नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चाजै भए पनि उनको स्वस्थ्य अवस्था निकै नाजुक रहेको पाइएको छ । डिस्चार्ज हुँदा पनि उनी ४, ५ जनाको सहयोगमा उभिएका तस्वीरहरू सार्वजनिक भएका थिए । सल्लाहाकारको टीमले उनको स्वस्थ्य ठीकठाक रहेको बताउदै आए पनि उनीहरूले नै सार्वजनिक गरेको एक भेटघाटको तस्वीरमा ओली दुई कुहिनाले टेकेर बसेको देख्न सकिन्छ । डिस्चार्ज भएपछि पार्टीका र सरकारका रोकिएका कामहरूले गति लिने अपेक्षामा रहेको नेकपा ओलीको नाजुक स्वास्थ्यअवस्थाबाट निराश भएको छ ।
नेकापालाई निराश बनाउने अर्को विषय बनेको छ– शीर्ष नेताबीच बिग्रिएको सम्बन्ध । ओली उपाध्यक्ष वामदेव गौतमबीचको सम्बन्ध कुन हदसम्म तिक्ततापूर्ण छ भन्नेकुरा पछिल्लो उनीहरूको गतिविधिले प्रष्ट पारेको छ । ओलीकै योजना र समर्थनमा नेकपाको उपाध्यक्ष बनेको गौतम पछिल्लो समय ओलीको छायाँसम्म देख्न नसक्ने भएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि डिस्चार्ज भएर बालुवाटार आएको तेस्रो दिनसम्म पनि गौतम ओलीलाई भेट्न बालुवाटार गएका छैनन् ।
नेपालीमा उखान नै छ, जिउँदाको जन्ती मर्दाको मलामी । यसको अर्थ आफन्त वा छिमेकीसँग जतिनै शत्रुतापूर्ण सम्बन्ध भएपछि जन्म मृत्यु र अप्ठ्यारोमा साथ दिने नेपाली परम्परा नै छ । तर ओलीसँग गौतम यति रूष्ट छन् की उनी गम्भीर बिरामी पर्दासमेत ओलीलाई स्वास्थ्यलाभको कामना गर्ने जाँगर चलाएनन् । गत फागुन १४ को सचिवालय बैठकपछि गौतमले ओलीलाई भेटेका छैनन् । न त फोन या समाजिक सञ्जालमार्फत नै स्वास्थ्यलाभको कामना गरे ।
कहाँबाट बिग्रियो सम्बन्ध ?
बर्दिया क्षेत्र नम्बर–१ बट निर्वाचनमा पराजित भएका गौतमले आफ्नो हारको मुख्य कारण अन्तर्घात भएको बताउँदै आएका छन् । तत्कालीन एमाले र माओवादी मिलेर निर्वाचनमा होमिदा दुबै पार्टीले असम्भव मानिएका स्थानहरूमा पनि जित हासिल गरिरहेको अवस्थामा बर्दिया १ मा एमाले र माओवादी दुबैको राम्रो छाप रहेको भनिएकै ठाँउमा गौतम पराजित हुन पुगे । नेपाली कांग्रेसका सञ्जय गौतम ४४ हजार ८२९ मत प्राप्त गरी विजयी हुँदा वामदेव गौतमले ४४ हजार ७६ मत प्राप्त गरे ।
निर्वाचनमा पराजय बेहोरेलगत्तै गौतमले ओलीपक्षका नेताहरूले अन्तर्घात गरेको आरोप लगाए । त्यहीँबाट ओली र गौतमको सम्बन्धमा दरार आयो । उक्त दरार अहिले उत्कर्षमा पुगेको बुझ्न सकिन्छ । गौतम आफूसँग असन्तुष्ट भएको बुझेका ओलीले गौतमलाई उतिबेलै राष्ट्रियसभामा लैजाने आश्वासन दिएका थिए । तर गौतम मानेनन् । फेरि उनलाई फकाउन ओलीले नेकपाको उपाध्यक्ष बनाउने प्रस्ताव गरे । नेकपाको संविधान संशोधन नै गरेर ओलीले गौतमलाई पार्टी उपाध्यक्ष बनाए । ओली र गौतमको सम्बन्धमा केही सुधार आयो । तर त्यो गुनले गौतमलाई लामो समय सन्तुलनमा राख्न सकेन । गौतममा फेरि संविधान संशोधन गरेर राष्ट्रियसभामार्फत प्रधानमन्त्री बन्नेसम्मको लोभ पलायो । उनी प्रचण्डसँग नजिक भएर वरिष्ट नेताद्वय माधव नेपाल र झलनाथ खनाललाई हात लिएर ओलीलाई अल्पमतमा पार्दै राष्ट्रियसभामा जाने निर्णय सचिवालयबाट पारित नै गराए ।
दुई वर्षअघि आफैँले राष्ट्रियसभामा लान खोज्दा नमानेका गौतम पछिल्लो समय संविधान संशोधन मुद्दा उठाउँदै राष्ट्रियसभामा जान खुट्टा उचालेपछि ओलीलाई निको लागेन । विदेशीको इशारामा वामदेवले प्रचण्डसँग मिलेर सरकार ढाल्न खोजेको आरोप लगाउदै सचिवालय निर्णय नमान्ने ओलीले बताए । त्यसपछि त ओली र गौतमको सम्बन्ध ३६ को आँकडा बन्न पुग्यो । ओलीप्रति गौतमको मन यतिसम्म मर्यो कि उनी ओली गम्भीर बिरामी हुँदा लोकको गाल टार्ने बाटो पनि राखेनन् ।
प्रचण्ड र नेपाललाई भेटेरै गराए सचेत
राष्ट्रियसभामा गौतमलाई लैजाने सचिवालय निर्णय कार्यन्वयन हुन्छ कि हुँदैन भन्ने सवाललाई पछिल्लो समय नेकपामा ओली र गौतम अस्तित्वको लडाइँको रूपमा हेरिन थालिएको छ । ओलीलाई तल पार्न भए पनि राष्ट्रियसभामा गएरै छाड्ने अडानमा गौतम देखिन्छन् । शुक्रबार ओली डिस्चार्ज हुने संकेत पाएका गौतमले सोही दिन बिहान प्रचण्ड र नेपाललाई भेटेका थिए । भेटमा उनले पार्टीको सचिवालय निर्णयबाट कोही पछि हटेमा आफूलाई मान्य नहुने चेतावनी दिएका थिए ।
प्छिल्लो समय नेपाल ओलीसँग नजिक भएको समाचार बाहिरिदै गर्दा गौतमले भने नेपाललाई पनि सजग गराएका थिए । ‘यो व्यक्तिको कुरा होइन कमरेड, प्रवृत्तिको कुरा आयो । सचिवालयले निर्णय गर्ने तर व्यक्तिले कार्यन्वयन नगर्ने गलत नजिर नेकपामा बस्न दिनु हँदैन । तपाईहरू खुट्टा नकमाउनुहोला’ भेटमा गौतमले भनेका थिए ।
कस्तो छ, ओलीको स्वास्थ्य
ओली अस्पतालबाट डिस्चार्ज भएपछि नेकपामा थाती रहेका राष्ट्रियसभामा गौतमलाई लैजाने सचिवालय निर्णय, मन्त्रीपरिषद् विस्तार र एमसीसीलगायतका थाती रहेका कामले गति लिने अपेक्षा गरिएको थियो, तर डिस्चार्ज भएपनि ओलीको स्वस्थ्यअवस्था नाजुक रहेकोमा भने नेकपाका नेताहरू निराश देखिन्छन् । ओली स्वस्थ रहेको सन्देश दिनकै लागि सचिवालयका केही नेताहरूले भेटेको तस्वीरहरू सार्वजनिक गरिए पनि तस्वीरमै ओलीको अवस्था नाजुक रहेको देख्न सकिन्छ । अस्पतालबाट बाहिरिदा पनि उनलाई ४-५ जनाले समातेको र बस्दा पनि कुर्चिमा २ हातले अडेस लगाएर बसेका तस्वीरहरू सार्वजनिक भएका छन् ।
ओलीको ब्लडप्रेसर, सुगर, ज्वरोलगायतका रिपोर्टहरू सार्वजनिक गरिएको छैन । नेकपाकै एक नेताले बालुवाटार स्रोतको दाबीलाई सपोर्ट गर्दै ओलीको स्वास्थ्यअवस्था नाजुक रहेको बताए । बाहिर ठीकठाक रहेको सन्देश दिन खोजिए पनि ओली ३ देखि ६ महिनासम्म सामान्य भेटघाट पनि गर्न नसक्ने अवस्थामा रहेको स्रोतको दाबी छ ।