नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।
नेपाली गीत सङ्गीतको दुनियामा एक परिचित नाम हो रामु खड्का । सल्यानको ढाकाडाम, भालुखोलामा जन्मेका रामु खड्का विगत एक दशकभन्दा बढी समयदेखि राजधानी काठमाडौंलाई कर्मथलो बनाएर गीत सङ्गीत क्षेत्रमा लागिपरेका छन् । नेपाली गीत सङ्गीतको क्षेत्रलाई आजका दिनसम्म आइपुग्दा करिब एक हजार भन्दा बढी गीत दिइसकेका खड्काले ‘राप्ती म्युजिक अवार्ड–२०७१’, ‘राष्ट्रिय लोकदोहोरी म्युजिक अवार्ड–२०७३’, ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७३’, ‘छायाछवि तीज म्युजिक अवार्ड– २०७५’, ‘इपिक नेपाल म्युजिक अवार्ड–२०७५’ पाइसकेका छन् । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका रामु खड्का गायनमा, शब्द सिर्जना गर्न र सङ्गीत भर्नमा क्रियाशील छन् । गीत सङ्गीतका सबैजसो क्षेत्रमा क्रियाशील भए पनि आफूलाई सबैभन्दा बढी सङ्गीतकारकै रूपमा चिनाउन चाहने उनै रामु खड्कासँग नवकान्तिपुर संवाददाता महेश कठायतले गरेको कुराकानी :
पछिल्लो समयमा तपाई केमा व्यस्त हुनुहुन्छ ?
नेपाली गीत सङ्गीत क्षेत्रभित्रको कलाकार, सङ्गीतकार भइसकेपछि त्यसैमा लाग्नु पर्ने पहिलो प्राथामिकता रहन्छ । त्यसैले पनि यही गीत सङ्गीत क्षेत्रमै लागिपरेको छु । यो बाहेक पनि आफ्नै किसिमको दैनिकी त भइरहन्छ नै ।
शुरूमा तपाइले गीत सङ्गीत क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
म २०६४ सालमा एसएलसी दिएर काठमाडौं आएँ । त्यसपछि ‘प्लस टु’ पढ्दाखेरी नै २०६५–६६ सालतिर गीत सङ्गीत क्षेत्रमा लाग्न थालेँ । शुरूमा मैले २०६७ सालमा सन्तोष बानियाँको शब्द र मेरो आफ्नै सङ्गीतमा रामजी खाड र टीका पुनको आवाजमा ‘साथी बनेर…’ बोलको गीत बजारमा ल्याइसकेपछि नै म आफू सफलताको बाटोतिर गतिशील भएको हुँ भन्ने ठान्दछु ।
गीत–सङ्गीतमा बाल्यकालदेखि नै रूचि भएर यो क्षेत्रमा प्रवेश गर्नु भएको हो ?
मेरा दुई दिदी, दुई बहिनी र म एक्लो छोरा हुँ । हाम्रो घरदेखि स्कुल टाढा भएकोले दिदीहरूले पढ्न पाउनु भएको थिएन । तर दिदीहरूले एक्लो भाइ छ, भाइलाई पढाउनै पर्छ भनेर मलाई बोकेर स्कुल पुर्याउनु हुन्थ्यो । त्यो बेला दिदीहरूले मलाई पिठ्युमा बोकेर स्कुल पुर्याउँदा गीत गुनगुनाउथेँ । तर त्यस बेला कस्तो गाइन्थ्यो ? के गाइन्थ्यो ? त्योचाहिँ स्मरण छैन तर सानैदेखि नै प्रायः गीत भने गुनगुनाएकै हुन्थेँ । त्यसैले विगतको त्यो अज्ञात समयदेखि नै मेरो गीत–सङ्गीतमा रूचि थियो भन्दा हुन्छ ।
तपाई काठमाडौं आउँदा अध्ययनका लागि भनेर आउनु भएको थियो या कलाकार बन्ने सपना बोकेर ?
भौगोलिक दृष्टिकोणले विकट सल्यानको ढाकाडाम, भालुखोला मेरो जन्मस्थल हो । मैले १ देखि ३ कक्षा सम्म सल्यानमै र कक्षा ४ देखि १० कक्षासम्म रूकुममा पढेँ । म मेरो गाँउबाट एसएलसी पास गर्ने पहिलो व्यक्ति हुँ । बाआमाको सपना छोरालाई पढाएर शिक्षक बनाउने थियो । तर मेरो चाहना फरकखालको भइसकेपछि मैले काठमाडौं आउने निर्णय गरेँ । म काठमाडौं आउने कुरामा परिवारको सहमति थिएन । परिवारको सहमति नभइसकेपछि मैले परिवारसँग सिधै भन्न नसकेर टेपमा रेकर्ड गरेँ ‘मलाई कुनै हालतमा नरोक्नु होला । बरू म दाङ गएर साइन्स पढ्छु । तर म एकचोटी गीत निकालेरै आउँछु । यसमा मेरो चाहाना छ । मलाई नरोक्नु होला ।’ घरपरिवारलाई चिन्ता थियो, म कहाँ जान्छु होला भनेर । म दाङ हुँदै काठमाडौं आएँ । शुरुवातको मेरो काठमाडौंको बसाइ अत्यन्तै कष्टपूर्ण नै रह्यो ।
काठमाडौंमा आइसकेपछि मैले पहिला कलाकारहरूसँग भेट्न थालेँ । उहाँहरूलाई आफूले पनि गीत गुनगुनाएर सुनाउन थालेँ । उनीहरूले पनि सुझाव सल्लाह पनि दिँदै गए । गीत सङ्गीतमा लाग्ने चाहाना हुँदाहुँदै पनि त्यसबेला विद्यार्थी जीवनमा आर्थिक अभाव हुन थाल्यो । त्यतिबेला म कीर्तिपुर बस्थेँ । आर्थिक सङ्कट भएपछि के गर्ने भनेर रन्थनियो । पछि साथीहरूसँग मिलेर कम लगानीमा के गर्न सकिन्छ भनेर सोच्तैगर्दा कालीमाटीबाट तरकारी ल्याउने र कीर्तिपुरमा बेच्ने भन्ने पनि सोच बनायौं । र, अन्ततः साथीहरूसँग मिलेर काठमाडौंबाट तरकारी कीर्तिपुर लगेर बेची केही खर्च जोहो गर्यौं पनि ।
एकदिन कलेजमा एकजना नयाँ साथीसँग भेट भयो । सन्तोष बानियाँ नामका ती साथी अहिले स्वर्गीय भइसके । उनले त्यसबेला मलाई भने– ‘तपाईलाई गीत सङ्गीतप्रति चासो छ । मसँग एउटा गीत छ, तपाई सङ्गीत भर्नुहोस्, कसैलाई गाउन दिउँला ।’ अनि उनले गीत देखाउनु भयो । गीतको बोल थियो ‘अब दिन बिताउला साथी बनेर…।’ मलाई अत्यन्तै मन पर्यो । अनि मैले त्यो गीतमा सङ्गीत भरेँ । शुरूकै गीतले यति सफलता पायो की त्यही गीत अवार्डको लागि नोमिनेसनमा समेत पर्यो । त्यो बेला मैले सङ्गीत गरेको गीत नोमिनेसनमा पर्दा एकखालको खुसी लाग्यो भने त्यही गीतबाट पारिश्रमिक पाउँदा अर्को खुसी थपियो । यसरी म अगाडि बढ्दै गएँ ।
तपाई सङ्गीत, गायन र गीत रचनामध्ये सबैभन्दा बढी कुन क्षेत्रमा लाग्नु भएको छ ?
नेपाली लोक सङ्गीतभित्र, लोक दोहोरीभित्र धेरै प्रकारका विद्याहरू छन् । त्यसमा सङ्गीतसँग सम्बद्ध रहने भनेका शब्द हो र त्यसपछि गायन हो । सङ्गीत, शब्द र गायन यी तीन कुरा समायोजन गरेर लगभग एउटा गीत निर्माण हुन्छ । तर मेरो पेशा सङ्गीत भएका कारण मलाई सङ्गीत गर्न कुनै गाह्रो हुँदैन । त्यस्तै शब्द लेख्न पनि गाह्रो लाग्दैन, ठिकै लाग्छ । सबै विद्यामा मैले काम गरिरहेको भए पनि सङ्गीतमा म बढी नै लागेको छु । गीत सङ्गीतको विद्यामा सबैभन्दा गाह्रो विद्या भनेको सङ्गीत भर्नु हो । सङ्गीत सिर्जना गर्नु भनेको नयाँ चिजलाई जन्म दिनु जस्तै हो ।
एउटा गीत चल्दा त्यो गीतका सङ्गीतकारभन्दा गायककारहरू बढी परिचित हुन्छन्, तपाईले यसलाई कसरी हेर्नु हुन्छ ?
गीतसङ्गीतमा यस्तो हुनु भनेको नेपालमा मात्र नभएर अन्तर्राष्टियस्तरमा पनि यही नै हुन्छ । तर खास गीतमा मुख्य भूमिका भनेकै सङ्गीतकार नै हुन्छ तर परिचित हुनुपर्नेमा हिसाबमा भन्ने हो भने सङ्गीतकार गौण नै हुन्छन् । हुन त हामी अन्य देशको तुलनामा अलिकति पछाडि नै छौं । किनभने अन्य देशमा गायकले कुनै स्टेजमा आफ्नो गीत गाउँदा सङ्गीतकार र गीतकारलाई रोयल्टी तिर्छन् र उनीहरूको अनुमति माग्छन् । नेपालमा त्यस्तो अभ्यास अहिले अलिअलि देखिन थालेको छ नत्र खासै त्यस्तो अभ्यास नेपालमा छैन ।
गीत सङ्गीतको यात्रामा तपाई चिनाउने गीतहरू सम्झिनु पर्दा कुन कुन गीत सम्झनु हुन्छ ?
त्यस्ता गीतहरू धेरै नै छन् । ‘साथी बनेर…’, ‘मर्ने मिति…’, ‘हार्दिक श्रदाञ्जली…’, ‘नियति…’, ‘स्वर्ण पदक…’, ‘रोएर हेर…’, ‘कसको सिन्दुर…’, ‘खोली किनार…’, ‘मेरो माया लग्यौ आफन्तले…’, ‘भगावानलाई झुक्ने गराउँछु…’ लगायतका थुप्रै गीतहरू सम्झन योग्य लाग्छन् ।
अहिलेको गीत सङ्गीतको बजारलाई तपाईले कसरी हेर्नु भएको छ ?
यो विषयमा मेरो धारण अलि फरक छ । धेरै साथीहरू भन्छन् ‘गीत सङ्गीतमा पैसा छँदैछैन । गीत सङ्गीत नै ध्वस्त भइसक्यो, यहाँ केही छैन ।’ म के देख्छु भने गीतसङ्गीतमा अथाह पैसा छ, अथाह सम्भावनाहरू छन् । तर कुरा के हो भने व्यवस्थित छैन । हामी आफैं सच्चियांै र गीत सङ्गीतलाई व्यवस्थित गर्न सक्यौं भने यो क्षेत्रमा जति पैसा कतै छैन । गीत सङ्गीत क्षेत्र भनेको अरू क्षेत्रभन्दा नाम, दाम र काम तीनवटै दृष्टिकोणले अगाडि छ ।
यति धेरै सम्भावना भएको क्षेत्रमा चुनौती के देख्नु हुन्छ ?
जहाँ सम्भावना हुन्छ, त्यहाँ चुनौतीहरू अवश्य पनि हुन्छन् । चुनौती सबैभन्दा पहिला आफूमा नै छ । जस्तै, मेरा जति पनि गीतहरू छन् त्यसको रेकर्ड अहिले मसँगै छैन । यो सबैभन्दा ठूलो चुनौती हो । तपाईको बौद्धिक सम्पत्ति तपाई आफैंसँग छैन भन्नु त नराम्रो हो नि । यो धेरै साथीहरूको साझा समस्या हो । हाम्रो सिर्जनाहरू कहाँ छन् ? क–कसलाई दिइएका छन् ? कसरी प्रयोग भइरहेका छन् ? कुन कुन ठाँउमा दुरूपयोग भइरहेका छन् ? भनेर हेर्ने निकाय नै छैन । अहिले पछिल्लो समयमा आएर रेडियो नेपाल, नेपाल टेलिभिजनले त्यसतर्फ ध्यान दिएको पाइन्छ । अब विस्तारै समस्या समाधान हुँदै जाला । हाम्रो चाहाना के हो भने सकेसम्म राज्यले गीत सङ्गीतलाई बौद्धिक सम्पत्तिअन्तर्गत राखेर एउटा ऐन नै बनाइदियो भने सजिलो हुने थियो भनेर अग्रज दाइहरू, दिदीहरू लगिरहनु भएको छ । आशा छ, यो समस्या पनि समाधान हुन्छ ।
गीत सङ्गीतमा अवार्डको के महत्व रहन्छ र पछिल्लो समयमा हुने गरेका अवार्ड कार्यक्रलाई तपाईले कसरी लिनु भएको छ ?
कलाकारहरूका लागि अवार्ड र सम्मान पाउनु सान्र्दभिक कुरा हो र यसले ठूलो अर्थ राख्दछ । यसले कलाकारलाई अघि बढ्ने हौसला प्रदान गर्छ । तर कतिपय अर्वाड कार्यक्रलाई हेर्ने हो भने विवादित पनि बन्ने गरेका छन् । राम्रो भन्दा नराम्रो बढी भएको हो कि भन्ने कतिपयलाई भान भएको छ । यसले गीतसङ्गीतलाई नै धरापमा पार्ने खतरा बढ्ने गर्छ । त्यसैले यो विषयमा हामीले समयमै सचेत हुन जरूरी छ ।
नेपाली गीत सङ्गीतको जर्गेना गरी विश्वसामु चिनाउन व्यक्ति, कलाकार र राज्य कसको भूमिका के रहन सक्छ ?
गीत सङ्गीत जर्गेनाका लागि राज्यतर्फबाट खास केही भएको देखिदैन । तर व्यक्ति र केही संघसस्थाहरू भने गीत सङ्गीतको जर्गेना गर्न प्रचार प्रसारको लागि लागिपरेका देखिन्छन् । राज्यको तर्फबाट भन्दा पनि बढी व्यक्तिबाट अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार प्रसार गरेको पाइन्छ । अहिले विभिन्न कलाकारहरू विदेशमा गएर त्यहाँ रहेका नेपालीहरू माझ गएर प्रस्तुति देखाउँदा पनि एकखालको प्रचार प्रसार त भयो नै । गीत सङ्गीतको संरक्षण र प्रचारप्रसारका लागि राज्य, व्यक्ति र कलाकर स्वयम जिम्मेवार बन्नु पर्छ ।
तपाई सङ्गीत र सङ्गीतकारलाई कसरी परिभाषित गर्नु हुन्छ ?
यसको धेरै गहन परिभाषा त म दिन सक्दिन । तर मेरो विचारमा नेपालको सन्र्दभलाई हेर्ने हो भने सङ्गीत भनेको नेपालको लोक लयमा आधारित रहेर नेपाली लोकलाई नेपाली लोकको मन मस्तिष्क पगाल्न सक्ने एक किसिमको पदार्थ हो । सङ्गीतकार भनेको नेपालको लोक पेरिफेरिमा रहेर नेपालका लोकहरूलाई मनपर्ने नेपालको लोकहरूको मस्तिष्कलाई तरङगीत पार्ने चिजलाई मेकिङ गराएर अर्थात् धेरै चिज मिलाएर एउटा चिजको निर्माण गर्छ, त्यो निर्माणकर्ता नै सङ्गीतकार हो । यसको एक उदाहरण म पनि हुँ ।
तपाईको विचारमा सङ्गीतकार बन्न के के कुरामा ध्यान दिनु पर्छ ?
सङ्गीतकार मात्र होइन, गीत सङ्गीतमा लाग्दा पहिलो कुरा त हचुवा भरमा लाग्नु भएन । शुरूमा आफ्नो रूचि र क्षमतालाई पहिचना गर्न सक्नुपर्छ । आफ्नो रूचि चाहना कुन क्षेत्रमा छ ? गायनमा छ कि ? गीत सिर्जनातर्फ छ कि या सङ्गीत गर्नमा छ ? पहिचान गर्नुपर्छ । त्यसपछि त्यो क्षेत्रसँग सम्बन्धित शिक्षण संस्थाहरूमा गएर सिक्नुपर्छ र आफ्नो रूचिअनुसारको ज्ञान हासिल गरिसकेपछि बल्ल गीत सङ्गीत क्षेत्रमा अथवा आफूले रोजेको क्षेत्रमा प्रवेश गर्नु राम्रोे हुन्छ ।
अन्त्यमाः नेपाली गीत सङ्गीत हामी जुन समयदेखि सुन्न थाल्यौं, अहिलेको अवस्था त्यस्तै छैन । समय र परिस्थिति अनुसार गीत सङ्गीत पनि बदलिदै गइरहेका छन् । त्यसको मतलब गीत सङ्गीत नै परिवर्तन हुँदै गएर सिद्धिने बेला आयो भन्ने होइन । गीत सङ्गीतको धरातल आज पनि त्यही छ अर्थात् गीत सङ्गीतमा हुनुपर्ने मौलिकता त्यही छ, जसले गर्दा आज त्यसैको आधारमा टेकेर गीत सङ्गीत अघि बढिरहेको छ । अहिलेको नयाँ पुस्ता र पहिलेको पुरानो पुस्तालाई जोडेर कसरी गीत सङ्गीतमा गोल हान्न सकिन्छ भनेर म पनि लागिपरेको छु । त्यस्ता खाले मेलोडीहरू पनि मैले बनाएको छु । जहाँसम्म लाग्छ, छिटै नै बजारमा आउने छन् । अबको केही दिनपछि मैले र विष्णु माझीले गाएको एउटा नयाँ गीत मालती डिजिटल प्रालिमार्फत बजारमा आउँदैछ, यो पनि जानकारी गराउन चाहन्छु ।