विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो यी १५ सुझाव

कोरोना भाइरस ‘कोभिड–१९’ हाल १०० भन्दा बढी मुलुकमा फैलिएको छ । यसको संक्रमणबाट अहलिेसमम ४००० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने १ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म ५८ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।

कोरोनाको प्रकोप विश्वव्यापी बन्दै जाँदा यस भाइरससँगै यसबारेको विभिन्न भ्रम र हल्लाका कारण पनि त्रास झन बढेको यस क्षेत्रमा संलग्न निकायहरुले बताएका छन् ।



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाबारे सचेतना जगाउनु पर्नेमा भ्रामक अफवाह फैल्याउने कार्य निन्दनीय भएको बताएको छ । डब्लूएचओले कोरोनाबारे फैलिएका भ्रम हटाउन हालै १५–बुँदे सुझाव सार्वजनिक गरेको छ । गलत अफवाहलाई चिर्न पनि ती १५–बुँदे जानकारी सम्प्रेषित गर्न आवश्यक भएको डब्लूएचओले बताएको छ ।

यस्ता छन् डब्लूएचओका जानकारीः

१. चिसो मौसम र हिउँले कोरोना भाइरस मार्दैन

चिसो मौसम र हिउँले कोरोना भाइरस मार्छ भन्ने भ्रमहरु फैलिएका छन् । त्यसमा सत्यता छैन। कोरोनाबाट बँच्ने सबैभन्दा उत्तम उपाय भनेको पटकपटक हात धुनु हो । अल्कोहल मिसिएका ह्यान्ड सेनिटाइजर समय समयमा हातमा लगाउनुपर्छ र साबुन पानीले हात धुनुपर्छ ।

२. तातो पानीले कोरोनाबाट जोगाउँदैन

तातो पानीले स्नान गर्दा कोरोना भाइरसबाट बँच्न सकिन्छ भन्ने भ्रम छ । नुहाउँदा हाम्रो शरीरको तापक्रम ३६.६ डिग्री सेल्सियसदेखि ३७ डिग्री सेल्सियसको हुन्छ । वास्तवमा ज्यादै तातो पानीले नुहाउँदा तपाइँको शरीर जल्नसक्छ यसले कोरोनाबाट जोगाउँदैन ।

कोभिद–१९ बाट जोगिन हात धुनु नै उपयुक्त उपाय हो । हामीले हातले आँखा, मुख र नाकमा छोइरहेका हुन्छौं । हात धुँदा हामीले भाइरसलाई हटाउन सक्छौं त्यसकारण संक्रमणको खतरा टरेर जान्छ ।

३.नयाँ कोरोना भाइरस चीनमा उत्पादित सामाग्रीबाट सर्दैन

कोरोना चीनमा उत्पादन भएका सामाग्रीबाट सर्छ भनेर हल्ला फिँजिरहेका छन् । त्यो सत्य होइन । कोरोना भाइरस जमीनमा केहीघण्टा अथवा केही दिनसम्म बाँच्नसक्छ तर चीनमा उत्पादित सामाग्रीले नै भाइरस सर्छ भन्नु गलत हो । कोरोना भाइरस मार्नका लागि हामीले औषधिको प्रयोग गर्नसक्छौं ।

कोरोना प्रभावित जुनसुकै राष्ट्रबाट निर्यात भएका सामाग्रीमा कोरोनाको संक्रमण भएको हुनसक्छ । उक्त सामाग्रीहरुलाई औषधिको प्रयोगगरी कीटाणुरहित बनाउन सकिन्छ । यदी जमीनमा कोरोनाको संक्रमण छ भन्ने लागेमा त्यसलाई पनि औषधिले भाइरसमुक्त गर्न सकिन्छ । तर त्यसपछि हात धुन बिर्सनु हुँदैन । अल्कोहल मिसिएका ह्यान्ड सेनिटाइजर समय समयमा हातमा लगाउनुपर्छ र साबुन पानीले हात धुनुपर्छ ।

४. कोरोना भाइरस लामखुट्टेको टोकाइबाट सर्छ ?

हालसम्म लामखुट्टेको टोकाइबाट कोरोना भाइरस सरेको प्रमाण भेटिएको छैन । कोरोना भाइरस स्वासप्रस्वासजन्य भाइरसबाट सरेको देखिएको छ । कोरोना भाइरसको संक्रमण कफ र रुघाखोकी लागेका मानिसबाट निस्कने (याल, नाकबाट निस्कने पानीले चाँडै फैलन्छ। यसबाट बँच्न कफ र रुघाखोकी लागेको मानिस नजिक जानुहुँदैन । अल्कोहल मिसिएका ह्यान्ड सेनिटाइजर समय समयमा हातमा लगाउनुपर्छ र साबुन पानीले हात धुनुपर्छ ।

५.  ह्यान्ड ड्रायरले कोरोना भाइरस मार्छ ?

हात सुकाउन प्रयोग हुने ह्यान्ड ड्रायरले कोरोना भाइरस मार्दैन । कोरोनाबाट बच्न अल्कोहल मिसिएका ह्यान्ड सेनिटाइजर समय समयमा हातमा लगाउनुपर्छ र साबुन पानीले हात धुनुपर्छ । त्यसपछि चाँही ह्यान्ड ड्रायर प्रयोग गर्न सकिन्छ । तौलियाले हात पुछ्नुपर्छ ।

६. अल्ट्रा भायोलेट डिसइन्फेक्सन ल्याम्पले कोरोना मार्छ ?

अल्ट्रा भायोलेट डिसइन्फेक्सन ल्याम्पको प्रयोग गर्नुहुँदैन । यसले छालामा समस्या निम्त्याउन सक्छ ।

७. थर्मल डिटेक्टरले कोरोना संक्रमित पत्ता लगाउँछ ?

थर्मल स्क्यानरले बिरामी मानिस पत्ता लगाउँछ । यसले सामान्यभन्दा बढी तापक्रम भएको मानिस पहिचान गर्छ । कोरोना लागेका पनि बिरामी भएका हुनसक्छन् । तर हालै कोरोना लागेका जसलाई ज्वरो छैन त्यस्ता मानिसलाई भने थर्मल डिटेक्टरले पत्ता लगाउँदैन । कोरोना लागेको २ या १० दिनपछि मात्र मानिस बिरामी पर्छन् ।

८. अल्कोहल र क्लोरिन शरीरमा छर्किए के कोरोनाभाइरस मार्न सकिन्छ ?

शरीरभर अल्कोहल र क्लोरिन छर्कँदा कोरोनाभाइरस मार्न सकिँदैन । शरीरमा पसिसकेको कोरोनाभाइरसलाई मार्ने बहानामा त्यस्तो कार्य गरिए तपाइँको स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्छ । तर जमीनमा रहेका कोरोनाभाइरसलाई डिसइन्फेक्ट ९संक्रमण निस्तेज० गर्न अल्कोहल र क्लोरिन प्रयोग हुन्छन् । उपयुक्त समयमा यसको प्रयोग गर्नु उचित हुन्छ ।

९. घरेलु जनावरले कोरोना सार्छ ?

अहिलेसम्म कुकुर र बिरालोजस्ता घरेलु जनावरले कोरोना सारेको त्यस्ता कुनै प्रमाण भेटिएका छैनन् । यस्ता जनावरमा पनि कोरोनाको संक्रमण देखिएको छैन । तर जनावरहरुसँगको सम्पर्कपछि आफूलाई जोगाउन हात धुनु राम्रो उपाय हो । हात धोएमा हामी इकोली र सालमोनेलाजस्ता ब्याक्टेरियाबाट जोगिन्छौं ।

१०. निमोनियाविरुद्धको भ्याक्सिनले कोरोनाबाट जोगाउँछ ?

निमोकोकल र हेमोफिलर इन्फ्लुइन्जा टाइप बीजस्ता भ्याक्सिन जो निमोनियाबिरुद्ध प्रयोग हुन्छन् यसले कोरोनाभाइरसबाट जोगाउँदैन । कोरोनाभाइरस नयाँ भाइरस हो र यसबाट जोगिन नयाँ भ्याक्सिन चाहिन्छ । विश्वभरका वैज्ञानिकले यतिबेला कोरोनाविरुद्धको भ्याक्सिन निर्माण गर्न लागिपरेका छन् । डब्लूएचओले सबै प्रयत्नलाई सहयोग गरिरहेको छ । निमोनियाका भ्याक्सिनहरुले कोरोना नियन्त्रण नगरे पनि भ्याक्सिनको प्रयोगले स्वासप्रस्वासको बिमारलाई रोकथाम भने गर्दछ ।

११. नाक सफा गर्नाले कोरोनाबाट जोगिन सकिन्छ ?

औषधिको सहयोगमा नाक सफा गर्नाले रुघा चाँडै निको हुने सम्भावना देखिएको छ । नाक सफा गर्नाले स्वासप्रस्वास प्रक्रियाको संक्रमण रोक्न सकिँदैन । साथै यसो गर्नाले कोरोनाबाट जोगिन सकिन्छ भनेर केही प्रमाण छैन ।

१२. लसुनको सेवनले कोरोना रोकथाम हुन्छ ?

लसुनमा जीवानुमार्ने गुणहरु हुन्छ । त्यसकारण यो स्वस्थ खाना हो । तर हालसम्म लसुनले कोरोनाभाइरसबाट संक्रमित निको भएको प्रमाण छैन ।

१३. कोरोनाभाइरसले वृद्धवृद्धालाई असर गर्छ, अथवा युवा पनि यसबाट संवेदनशील छन ?

सबै उमेर समूहका मानिसहरु कोरोनाबाट संक्रमित हुनसक्छन् । तर वृद्धवृद्धा तथा आस्थ्मा, डाइबेटिज र मुटुका रोगीहरु कोरोनाबाट बढी प्रभावित भएको देखिएको छ । डब्लुएचओले सबै उमेर समूहका मानिसलाई भाइरसबाट बँच्ने उपाय अबलम्बन गर्न सुझाव दिएको छ । स्वासप्रस्वासको स्वच्छता तथा हात र शरीरको स्वच्छतालाई ध्यान दिनुपर्छ ।

१४. कोरोना रोकथामका लागि एन्टिबायोटिक प्रभावकारी छ ?

एन्टिबायोटिकले ब्याक्टेरिया नियन्त्रण गर्ने हो यसले भाइरस रोकथाम गर्न सक्दैन । त्यसैले कोरोना संक्रमितमा एन्टिबायोटिक प्रयोग गर्नुहुँदैन । तर, अस्पताल भर्ना भएकाले एन्टिबायोटिक प्राप्त गर्नसक्छन् किनभने कोरोना लागेकालाई ब्याक्टेरियाको संक्रमण सम्भव छ ।

१५. कोरोना रोकथाम र उपचारका विशेष औषधि छन ?

आजको मितिसम्म कोरोनाभाइरसको कुनै औषधि बनेको छैन । कुनै औषधि प्रयोग गर्न सुझाव दिइएको छैन । तर, भाइरसबाट संक्रमितलाई उपयुक्त उपचार दिनुपर्छ, हेरबिचार गर्नुपर्छ । केही विशेष उपचारका पद्धतिहरु अनुसन्धानका क्रममा छन् । ती चाँडै परिक्षण हुनेछन् । डब्लूएचओले कोरोनाभाइरस रोकथामविरुद्धको अनुसन्धान र अभियान तिव्रताका साथ अगाडि बढाउन साझेदारहरुलाई सहयोग प्रदान गरिरहेको छ । (यी बुँदाहरु डल्बूएचओको साइटबाट लिइएको हो।)

सम्बन्धित समाचार