महेश कठायत
काठमाडौं, ७ फागुन ।
संघीय राजधानी काठमाडौं उपत्यकाको सडक यातायात सधै अस्तव्यस्त हुने गरेको छ । देशभर करिब ३५ लाख सवारी साधनहरूमध्ये करिब १२ लाख सवारीहरू काठमाडौं उपत्यकामा गुड्ने गरेका छन् । अत्याधिक सवारीको संख्या, सडकमा हुने गरेका विकास निर्माणका कामहरू र साँघुरा सडकहरूका कारण यातायात व्यवस्थापनमा समस्या देखिएको भने अर्कोतर्फे हिजोआज ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक सरदर २२ सयदेखि २५ सयजना सवारी चाकहरू कारबाही पर्ने गरेका छन् ।
यी विभिन्न कारणका बाबजुद पनि उपत्यकामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि करिब १४ सय ट्राफिक जनशक्ति दिनहुँ सडकमा खटिरहेका हुन्छन् । तर पनि सडकमा जथाभावी ट्राफिक नियम उल्लङ्घन गर्दै सवारीहरू गुडिरहेका छन् । सवारी नियम उल्लङ्घन गर्ने र ट्राफिकलाई छलेर हिँड्नेलाई पनि ट्राफिकले कारबाही गर्ने गरेको छ । सडकलाई यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले आधुनिक प्रविधिको प्रयोग गर्दै १६ सय ८४ ठाँउमा सिसिटिभी जडान गरेर प्रहरीले सिसिटिभीको माध्यमबाट चालकले ट्राफिक नियम पालना गरेको नगरेको अनुगमन गरिरहेको छ ।
जेब्रा क्रसिङ, सडकपेटी, आकासेपुलबाट बाटो नकारटेर जथाभावीबाट लापरबाहीपूर्वक असुरक्षित रूपमा बाटो काट्ने पैदल यात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न ट्राफिकले अनुरोध गर्दै आइरहेको छ । सवारी दुर्घटना के हो ? सवारी दुर्घटनका असर के के हुन ? बाटो काट्दा मान्छेको ज्यान कसरी जान सक्छ ? यदि दुर्घटनाबाट अंगभंग भयो भने परिवारमा कस्तो असर पर्छ ? आदिका बारेमा जानकारी गराउन लक्ष्य राखी ट्राफिक प्रहरीले अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रीहरूलाई सडक प्रयोग र ट्राफिक नियमका बारेमा जनचेतना जगाउने उद्देश्यले २० मिनेटको सचेतनामूलक कक्षा पनि दिइरहेका छ ।
त्यसैगरी सवारी चाकहरूका लागि पनि ट्राफिकले विभिन्न समयमा उनीहरूको पायक पर्ने ठाँउमा गएर नै सचेतना क्लास लिने गरेको छ । विभिन्न विद्यालय र कलेजहरूमा गएर सवारी नियम के छ ? सवारी नियम उल्लङघन गर्दा कस्तो कारबाही हुन्छ ? सवारी दुर्घटनामा कसरी परिन्छ ? सवारी चलाउदा कसलाई बढी प्राकथामिकता दिने ? सवारी दुर्घटना न्युनीकरण कसरी गर्न सकिन्छ भनेर सचेत गराउने र नियम उल्लङघन गरे कस्तो कारबाही हुन्छ भनेर पनि जानकारी दिदै आइरहेको छ ।
ट्राफिक कारबाहीमा पर्नेहरूमा अहिले सबैभन्दा बढी लापरबाही गरेर सवारी हाक्ने, लेन मिच्ने, जेब्रा क्रसिङमा रोक्ने बढी स्पीडमा सवारी हाक्ने, लाइसेन्स बिलबुक नबोक्ने, मापसे गरेर चलाउनेहरू रहने गरेका छन् । सडक दुर्घटना जानीजानी नभए पनि दुर्घटनाको मुख्य कारण भनेको चालकको लापरबाही नै देखिन्छ । त्यस्तै सडक दुर्घटनामा परी पैदल यात्रुको मृत्यु हुनुमा केही हदसम्म सवारी चालकको लापरवाही देखिन्छ भने पैदल यात्रु स्वयम्को पनि असावधानी देखिन्छ ।
ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका लागि ट्राफिक महाशाखाले विभिन्न समयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । पछिल्लो समयमा ट्राफिकले विशेषगरी जनचेतनाका लागि ‘ट्राफिक उज्यालो अभियान’ सञ्चालन गरेको छ । यात्रुमैत्री व्यवहार हुन्छ कि हुँदैन ? भनेर सार्वजनिक यातायातहरूमा अनुगमन गरिरहेको अवस्था छ । पैदल यात्रुहरू विभिन्न फुटपात, जेब्रा क्रसिङ, आकासे पुलबाट हिड्नुपर्ने र पैदल यात्रुले बाटो काट्दा सही ठाँउबाट हिँडेको छ या छैन ? अनुगमन भइरहेको छ भने त्यस्तो ठाँउबाट नहिड्नेहरूलाई २० मिनेटको सचेतना कक्षा दिने काम पनि भइरहेको छ । दैनिक रूपमा मापसे चेकिङ र सवारी साधन ठिक छ कि छैन ? भनेर चेकिङ गर्ने काम पनि भइरहेको छ । लेन मिचेर हिड्ने सवारी चालकहरूको लागि १ घण्टाको सचेतना क्लासहरू पनि दिइनेगरिएकोे छ । एफएमबाट पनि सवारी नियमका बारेमा प्रचारप्रसार भइरहेको छ । ट्राफिकले सवारी नियमको बारेमा सामिजिक सञ्जाल फेसबुक, टुइटर आदिबाट पनि प्रचारप्रसार गरिरहेको छ भने यस्ता माध्यमबाट आइरहेका गुनासाहरूको हल पनि गर्ने गरेको छ । पुसबाट शुरू गरेको तीन महिने ट्राफिक उज्यालो अभियानका क्रममा अहिलेसम्म लगभग ८० हजारभन्दा बढीलाई सचेतना कक्षा दिइसकिएको छ ।
(महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसँगको कुराकानीमा आधारित)