नेकपा केन्द्रीय कमिटी बैठकः सरकार र एमसीसीको चर्को आलोचना, भ्रष्टाचारीलाई मृत्युदण्डको माग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा सरकारको काम कारवाही र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको चर्को आलोचना भएको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको संगठन र विधान संशोधन प्रस्तावबारे समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा शनिबार बोल्ने अधिकांश नेताहरूले झन्डै दुईतिहाईसहित नेतृत्व गर्दा पनि सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकामा असन्तुष्टि जनाए ।

त्यस्तै संसदबाट पारित गराउन लागिएको एमसीसीबारे पनि व्यापक छलफल भएको थियो । एमसीसीबारे बोल्ने नेताहरूले आर्थिक सहयोग नलिइनहुने हो भने नेपालको संविधान र कानुन विपरीत रहेका सम्झौताका केही बुँदा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।



समूहगत छलफलपछि पूर्ण बैठकमा आफ्नो समूहको तर्फबाट धारणा राख्दै नेकपा केन्द्रीय सदस्य राजेन्द्र राईले पार्टीका नेताहरुको ताल देख्दा जोगी बन्न मन लागेको बताए । ‘पार्टीका नेताको ताल देख्दा ३, ४ वटा कमण्डलु बोकेर जोगी भएर हिँड्न मन लाग्छ । न पार्टी छ न संगठन । त न पार्टीले केही कार्यक्रम लिएर हिँड्न सकेको छ । यस्तो अवस्थामा जोगी बन्नुको के विकल्प हुन्छ ?’ बैठकमा उनले प्रश्न गरे ।

उनले पार्टी नेतृत्वबाटै विधानका धाराहरू मिच्ने काम भएको भन्दै आलोचना गरे । उनले पार्टी र सरकार सञ्चालनमा तालमेल नमिलेको बताए । उनले पार्टीले सरकार चलाउनु पर्नेमा सरकारले पार्टीको निर्देशन नमानेको देखिएको बताए ।

भ्रष्टाचारीलाई मृत्युदण्डको माग
अर्का नेता ठाकुर गैरेले नेपाली विशेषतामा आधारित समाजवाद ल्याउन र समाजवादका आधार तयार गर्न सुझाव दिए । भ्रष्टाचार ठूलो समस्या बनेकाले भ्रष्टाचारीलाई हदैसम्मको कारवाही गर्नुपर्ने व्यवस्था राखेर नियन्त्रण गर्नुपर्ने सुझाव आएको उनको भनाइ थियो । घुस लिँदालिँदै जनप्रतिनिधि पक्राउ पर्नु, नीतिगत भ्रष्टाचार, ठेक्कापट्टा जस्ता गैरराजनीतिक क्रियाकलापमा पार्टीका नेता कार्यकर्ताको नाम जोडिने कुराले ‘सरकारको भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने नारालाई कमजोर बनाएको छ । उनले भने, ‘भ्रष्टाचार जघन्य अपराध हो, यस्तो काम गर्नेलाई मृत्युदण्ड दिनुपर्दछ भन्ने मतसमेत प्रकट भएको छ ।’

नेता खिमलाल भट्टराईले मुलुकमा भ्रष्टाचारमुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले मुलुकमा सुशासन कायम राख्न भ्रष्टाचार विरोधी अभियान पार्टी र सरकारले संचालन गर्नुपर्ने बताए । उनले भने, ‘सिङ्गो पार्टी नै परिचालन गरेर मुलुकलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउन अभियान सञ्चालन गर्नुपर्दछ ।’

नेता हिमाल शर्माले भने समाजवादतर्फ लैजान शिक्षा र स्वास्थ्यबाट शुरुआत गर्नुपर्ने बताए । उनले आफ्नो प्रतिवेदनमा शिक्षा र स्वास्थ्यलाई व्यापारको विषयवस्तु बनाउन नहुने सुझाव दिएको जानकारी दिए । ‘पार्टीका नेताले शिक्षा र स्वास्थ्यमा लगानी गरेका छन् । त्यो लगानी एक वर्षभित्र फिर्ता आउनुपर्दछ ।’ उनले अगाडि भने– ‘यहाँ आउनुहुन्न भने उहाँ केन्द्रीय सदस्यबाट हट्नुपर्यो । कि त शिक्षा र स्वास्थ्यमा व्यापार गर्नु भएन । पार्टीका नेता र उच्चपदस्थ कर्मचारीका छोराछोरी सरकारी स्कुलमा पढ्नुपर्ने व्यवस्था मिलाउनुपर्छ ।’

नेकपा भन्दा एमाओवादी र एमाले नै प्यारो
बुधवार केन्द्रीय कमिटीको बैठक उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले पार्टी एकता भएको लामो समय हुँदा पनि पार्टीको नाम लिदाँ एमाले भन्न आउँछ भन्दा धेरै नेताहरू हाँसे । तर विस्तारै आफ्नो कुराहरू राख्ने क्रममा अधिकांश नेताहरुले एमाले र एमाओवादी भनेको पाइयो । बैठकमा रेणु दाहाल पनि पार्टीको नाम भुलेर नेकपा माओवादीभन्दा हलमा हाँसो फैलियो । प्रारम्भिक सम्बोधनका क्रममा उनले हाम्रो गौवरशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी भनिन्, त्यसपछि लगतै नेपाल कम्युनिष्ट पार्टी नेकपा भन्दै सच्चाइन् । उनी झुक्किएपछि एक पटक हलमा हाँसोको फोहरा छुट्यो । पूर्व माओवादी पृष्ठभूमिकी रेणुले झुक्किएर पहिलेकै पार्टीको नाम लिएकी हुन् । यो समस्या पूर्व एमालेका नेताहरूमा पनि देखियो । सहभागि हाँसेपछि नेताहरुले गल्ती महसुस गर्दै सच्याउने गरेका थिए ।

समाजवाद स्थापना गर्न सुझाव
नेकपाको जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू तय गर्न सुझाव दिएको छ । केन्द्रीय सदस्यहरूले नेकपाको लक्ष्य समाजवाद स्थापना गर्ने भएकाले सोहीअनुसारका आधार तयार गर्ने कार्यमा सिंगो पार्टी पंक्ति र सरकारी पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् ।

केन्द्रीय सदस्यहरूले सानातिना विषयमा आग्रह–पूर्वाग्रहमा अल्झिँदा समाजवादको महान् लक्ष्य पूरा गर्न कठिन हुने भन्दै पूर्वाग्रह बिर्सेर समाजवाद स्थापनाको लक्ष्यमा एकीकृत भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । बैठकमा मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न पार्टी नेतृत्व र सरकारलाई सुझाव प्रस्तुत गरेका छन् ।

राष्ट्रिय सभागृहमा जारी बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव एवम् समसामयिक विषयमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको आज सचिवालयका सम्बन्धित सदस्यले जवाफ दिने भएका हुन् । दिउँसो १ बजे राष्ट्रियसभा गृहमा शुरु हुने बैठकमा अध्यक्षद्वय र महासचिवको प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ । आजको बैठकमा अध्यक्ष ओली पनि आज उपस्थित हुने सम्भावना छ ।

सम्बन्धित समाचार