गच्छदारलाई मात्र बचाउने भाषा बोल्दा जनस्तरमा राम्रो सन्देश जाँदैन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत बुधवार कांग्रेस उपसभापति विजय गच्छदारसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा दर्ता गरेको भ्रष्टाचार मुद्दा विभेदपूर्ण भएको भन्दै कांग्रेसले सोही दिनदेखि उक्त निर्णयको विरोध गर्दै आइरहेको छ । विहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले राजनीतिक पूर्वाग्रहका आधारमा पार्टी उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै त्यसविरूद्ध पार्टी र भातृ संस्था परिचालन गर्ने नेपाली कांग्रेसले निर्णयसमेत गरेको थियो ।

त्यसयता नेपाली कांग्रेसले आफ्ना उपसभापति विजयकुमार गच्छदारको बचाउमा सडकदेखि सदनसम्म विरोध गर्दै आइरहेको छ । कांग्रेसका भातृ संगठनहरूले सडकमा आन्दोलन गरिरहदा कांग्रेस सांसदहरूले संघीय संसद अवरूद्ध गर्दै आइरहेका छन् । सडकबाट कांग्रेसका भातृ संस्थाहरू नेविसंघ र तरूण दलले माधवकुमार नेपाल र बिष्णु पौडेललाई बचाएको, कांग्रेस उपसभापति गच्छदार फसाउन लागेको, दुई तिहाइको दम्भ देखाएर अख्तियारलाई नै आफ्नो कठपुतली बनाएको, अख्तियार पनि नेकपासामु लम्पसार भएको जस्ता आरोपहरू लगाएका छन् । उनीहरूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई पनि कारबाहीको माग गर्दै आइरहेका छन् ।



प्रतिनिधिसभा बैठकमा पनि कांग्रेस सांसदहरूले पनि यस्तै आरोपहरू लगाएर संसद बैठक अवरूद्ध गर्दै आइरहेका छन् । अख्तियारले मुद्दा दर्ता गरेको भोलिपल्ट विहीबारको संसद बैठक चल्न नदिएको कांग्रेसले शुक्रबारको बैठक पनि अवरूद्ध गर्यो । शुक्रबारको संसद बैठकमा कांग्रेसले बिरोधीलाई तह लगाउने सरकारको योजनामा अख्तियारले साथ दिन खोजेको आरोप लगाएको थियो । प्रतिनिधिसभामा बोल्दैै कांग्रेस सांसद मीन विश्वकर्माले फरक विचारलाई निस्तेज पार्ने खेलमा सरकारले अख्तियारलाई प्रयोग गरेको र ललिता निवास जग्गा प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालय विस्तारका लागि गुरुयोजना प्रस्तुत गर्ने तत्कालीन मुख्यसचिवलाई उन्मुक्ति दिइएको बताएका थिए । सरकार कांग्रेसलाई ठोक्ने र आफ्नालाई रोक्ने रणनीतिमा नियोजित रूपमा लागेको उनले आरोपसमेत लगाएका थिए । बैठकमा प्रतिपक्षको अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गर्नु परेको थियो ।

यसरी कांग्रेसले विहीबार र शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको थियो । तर फेरि आइतबारको बैठकमा पनि कांग्रेको अवरोध कायमै रह्यो । आइतबार दिउँसो १ बजे बैठक बोलाएको भए पनि तोकिएको समयभन्दा एक घण्टा ढिलो गरी बैठक शुरू भएको थियो ।

बैठक शुरू हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाए । सांसद उठिरहेपछि सभामुख अग्नि सापकोटाले बैठक चल्न दिन कांग्रेस सांसदहरूलाई अग्रह गरे । सभामुखले सांसदहरूलाई पटक–पटक बस्न आग्रह गरे पनि कांग्रेस सांसदहरू बस्न नमानेपछि सभामुख सापकोटाले संसद्को क्षेत्राधिकारको विषय स्मरण गराए । उनले प्रतिपक्षले उठाएका विषयमा सम्बन्धित निकायको ध्यान गइसकेको बताए ।

संविधानमा अदालतमा विचाराधीन मुद्दा संसद्बाट निरूपण हुन सक्दैन भन्ने स्पष्ट व्यवस्था भएको भन्दै सांसदहरूले उठाएको मुद्दा संवैधानिक आयोगले अगाडि बढाएको र अदालतमा विचाराधीन मुद्दामा संविधानले स्पष्ट भनेकोले आफूले संसदमा बोल्न नमिल्ने बताए । तर कांग्रेस सांसदहरूले विरोध जारी राखेपछि सभामुखले अर्को वैठक माघ २८ गते मंगलबार दिउँसो १ बजे बस्ने गरीे संसद बैठक स्थगित भएको घोषणा गरे ।

यसरी कांग्रेसले सडक र सदन दुबैतिर विरोध गरेर आफ्नै पार्टी उपसभापति विजय गच्छदारलाई निर्दोष साबित गर्न खोजेको जस्तो देखिन्छ । दोषीहरू कोही पनि उम्किनु हुँदैन भन्नु जागज हो तर एकोहोरो गच्छदारलाई मात्र बँचाउने भाषा बोल्दा जनस्तरमा राम्रो सन्देश जाँदैन । यस्तो कार्य कांग्रेसका लागि आत्मघाती पनि हुन सक्ने छ । शनिबार मात्रै नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले एक कार्यक्रममा आफ्ना पार्टीका नेता विजयकुमार गच्छदारलाई षडयन्त्रपूर्ण तरिकाले अख्तियारले मुद्दा चलाएको आरोप लगाउँदै तत्काल मुद्दा फिर्ता लिन आग्रह गरेका छन् ।

हुन त केही हदसम्म अख्तियारमा सरकारको छाया अर्थात् अख्तियार सरकारसँग डराएको हो कि भन्ने कतिपयको बुझाइ पनि रहेको छ, तर पनि कांग्रेसले भ्रष्टाचार मुद्दा लगेका गच्छदारको बचाउ गर्नु भन्दा सो प्रकरणमा जोडिएका सबैलाई अदालतसम्म पुर्याउन अख्तियारलाई सहयोग गर्नु पर्दथ्यो । कुनै पनि व्यक्ति निर्दोष वा दाेषी त्यो त अन्त्यमा अदालतले निर्णय गर्ने नै थियो । तर हालको कांग्रेसले देखाइरहेको अहिलेको व्यवहार हेर्दा नेकपाले विष्णु पौडेल र माधवकुमार नेपाललाई जोगाउन मिल्ने हामीले गच्छदारलाई बचाउँन किन नमिल्ने भनेजस्तो देखिन्छ ।

सम्बन्धित समाचार