विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसको संक्रमण फैलिरहँदा कोरोना भाइरसको उद्गमस्थल मानिएको वुहानकी एक डाक्टरले भने चीन सरकारले आफूहरुलाई कोरोनाबारे बोल्नै नदिएको आरोप लगाएकी छन् ।
चीन सरकारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले आफूहरुले यो भाइरस प्राणघातक भएको र निकै तीव्र रुपमा फैलिने थाहा पाइसकेको अवस्थामा चीन सरकार र अधिकारीहरुले आफूहरुलाई यस विषयमा केही नबोल्न निर्देशन दिएको आरोप लगाएकी छिन् ।
उनले यदि त्यतिबेलै सरकार र अधिकारीहरुले आफूहरुको कुरा सुनेको भए यो भाइरस यसरी महामारीको रुपमा नफैलिने दावी गरेकी छिन् । वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वका २४ देशमा पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ४ हजार ६ सय ३५ जनाले ज्यान गुमाएका छन् ।
वुहानमा जुन डाक्टरले सबैभन्दा पहिले यो भाइरस पत्ता लगाएका थिए उनको मृत्यु भइसकेको छ । वुहानकी डाक्टर आइ फेनले भनिन् ‘मेरा कैयौं साथी यो रोगका बिरामीको उपचार गर्दागर्दै मरे । तर, डिसेम्बरमा जब हामीले यो भाइरसको बारेमा सरकारी अधिकारीहरुलाई बताउँदा हामीलाई चुप लाग्न भनियो ।’
डाक्टर आइ फेनले चीनको म्यागजिन रेनवुलाई दिएको अन्तरवार्तालाई उद्धृत गर्दै द गार्डियनले लेखेअनुसार डाक्टरहरुलाई यो भाइरसबारे कसैलाई बताए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो ।
डा. फेन वुहान सेन्ट्रल हस्पिटलको आकस्मिक विभागकी निर्देशक हुन् । यो भाइरसको विषयलाई सामाजिक सञ्जालमा उठाउने डा. फेनका सहकर्मी डा. ली वेनलियांग अहिले जेलमा छन् । डा. फेनले भनिन् ‘यदि मलाई यो भाइरसले यति धेरै मानिसको ज्यान लिन्छ भन्ने त्यतिबेलै थाहा भएको भए म चुप बस्दिनथें । म विश्वभर यो कुरा सबैलाई बताउँथें । जुन माध्यमले मिल्छ म यो जानकारी सबैलाई दिन्थें चाहे कसैले मलाई जेलमा नै किन नहालोस् ।’
डा. फेनको यो अन्तरवार्ता रेनवुले आफ्नो वेबसाइटबाट हटाइसकेको छ । चीनका सामाजिक सञ्जालबाट पनि डा। फेनको अन्तरवार्ता हटाइएको छ । तर, केही चिनियाँ नागरिकले यो अन्तरवार्ताको स्क्रिनसट लिएका थिए । अब डा. फेनको अन्तरवार्ता इमोजी र मोर्स कोडमा बदलेर सामाजिक सञ्जालमा भाइरल गराइँदैछ । यसलाई निर्माता टोनी लिनले पनि आफ्नो ट्वीटरमा शेयर गरेका छन् ।
For those who’re already applauding China’s COVID-19 responses, CN is still heavily censoring info. A magazine’s feature on a whistleblower is being taken down from the entire CN internet. Ppl have to turn article into EMOJI to avoid censorship. Chinese readers can u decode it? pic.twitter.com/4p4vgXJ3I5
— Tony Lin 林東尼 (@tony_zy) March 10, 2020
डा. फेनका अनुसार ३० डिसेम्बरका दिन उनीकहाँ कैयौं बिरामीहरु उस्तै किसिमका लक्षणको साथमा आएका थिए । उनीहरुको नमूना ल्याबमा परीक्षण गर्दा उनीहरुमा भएको भाइरस सार्स कोरोनाभाइरसजस्तै भएको पाइएको थियो ।
डा. फेनले रिपोर्टको फोटो खिचेर आफ्ना बरिष्ठ र सरकारी अधिकारीहरुलाई पठाइन् । बेलुकासम्म त्यो रिपोर्ट वुहानका सबै डाक्टरसम्म पुग्यो । डा. ली वेनलियांगले यसलाई सामाजिक सञ्जालमा राखेर विश्वलाई नयाँ कोरोनाभाइर फैलिइरहेको जानकारी दिए । त्यही राति डा. फेनलाई यो नयाँ भाइरसको बारेमा कसैलाई नबताउन निर्देशनसहित अस्पताल प्रबन्धनको सन्देश आयो । दुई दिनपछि उनलाई धम्की दिइयो कि यसको बारेमा कसैलाई केही बताए परिणाम निकै नराम्रो हुनेछ ।
डा. फेनले सबै सरकारी अधिकारी र अस्पताल प्रबन्धनलाई सम्झाउने कोसिस गरिन् तर कसैले उनको कुरा सुनेनन् । २१ जनवरीसम्म इमरजेन्सी विभागमा हरेक दिन १५२३ बिरामी आउन थालेका थिए ।
डा. फेनले भनिन् ‘म त्यो दिन भुल्न सक्दिन जब एक बिरामी छोराको मृत्युपछि डाक्टर उनका पितालाई मृत्यु प्रमाणपत्र दिइरहेका थिए र ती वृद्ध डाक्टरतिर एकटक हेरिरहेका थिए ।’