७५ वर्ष हुँदा पनि पढ्ने चाहना मरेन

उमेश्वरमान प्रधान (७७) र केशरीमाया प्रधान (७६) ले दुई वर्षअघि मात्र नेपाल भाषामा स्नातकोत्तर गरे । दुवैको यो दोस्रो स्नातकोत्तर हो । प्रधान दम्पतीले अवकाशपछिको जीवनलाई सक्रिय बनाउन नेपाल भाषाको औपचारिक अध्ययन गर्ने निर्णय गरेका थिए ।

केशरीमायाले २०२५ सालमा त्रिचन्द्र क्याम्पसबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । स्नातकोत्तरपछि विद्यालयमा पढाउन थालिन् । २०४९ देखि २०५१ सालसम्म विज्ञान अनुसन्धान प्रयोगशाला बल्खुमा अनुसन्धान वैज्ञानिक पनि भइन् ।



दरबार हाईस्कूलबाटै २०१७ सालमा एसएलसी उत्तीर्ण गरेपछि उमेशमान बालकुमारी विद्यालयमा शिक्षक भए । आमाबुवाको रुचि सरकारी सेवामा थियो । त्यसैले २०२० सालमा जिल्ला पञ्चायत कार्यालयबाट सरकारी जागिर शुरू गरे । बढुवाको लागि शैक्षिक योग्यता अनिवार्य भयो । अनि अध्ययन गर्दै जाँदा २०३० सालमा अर्थशास्त्रमा स्नातकोत्तर गरे ।

उमेशमानले २०५८ सालमा नै अवकाश पाइसकेका थिए । केशरीमायाले पनि २०६३ सालमा अवकाश पाइन् । बिहान कुलेश्वरको भुवनेश्वरी मन्दिर प्राङ्गणमा दैनिक योग सिकाएर समय बित्थ्यो । तर, दिउँसो केही काम थिएन । केशरीमाया भन्छिन्, ‘एक दिन अचानक नेपाल भाषामा स्नातकोत्तर गर्ने सल्लाह भयो तर, छोराछोरी र बुहारीलाई भन्न संकोच लाग्यो ।’

पढ्ने दृढ सङ्कल्पका कारण उनीहरू परिवारमा सल्लाह नगरी पाटन क्याम्पस पुगे । प्राध्यापकहरूले पनि उत्प्रेरणा दिए । केही समय घरमा जानकारी नदिई कक्षा लिन गए । उनी भन्छिन्, ‘शुरूमा त हामी योग कक्षा जाने बहाना बनाएर पढ्न गयौं । तर, छोराबुहारीले थाहा पाएपछि झनै खुशी भए ।’ कक्षामा २२/२५ वर्षका युवाहरू साथी हुँदा आफूहरूलाई पनि रमाइलो लागेको उनी बताउँछिन् ।

कक्षामा मात्र होइन घरमा पढ्दा पनि श्रीमान् र श्रीमतीले एकअर्कालाई मद्दत गरे । तर, दुवै एकअर्काका प्रतिस्पर्धी पनि थिए । यो प्रतिस्पर्धाले उनीहरूलाई युवा जोश दिलायो । परीक्षा सकेपछि धेरैले शोधपत्रका लागि दौडधूप गर्नुपर्ने हुनाले त्यसको साटो परीक्षा नै दिन सुझाव दिए । तर, उनीहरूले भने शोधपत्र नै गर्ने सल्लाह गरे, खासगरी उमेश्वरमानको जोडले ।

नतिजा आउँदा केशरीमायाले शोधपत्रमा सबैलाई उछिनिन् । ‘प्रथम हुनु ठूलो कुरा होइन । प्रमाणपत्रका लागि पढेका पनि होइनौं । यो उमेरमा नेपाल भाषाबारे ज्ञान लिन पायौं त्यसमा सन्तुष्टि मिलेको छ’, उनी भन्छिन् ।

पढ्नका लागि संघर्ष

केशरीमायाको जन्म २००० सालमा काठमाडौंको सम्पन्न परिवारमा भएको थियो । छोरीलाई पढाउनुहुँदैन भन्ने मान्यता भएकाले उनका बुवाले विद्यालय पठाएनन् । तर, उनको पढाइप्रति तीव्र लगाव थियो । उनी भन्छिन्, ‘आफन्त, बुवाआमा र दाजुहरूले केही उपहार दिंदा त्यसको साटो पैसा मागेर कापी किन्थें । मेरो पढ्ने लगाव देखेर बुवाको मन पग्लियो ।’

बुवाले उनलाई विद्यालय भर्ना गरिदिए । अनि त आफन्तले नै कुरा काट्न थाले । उनी पढ्नमा अब्बल भएका कारण बुवाआमाले अरूका कुरा सुनेनन् । केशरीमायाले २०१७ सालमा एसएलसी उत्तीर्ण गरिन् ।

पढ्नका लागि उमेश्वरमानले पनि संघर्ष गर्नुपर्‍यो । त्यो समय पढ्न जानेहरू धेरै कम थिए । काका बालकुमारी विद्यालयका प्रधानाध्यापक भएकाले उनले आफ्नै स्कूलमा भर्ना गरिदिए । सबै साथी नेवार भएकाले कक्षा ८ सम्म शिक्षकले पनि नेपाल भाषामा नै पढाउँथे ।

कक्षा ९ मा उनी दरबार हाईस्कूल भर्ना भए । त्यहाँ नेपालीमा पढाइ हुन्थ्यो । उनी भन्छन्, ‘माथिल्लो कक्षामा एक्कासी नेपाली भाषा सिक्नु पर्दा निकै गाह्रो भयो । कति साथीले त पढ्नै छाडिदिए ।’

दुवै जना जागिरे थिए । उनीहरूको बिहेको कुरा घरपरिवारबाटै चल्यो । आमाबुवाले नै तय गरेपछि २०३० सालमा बिहे भयो । बिहे गर्दा दुवैले पहिलो स्नातकोत्तर सकिसकेका थिए ।

सम्बन्धित समाचार