सरकारका सबै काम राम्रो देख्ने चश्मा कहाँ भेटिएला ?

कुनै समय यस्तो थियो, देशमा जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि प्रायः नौ महिना वर्षदिन नटिक्दैन परिवर्तन भइइरहन्थो । नेपाली राजनीनिक दलका नेताहरूको एउटै बोली हुन्थ्यो ‘देशमा स्थिर सरकार भएन, जसले गर्दा न त देशले नै विकासको गतिमा फड्को मार्न सक्यो न त जनताको जीवनस्तरमा नै सुधार आयो ।’ प्रायःजसो राजनीनिक दलहरूले देश विकास नहुनको दोष यही नौ नौ महिनामै सरकार परिवर्तन हुने अवस्थालाई अर्थात् देशमा स्थिर सरकार नभएको अवस्थालाई देख्ने गर्थे, जसले गर्दा देश विकास नहुनुमा आफूहरूलाई दोषी देख्तैनथे ।

तर त्यो समय धेरै टिक्नै सकेन र व्यवस्था नै परिर्वतन भयो । देशमा राजनीतिक परिर्वतनसँगै देशले संघीय लोकतान्त्रिक गणतन्त्र पायो । देश संघीयता गएपछिको पहिलो निर्वाचनबाट नै देशले बहुमत प्राप्त सरकार पायो । आजभन्दा दुई वर्षअघि अर्थात् २०७४ फागुन ३ गते केपी शर्मा ओली देशकाे कार्यकारी प्रमुख बने । जनताको आशा भरोसामा पाँच वर्षको लागि बनेको वर्तमान सरकारले दुई वर्ष पार गर्यो । नेकपा नेतृत्वको वर्तमान सरकारले दुई वर्षको अवधिमा के के उपलब्धिहरू हासिल गर्यो ? यहाँसम्म आइपुग्दा सरकारको काम कारबाही कस्तो रह्यो ? यसको मूल्याङ्कन सरकारका अधिकारीहरूले भन्दा बढी आम नागरिकले दिनहुँ गरिरहेका छन् ।



सरकारको दुई वर्षलाई आम नागरिकले र प्रतिपक्षले कसरी मुल्याङ्कन गर्छन होला ? त्यो आफ्नै ठाँउमा छ । तर वर्तमान सरकारको कारबाहीलाई हेरेर सरकारका मन्त्रीहरूदेखि नेकपाका नेताहरूको भने यस विषयमा एकमत देखिँदैनन् । यस विषयमा नेकपाभित्रै पनि विवाद र बहस हुने गर्दछ । आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारको बचाऊ गर्नुपर्ने नैतिक जिम्मेवारी हुँदाहुँदै पनि कतिपय नेताहरूले सरकारको कामको आलोचनासमेत गर्ने गरेका छन् । पछिल्लो समय मिडियामा आएका सरकारका अधिकारीहरूको अभिव्यक्तिलाई हेर्दा वर्तमान सरकारले धे..रै नै राम्रो गरेको दाबी गर्नेहरूमा विशेषगरी प्रधानमन्त्री र सरकारका प्रवक्ता देखिन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पार्टीका कार्यकर्ता र सरकारका मन्त्रीहरूलाई सरकारले गरेका राम्रा कामहरूको जनस्तरसम्म प्रचारप्रसार गर्न र सरकारको विरोध गर्नेहरूसँग अरिगांल भएर जाइलाग्न निर्देशन दिएका थिए । उनले एक पटक त सरकारका राम्रा कामहरूको समाचार नै नबनेको भनेर मिडियाप्रति गुनासो गर्दै सरकारका राम्रा कामहरूको बारेमा लेख्न सम्पादकको मुटु नभएको आरोपसमेत लगाएका थिए । तर प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई आम नागरिकले कसरी लिए होलान् ?…

तस्विरमा लेखक महेश कठायत

गत विहीबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकाले एउटा पनि नराम्रो काम नगरेको र सबै राम्रा काम मात्र गरेको जिकिर गरे । उनले सरकारको कामलाई नराम्रो देख्ने आखाँ नै नराम्रा भएको टिप्पणी गर्दै जनतालाई जे भनेका थियौ त्यो गरिसकेको दाबीसमेत गर्न भ्याए । यसलाई पनि आम नागरिकले कसरी लिए हालान् ?…

नेकपा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै केही दिनअघि एक कार्यक्रममा सरकारको दुई वर्ष उत्साहवर्द्धक हुन नसकेको र जति राम्रा काम भएका छन्, तिनीहरूको प्रचार पनि नभएको बताएका थिए । उनले भनेका थिए ‘अब सरकारको बाँकी तीन वर्ष छ, अन्तिम वर्ष चुनावी वर्ष भएर आउँछ र बाँकी दुई वर्षमा विकास निर्माण गर्ने र समाजवादको आधार निर्माण गर्ने योजना अगाडि बढाउन जरूरी छ । त्यसका लागि युद्धस्तरमा काम अगाडि बढाउनु पर्ने छ ।’ उनको भनाइअनुसार अबको दुई वर्ष सरकारले युद्धस्तरमा काम अगाडि बढाउनु पर्ने त छ, तर कहिलेदेखि ? यसको समयसीमा के हो ?..

माथि उल्लेखित विषयको निष्कर्ष न त सरकारको विरोध हो न त बचाऊ नै । जनताले लिएको आशा र भारोसामाथि वर्तमान स्थिर सरकारले तुसारोपात नगरोस् भन्ने कामना मात्र हो । सरकार जोसुकैको नेतृत्वमा भए पनि र जस्तोसुकै भए पनि राम्रो नराम्रो टिकाटिप्पणी त भई नै रहन्छ । तर आफ्ना गल्ती र कमीकमजोरीहरूको ढाकछोप गरेर विवाद सिर्जना गर्नुभन्दा गल्ती र आलोचनबाट नै पाठ सिकेर अघि बढ्न सके देश र जनता दुबैको लागि लाभदायक हुने थियो । सरकारका कमिकमजोरीहरू र अकर्मण्यतालाई पनि राम्रै देखिदिनु पर्ने हो भने आम नागरिकले सरकारले जे गरे पनि राम्रै मात्र देख्ने विशेष खालको चश्मा लाउनु पर्ने हुन्छ । यदि त्यस्तै नै गर्ने हो भने त्यस्तो चश्मा कहाँ भेटिएला ?

सम्बन्धित समाचार