नवकान्तिपुर संवाददाता
काठमाडौं
नेपाल भ्रमण वर्ष २०२० शुरू भएको करिब एक महिना बित्नै लाग्दा यस क्षेत्रसँग सम्बन्धित थुप्रै निकायहरूले आफ्ना गतिविधीहरू अगाडि बढाइरहेका छन् । नेपला भ्रमण वर्ष सफल बनाउन लागिरहेका विभिन्न निजी क्षेत्रमध्येका एउटा निजी संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पनि रहेको छ । नेपाल भ्रमण वर्ष र टानको पछिल्लो गतिविधिको सेरोफेरोमा रहेर टान का अध्यक्ष खुमबहादुर सुवेदीसँग नवकान्तिपुर डटकमका संवाददाता महेश कठायतले गरेको कुराकानी :
पर्यटन वर्ष २०२० घोषणा हुनु पूर्व र भइसकेपछिको अवस्थामा के–कस्तो अन्तर पाउनु भएको छ ?
खासगरी नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० भनिरहदा घोषणा गरिनु आफैमा एउटा राम्रो कुरा हो र स्वाभाविक पनि हो । आर्थिक रूपमा देशको जीडीपी वृद्धि हुन्छ भन्ने उद्देश्यका साथ नै भ्रमण घोषणा गरेको हो भन्ने लागेको छ । नेपाल सरकारले पनि अवश्य नै नेपाल र नेपालीहरूको जीडीपी ग्रोथ पर्यटनको माध्यमबाट होस् भन्ने उद्देश्य राखेको हुनुपर्छ । भिजिट नेपाल २०२० को लागि प्राइभेट सेक्टरको पनि साथ र सहयोग हुनेछ, त्यसमा पनि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अरूभन्दा पनि थप जिम्मेवार र सहयोगी भएर आफ्नो जिम्मेवारी पूरा गर्न लागिपर्ने छ ।
भिजिट नेपाल २०२० जसरी जुन तामझामका साथ शुरू भयो, त्यसपछिको एक महिनालाई तपाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
केही महिनाअघि हामीले पर्यटन वर्ष मनाउने सिलसिलामा हामी धेरै प्राइभेट सेक्टरका स्टेकहोल्डरहरू, नागरिक समाज र नेपाल सरकार सबैले चासो र उत्साहका साथ त्यसलाई उद्घाटन गर्यौं । त्यसबाट हामी सबै उत्साहित पनि भयौं । त्यो एउटा राम्रो किसिमको म्यासेजको रूपमा पनि गयो र त्यसपछिको यो करिब एक महिनाको अवधिमा फेरि सेलाएको हो कि भन्ने आभास पनि भइरहेको छ । सायद त्यस्तो लाग्नु पनि स्वाभाविक नै होला । किनभने उद्घाटन भनेको त एकैदिन मात्र हुन्छ । दैनिक रूपमा त त्यो हुँदैन नै । तर दैनिक गतिविधिहरू नेपाल सरकार र हामी प्राइभेट अर्गनाइजरहरू दुबै मिलेर बढाइरहेका नैं छौं । हामीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्ना गतिविधिहरू भिजिट नेपालको एजेण्डालाई छोएर गरिरहेका पनि छौं । तर अझै पनि देखिने किसिमको नभएको कारणले केही सेलाएको हो कि भन्ने आभास हामीले पनि महसुस गरेका छौं ।
यसै सन्दर्भमा केही दिन अगाडि पर्यटन मन्त्रीज्यूलाई पनि हामी भेट्न पुगेका थियौं । त्यस बेला पनि वर्तमान अवस्थाका बारेमा अवगत गराउने प्रयास गरेका हौं । त्यसबेला हामीले भ्रमण वर्षभरि नै कुनै न कुनै गतिविधिहरू गरिरहनुपर्ने, भ्रमण वर्षका लागि नेपालमा केही भइरहेछ भन्ने सन्देश प्रवाह गर्ने, उत्साह सेलाउन नदिन केही न केही गरिरहने, भ्रमण वर्षका स्टेकहोल्डरहरूलाई पनि सेलाउन नदिन त्यही अनुसारका कार्यक्रमहरू ल्याउन पहल गर्ने तथा सरकारी स्तरबाट गरिने यस्ता गतिविधिहरू विशेष प्रभावकारी हुने भएकोले सरकारी स्तरबाटै पहल होस् भन्ने आदि विषयमा सल्लाह र सुझाव दिएका थियौं । एकप्रकारले मन्त्रीज्यूमार्फत सरकारको ध्यानाकर्षण पनि गराउने कोसिस गरेका थियौं । आशा छ, आगामी दिनहरूमा पर्यटकीय गतिविधिहरू अझ राम्रो ढङ्गबाट अघि बढ्ने छन् ।
सरकारले जसरी यस क्षेत्रमा बजेट छुट्यायो त्यही अनुसारको काम भइरहेको देख्नु हुन्छ या बाहिर तामझाम मात्रै भएको देख्नु हुन्छ ?
अवश्य पनि बजेट छुट्याएअनुसार नै उहाँहरूले आफ्नो गतिविधिहरू गरिरहनु भएको छ । र, देखिने नै किसिमको पनि भएको छ । तर कुरा के हो भने सयमा सय त तपाई हाम्रो अपेक्षा अनुसार नभएको पनि हुनसक्छ । कतै सानो तिनो कमिकमजोरी त हुन सक्छ । तर एउटा इभेन्ट वा जात्रा भइसकेपछि आफ्नो लिमिटेसनभन्दा बाहिर गइसकेपछि केही कुरा अलिकति तलमाथि त हुन सक्ला । त्यस अर्थमा पनि कतिपय गर्नु पर्नेभन्दा बाहिर पनि गएको होला । कहिले काहीं काम गर्दै जाँदा केही चिज खेर गएको पनि हुनसक्छ । त्यसलाई पनि हामीले पोजेटिभ हिसाबले लिनु पर्छ ।
पर्यटन वर्षलाई व्यवसायीहरूले कसरी सहयोग गर्न सक्छन् ? सहयोगका कुन कुन बाटोहरू छन् ?
नेपाल सरकारले विगतमा घोषणा गरेका भिजिट नेपाल हुँदा पनि र नहुँदा पनि हामी प्राइभेट सेक्टरहरू पर्यटकीय गतिविधिमा लागिरहेकै अवस्था हो । अहिले पनि यो गतिविधि नहुँदा पनि हामी पर्यटन व्यवसायीहरू सबै आफ्नो गतिविधिमा सधैं लागिरहेका नै हुन्छौं । आज पनि लागिरहेका नै छौं, त्यसमा दुईमत छैन । तर हिजो पर्यटन व्यवसायिहरू मात्र पर्यटन कुरा गथ्र्यौं भने आज टोल, प्रदेश, गाउँपालिकासँगै केन्दले पनि पर्यटनको कुरा गरिरहेको अवस्था छ । नागरिक समाजले पनि पर्यटन भनेर अलिकति फरक आखाँले हेर्न खोजेको अवस्था पाएका छौं, खुसी लागेको छ । किनभने हिजो पर्यटन व्यवसायले मात्र पर्यटन भन्दा आज सबैले पर्यटन भन्न थालेको अवस्था हेर्दा पर्यटकीय आखाँहरू खुलेका हुन कि, अर्थात् सरकारदेखि तल्लो निकायसम्म सबैले पर्यटनलाई सकारात्मक आखाँ हेर्न खोजेको हो कि भन्ने आभास पाएका छौं, जसले गर्दा आज हामीलाई अलिक सहज पनि भएको छ । प्राइभेट सेक्टरभन्दा बाहिर गएर पनि पर्यटकीय गतिविधि बढेको छ, सरकारी कार्यलयदेखि आम नागरिकहरूसम्म योे चासोको विषय भएकोले पर्यटन क्षेत्रलाई नजिकबाट हेरिएको हो कि भन्ने लागेको छ ।
पर्यटन वर्ष सफल बनाउनको लागि तपाईको नजरमा स्थानीय सरकारहरूको भूमिका के देख्नु हुन्छ ?
यो भिजिट नेपाल २०२० लाई सफल पार्न टान, पर्यटन व्यवसायी, केही संघसस्थाहरू, पर्यटन मन्त्रालय, नागरिक समाज र मिडियाकर्मी एक्लाएक्लैले मात्र गरेर सम्भव हुँदैन । सबैको मन मस्तष्कमा साच्चै भ्रमण वर्ष सफल बनाउनु पर्छ भन्ने छ भने यसलाई नेपाल सरकार अथवा पर्यटन व्यवसायीको मात्रै हो भनेर ठान्नु भएन । नेपाल सरकार, पर्यटन मन्त्रालय (अभिभावक मन्त्रालय), नेपाल पर्यटन बोर्डलगायत सरोकारवाला पर्यटकीय गतिविधि गर्ने संघसस्था, नागरिक समाज, मिडियाकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जो जहाँ बसिरहेका भए पनि सबैको एउटै आवाज, एउटै गति र एउटै सोच हुनसक्यो भने बढीभन्दा बढी पर्यटन नेपाल आउन सक्नेछन् । नेपाल आएको पर्यटकले पनि राम्रो अनुभव लिएर फर्किने छ र आफ्नो देशमा गइसकेपछि आफ्ना नातेदार तथा साथीभाइ सबैलाई पनि नेपाल घुम्न सुझाव दिन सक्नेछ । यसले नेपाललाई फाइदा नै पुग्नेछ । सबैको एउटै आवाज हुनु पर्यो । कसैले पनि नकरात्मक सोच २०२० भरि राख्नै भएन ।
यहाँ प्रदुषणको समस्या छ, यो आन्तरिक समस्या हो । यो हामीले नैं समाधान गर्नुपर्ने छ । एयरर्पोटको समस्या हाम्रो आन्तरिक समस्या हो । हवाइ सिटहरूको क्षमता कम छ, त्यसलाई पनि आवश्यक व्यवस्थापन गरी सिट क्षमता बढाउनु पर्यो । हामीले भोगिरहेका आन्तरिक समस्याहरूलाई सकरात्मक रूपमा कसरी समाधान गर्न सकिन्छ त्यसलाई मिडियाकर्मीहरूले पनि प्रवाह गर्न जरूरी छ । भ्रमण वर्षलाई सफल बनाउन सोसल मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । सोसल मिडियाहरूले बाहिर नकारात्मक सन्देश जाने भत्केका बाटोहरू, एयरर्पोटको समस्याहरू, एयरर्पोटमा विदेशी पर्यटक लडिरहेका फोटोे, ट्याक्सीको लफडा आदिलाई नकारात्मक रूपमा बढाइचढाई गर्नु भएन । कमीकमजोरीहरू भए हामीले सम्बन्धित सरोकारवालाहरूलाई ध्यानर्कषण गराउनु जरूरी छ । हामीले आन्तरिक समस्याहरूलाई आन्तरिक रूपमै हल गर्न सके बाहिर जाने सन्देश पनि राम्रो हुन्छ ।
पर्यटकलाई आम नागरिकले के बुझ्ने ?
मेरो विचारमा पर्यटक भनेको विदेशी होस् वा स्वदेशी होस् एक ठाउँबाट अर्को ठाउँमा घुम्ने उद्देश्यका साथ केही खर्च गरेर मनोरञ्जन गर्ने उद्देश्यका साथ जान्छ र केही पैसा आफ्नो पकेटबाट सम्बन्धित ठाउँमा खर्च गर्छ भने त्यो पर्यटक हो । कुनै पनि व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा गएर आफूसँग भएको पकेटको पैसा खर्च गर्छ भने त्यो पर्यटक हो । तपाई एक ठाउँबाट अर्को ठाउँमा पाहुना भएर ट्राभल गरेर जानु भयो भने तपाई पर्यटक हो । विदेशी पर्यटक होस् वा स्वदेशी पर्यटक होस् आफ्नोतर्फबाट आर्थिक रूपमा खर्च गर्छ भने त्यो नै पर्यटक हो र त्यो पर्यटकीय गतिविधि हो भन्ने बुझ्नु पर्यो ।
पर्यटक भन्ने बित्तिकै विदेशीलाई मात्र किन हेर्ने गरिन्छ ?
अब हामीले जीडीपी ग्रोथको हिसाबले हेर्ने हो भने विदेशी मात्र पर्यटक हो । किनभने मानौ युकेको नागरिक नेपालमा आयोे र मानौं उहाँले एक सय पाउण्ड नेपालमा खर्च गर्यो भने त्यो नेपालको लागि जीडीपी ग्रोथ भयो । तर मानौ तपाई काठमाडौंबाट इलाम जानु भयो भने तपाईले त्यहाँ खर्च गरेको पैसालाई देशको जीडीपी ग्रोथ भएको मान्न सकिंदैन । आर्थिक रूपमा त तपाईले काठमाडौंको पैसा इलाममा खर्च गर्नुभयो त्यो इलामको लागि त आम्दानी भयो तर देशको लागि आम्दानी भएन । किनकि देशको आम्दानी इलाममा भएको पैसा पनि त्यही हो र काठमाडौंमा भएको पैसा पनि त्यही हो । त्यसैले यसबाट देशको जीडीपी ग्रोथ भएन् । अहिले हामीले खोजेको भनेको जीडीपी ग्रोथ हो । यसरी बुझ्न जरूरी छ कि पर्यटन वर्ष २०२० भनिरहँदा देशभित्रकै आन्तरिक पर्यटकहरूले गरेको खर्चले पर्यटन वर्षको उद्देश्यसँग मेल खादैन । अहिले सरकारले खोजेको भनेको बढीभन्दा बढी पर्यटक नेपाल ल्याएर देशको जीडीपी ग्रोथ गर्ने हो ।
अहिले टानको अध्यक्षमा तपाई निर्वाचित भएर आउनुभएको चार महिना जति भयो । टानमा आउनुपूर्व तपाईले व्यवसायहरूसँग केही वाचा गर्नु भएको थियो । अहिले ठ्याक्कै भन्नु पर्दा टान कहाँनेर छ ?
मैले त्यो बेला भनेको मुख्य कुरा के थियो भने नेपालमा एडभान्चर ट्राभल मार्ट गर्ने भनेको थिए । एडभान्चर ट्राभल पोखरामा गर्ने योजनाका साथ अब छिट्टै आउने कार्यसमितिको बैठकबाट भिजिट ट्राभल मार्ट गर्ने निर्णय गर्दैछौं । मैले भनेका कुराहरूमध्येमा त्यो एउटा हो । अब अन्तर्राष्ट्रिय प्रचारप्रसारका कुराहरू त हामीले नियमित गरि नै रहेका छौं । टिम्स (TIMS -Trekkers’ Information Management System) को एउटा अर्को समस्या थियो । करिब छ महिनाभित्र टिम्सका बारेमा एस वा नो गर्छु भनेको थिएँ । मलाई लाग्छ छ महिना पूरा हुन अझै अलिकति बाँकी नै छ । म त्यसैमा लागिरहेकोे छु । देशैभरि चेकपोस्ट खडा गरेर आत्याधुनिक प्रविधिबाट टिम्स लागु गर्न सक्छौं । हामीहरू यदि टिम्सलाई अहिलेको आधुनिक प्रविधिअनुसार लागु गर्न सक्दैनौ भने यो टिम्सलाई खारेज गरेर टेकिङ पक्रिया लागु गरेर अनिवार्य ट्रेकीङ कम्पनीहरूबाट मात्र पदयात्रा सञ्चालन हुनु पर्छ भन्ने मागको लागि लागिरहेका छौं । नेपाललाई सुहाउदो पर्यटकीय गतिविधि गर्ने हो भने मलाई लाग्छ पर्यटन मन्त्रालयले टानले उठाएको विषयवस्तुलाई समेट्ने छ । पर्यटन विकास र पर्यटन उद्योग भनेको टानको मात्रै पनि होइन । यो त पर्यटन मन्त्रालय, नागरिक समाज, पर्यटन व्यवसायी र पत्रकारको पनि होला । यसलाई सबैले जिम्मेवारी लिन सक्नुपर्छ । पर्यटन गतिविधिको विकास र उत्थानका लागि म दत्तचित्त भएर लागिपरेको छु ।
अहिले ट्रेकीङ व्यवसायको अवस्था कस्तो छ ?
अहिलेको कुरा गर्दा हामी पर्यटन व्यवसायी र पर्यटन उद्योगीहरू बीच एकखालको प्रतिस्पर्धाजस्तै छ । विदेशी पर्यटकहरूलाई नेपाल भित्र्याउन दत्तचित भएर लागिरहेको छौं । हामी ट्रेकीङ व्यवसायीहरूका साथीहरूलाई बढीभन्दा बढी पर्यटकहरूलाई नेपालमा ल्याउने वातावरण सिर्जना गर्नेतर्फ हामीहरू लागिपरेका छौं । हामीले जति अपेक्षा गरेका थियौं, त्यति चित्त बुझ्दो रूपमा हुनसकेको छैन् ।
यस क्षेत्रमा लागेका व्यवसायीहरू अहिले कति छन् ?
टानसँग आवद्ध हुनुभएका करिब अठार सय जति छौं ।
व्यवसायमा युवाहरूको आकर्षण कस्तो छ ?
व्यवसायमा युवाहरूको आकर्षण धेरै नै छ । हामीले युवाहरूको त्यो आकर्षणलाई अड्याउनु पर्ने छ । हामीहरूले सधैं धेरै विदेशी पर्यटक ल्याएर नेपालमा युवाहरूलाई रोजगारी दिन खोजेको हो । यदि बढी पर्यटक ल्याउन सकेनौँ भने युवाहरूलाई अड्याउन सकिंदैन् । बढीभन्दा बढी पर्यटन ल्याउन सक्यौं भने बढीभन्दा बढी युवाहरूलाई रोजगारी दिन सक्छौं र हामीले चाहेको कुनै हदसम्म सार्थकता पाउँछौं भन्ने लाग्छ मलाई ।
ट्रेकीङ व्यवसायीहरूको संख्या झण्डै उन्नाइस सयदेखि दुई हजारको हाराहारीमा रहेको छ । यो यति ठूलो क्षेत्र छ । भनिन्छ कतिखेर यो विकासको कारणले पनि ट्रेकीङ व्यवसाय धरापमा पर्यो, ट्रेकीङ रूटहरू पनि धरापमा पर्यो भन्ने सुनिन्छ । खासमा बुँदागत रूपमा भन्दा ट्रेकीङ व्यवसायमा देखिएका एकदमै चुनौतिपूर्ण समस्याहरू के के हुन् ?
तपाईले पदयात्राको अवस्थातिर सङ्केत गर्नु भएको होला । हो, पदयात्रा गर्ने ठाउँहरूमा मोटर बाटोहरू बन्यो । यसले हामी पर्यटन व्यवसायीहरूलाई केही न केही समस्यामा पारिरहेकै छ । त्यसको अर्थ हामी मुलुकको विकास हुनु हुँदैन भन्ने पक्षमा छैनौं । तर बन्दै गरेको मोटरबाटो कति पर्यटन मैत्री छ, त्यस बाटोले कतिलाई लाभान्वित पार्दैछ, त्यस ठाउँमा त्यस बाटोको कति आवश्यकता थियो भन्ने तिर चाहिँ हाम्रो सरोकार रहन्छ नै ।
हामीले बाटो बनाउने कुरामा कहिल्यै विरोध गरेनौ तर बाटो बन्दैगर्दा बाटो पर्यटन मैत्री हुनुपर्छ भन्यौं । त्यो भनेको बाटो बनाइसकेपछि तुरून्तै त्यसलाई कालोपत्रे पनि गरिसक्नु पर्यो भनेका हौं । कमसेकम त्यो कालोपत्रे बाटो बनाइसकेपछि त्यो बाटो छेउमा चियाकफीका लागि क्याफे बनाउनु राम्रो हुन्छ, जहाँ बसेर हिमालको रमणीय दृश्य हेर्दै पर्यटकहरू चियाकफीको चुस्की लिन सकून् । प्राकृतिक सौन्दर्यलाई क्यामरामा कैद गर्न सकून् ।
यस्ता कार्यबाट एकातिर पर्यटकलाई आकर्षित गर्न सकिन्छ भने अर्कोतिर आम्दानी पनि गर्न सकिन्छ । डोजरले रोड खनेर मात्र भएन, कति वर्षमा पिच गरिन्छ, त्यसको रोडम्याप पनि चाहियो । अहिले त बाटो भत्काउने कार्यमात्र भएको छ, बनाउने टुङ्गो नै छैन । यस्ता कुरामा हाम्रो असहमति हो । प्राकृतिक वातावरणलाई ठूलो क्षति नगरी योजनाबद्ध ढङ्गबाट बाटो बनाउन सके सबैलाई लाभ हुने थियो । सरकारले बाटो भत्काउनु पूर्व यातायात मन्त्रालय, वन मन्त्रालय तथा पर्यटन मन्त्रालयसँग समन्वय गर्न नसक्नु नै समस्याको जड हो ।
अन्य समस्याहरू केके छन् ?
अन्य समस्याहरू पनि धेरै नै छन् । हामीसँग भिसा दिने सिस्टम ढिला छ । त्यसलाई चाडो गर्नु पर्यो । प्रदूषण रोकथाम गर्नु पर्यो । ट्राफिकको समस्या हुनु भएन् । गाडीहरू कुद्ने, पैदल यात्री हिँड्ने र साइकल यात्री सबैका लागि एउटै बाटो छ । त्यसको व्यवस्थापन हुनु पर्यो । आकाशे पुलहरूको पनि सुविधा हुनु पर्यो । एउटै रोडलाई भत्काएर ठूलो बनाएर मात्र भएन । काठमाडौं र लुम्बीनीमा त धेरै होटलहरू पनि बनिसकेका छन् तर कतिपय बाटोको रूटहरूमा पर्याप्त होटलहरू छैनन् । साच्चै नै बीस लाख पर्यटक भित्र्यायने हो र नेपालको पर्यटकीय ठाउँमा पठाउने हो भने पर्याप्त होटलहरू नभएको ठाउँमा त्यसको व्यवस्थापनमा ध्यान दिनु पर्यो ।
ट्रेकीङ व्यवसायलाई बचाउन टानले के गरिरहेको छ ?
हाम्रा लागि दक्ष जनशक्ति महत्वपूर्ण हो । ट्रेकीङ गाइडको लागि एउटा तालिम त छदै छ । हामीले भवितव्य पर्दा उद्धार गर्नको लागि पनि तालिमहरू दिइरहेका छौं । भाषागत गाइडहरू बढाउनु पर्यो भनेर लागिपरेका छौं । बाटोमा पनि पर्याप्त होटलहरू नहुदा पनि खाना पकाएर ख्वाउन सक्ने हैसियत बनाउनु पर्यो । त्यसका लागि हाम्रै गाइडहरू नै भए पनि, कुक भए पनि भरियाहरू परिचालन गरेर भए पनि पर्यटकलाई कतै अप्ठ्यारो स्थिति आयो भने खाना बनाएर ख्वाउन सक्ने व्यवस्था गरेका छौं । नयाँ रूटहरूको पहिचान र प्रचारप्रसार गर्ने काम पनि गरिरहेका छौं ।
अन्त्यमा,
म टानको अध्यक्षको हैसियतले भन्नु पर्दा सम्पूर्ण पर्यटन व्यवसायीहरू, नेपाल सरकार, मिडियाकर्मी, नागरिक समाज सबैले एउटै गति र एउटै सोचका साथ भ्रमण वर्ष २०२० लाई सफल बनाउनु लागिपर्नुपर्ने छ । जीडीपी ग्रोथ गर्ने किसिमका पर्यटकहरू ल्याउनतर्फ पनि हामी लागिपरेका छौं । त्यसको लागि हामी सबैसामु थुप्रै समस्या र चुनौतिहरू छन् । यी सबैलाई व्यवस्थापन गर्दै क्वालिटी किसिमको टुरिस्ट ल्याउनलाई हामी लागिपरेका छौं । भ्रमण वर्ष २०२० मा नेपाल सरकारले परिकल्पना गरेको लक्ष्य हासिल गर्न र नेपालको जीडीपी बढाउन टानले महत्वपूर्ण भूमिका खेल्ने छ र त्यसका लागि म व्यक्तिगत रूपमा पनि लागिपर्ने छु । चुनौतिहरू हजार होलान् तर चुनौतिहरूको बीच पनि अवसर खोज्नका लागि हामी लागिपर्ने छौं । तर, साथ, सहयोग र हौसलाको भने अपेक्षा गर्दछौं ।