विद्युत चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब

सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने विद्युतको समेत आर्थिक लाभ प्राप्त भएको छ । नियमित विद्युत् आपूर्ति पछि चोरी तथा चुहावटमा संलग्नसमेत हच्किएका छन् । सकारात्मक परिणाम पनि देखापरेको हो ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा वितरणतर्फको औसत विद्युत् चुहावट ९.७८ प्रतिशतमा झरेको छ । यसले ठूलो राहत दिएको प्राधिकरणको दाबी छ । आव २०७५/७६ मा ११.२८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई चालु आवको पहिलो छ महिनामा १.५० प्रतिशतले घटाएर ९.७८ प्रतिशतमा सीमित गर्न प्राधिकरण सफल भएको हो । त्यसले प्राधिकरणको आर्थिक स्वास्थ्यलाई सुधार गर्नसमेत बल मिलेको छ ।



चालु आवमा वितरणतर्फको विद्युत् चुहावटलाई ८.५० प्रतिशतमा सीमित गर्ने लक्ष्यका साथ प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार तथा विस्तारमा ध्यान केन्द्रित गरेको छ ।

आव २०७२-७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५-७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको थियो । चालु आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखिएको छ । सामान्यता प्राविधिक चुहावट घटाउन ठूलै मेहनत जरुरी पर्छ । तर त्यसलाई समेत क्रमशः घटाउँदै जाने प्राधिकरणको लक्ष्य रहेको छ ।

चुहावट नियन्त्रणबाट मात्रै वार्षिकरुपमा रु १० अर्ब थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनले विद्युत् चुहावट घटाउने, संस्थाभित्रको वित्तीय तथा प्रशासनिक बेतिथी नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्नेलगायतका निर्देशन प्राधिकरण व्यवस्थापनलाई दिएका छन् ।

सम्बन्धित समाचार