माझीको आवाज विमल डागीको लयमा रहेको ‘रहेछन् स्याउ झै गाला त्यही गालामा हेरेर निर्माया कतिको मन खाला..’ र त्यसपछि कुलेन्द्र बिक र विष्णु माझीले गाउनु भएको ‘चरी बनमा हाइहाइ लालुमाई तिम्रो माया छ मेरो यो मनमा..’ र ‘मनमा कुन्नि के छ ? भन्न त भन्थ्ये सबले केटा चुलबुले छ..’ जस्ता गीतहरू पनि रेकड भएका छन् । यस्ता गीतहरूलाई पनि सबैले मनपराइदिनु भएको छ तर संख्यात्मक रूपमा वियोगान्त गीतहरू नै बढी रूचाइएका भएकाले पनि स्वाभाविक ढङगले वियोगान्त गीतहरू बढी छन् ।

आफ्नो सिर्जनाले अर्वाड पाउनु एउटा गीतकारका लागि कति महत्व राख्छ ?

अवार्ड स्वतः स्फुर्त रूपमा निष्पक्ष भयो भने ठीकै हो । अहिले पछिल्लो समयमा धेरै खालका विवादहरू पनि आएका छन । तर पनि म यस्ता विवादित कार्यक्रममा सहभागी भएको छैन । मैले पहिलो पटक २०७२-७३ सालतिर राप्ती समाज काठमाडौंले गरेको तेस्रो राप्ती म्युजिक अवार्ड पाएको थिएँ । विन्दाबासिनीको गत सालको सर्वोत्कृष्ट लयको अवार्ड पनि पाएको थिएँ । यसरी मैले जति पनि स्कुलदेखि आजसम्म जति पनि अवार्डहरू पाएँ यसले मलाई प्रेरणासँगै जिम्मेवारी थप भएको महसुस गरेको छु ।

प्रायः तपाई कुन समयमा गीत सिर्जना गर्नुहुन्छ ?

कहिले काही बाटोमा हिड्दा हिड्दै, कहिले गाडीमा यात्राको क्रममा पनि लेख्ने गर्छु । कहिले गीत लेखौन त भनेर बस्दा पनि गीत लेख्नै पनि सकिदैन् । तर्सथ मैले गीत लेख्नका लागि त्यस्तो समय नै तोकेर लेख्ने गरेको छैन् । जुन समय मन लाग्छ त्यही समयमा लेख्छु ।

कसैले गीतकार बन्न कति अध्ययन अनुसन्धान गर्नु पर्छ ?

यसमा त्यस्तो औपचारिक शिक्षा हासिल गरे जस्तो अर्थात् गीतकार बन्न यतिसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने भन्ने केही छैन । स्वतःस्फुर्त रूपमा आफूले अग्रजहरूका कुनै प्रकाशन प्रसारण भएका गीतसङ्गीत सुन्ने, बुझ्ने तथा यस क्षेत्रमा लगन र गीतसङ्गीतको मर्म बुझेको हुनु सान्दर्भिक हुन्छ ।

अहिले गीतसङ्गीतको बजारमा एक प्रकारको अस्वस्थ प्रतिस्र्पधा पनि रहेको पाइन्छ । कतिपय केही असामाजिक ( अश्लील लाग्ने प्रकृतिका) गीतहरूले ठाउँ पाएकोले गर्दा सामाजिक सन्देश दिने गीतहरू ओझेलमा परेको जस्तो लाग्दैन् तपाइलाई ?

क्षणिक फाइदाका लागि कतिपयले यस्तो गरेको पनि पाइन्छ । यसले गर्दा सामाजिक सन्देश दिने गीतहरूलाई ओझेलमा पार्न खोजिएको नै देखिन्छ । यो समस्या अहिलेको मात्र पनि होइन् । पहिलेदेखि नै यस्तो प्रकारको प्रतिस्र्पधा देखिन्छ । यति हुँदा हुँदै पनि साच्चिकै मौलिक सिर्जना गर्नेहरूले पनि सिर्जना गरिरहनु भएको नै छ ।

भावी नयाँ पुस्ता जो यो क्षेत्रमा लाग्न चाहन्छन्, उनीहरूको लागि तपाईको सुझाव के रहन्छ ?

मलाई लाग्छ गीत सङगीत क्षेत्रलाई राम्ररी बुझेर यो यस क्षेत्रमा प्रवेश गर्दा नयाँ पुस्ताहरूका लागि राम्रो होला । किनभने गीत सङ्गीत भनेको व्यक्तिको मात्र पहिचान नभएर देशको पनि पहिचान हो । त्यसैले गीत सङ्गीतमा लाग्न चाहानेहरूले आफ्नो लागि मात्र भन्दा पनि देश र जनताका लागि पनि योगदान दिन सक्नु पर्दछ । जसका कारण आफू र आफ्ना सिर्जनासँगै देशको पहिचानलाईसमेत जोगाउन सकियोस् । आफ्नो संस्कार सस्कृति र भाषा साहित्यलाई पनि जोगाइ राख्न सकियोस् ।

तपाइको अबको योजना के छ ?

एउटा गीतकारको रूपमा मेरो त्यस्तो ठूलो योजना त खासै केही छैन, तर म जुन ठाउँमा भए पनि वा बाँच्नका लागि जुन पेशा अपनाए पनि गीत लेख्ने कामचाहिँ गरिरहन पाउँ भन्ने लागेको छ ।

सम्बन्धित समाचार