महेश कठायत
काठमाडौं, ३ चैत्र ।
गत फागनु २१ गते दोस्रो पटक मृर्गौला प्रत्यारोपण गराएर अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएको केही समयमै आफन्त र निजी सचिवालयका सदस्यहरूसँग भेटघाट गरे । डिस्र्चाजको भोलिपल्ट शनिबार पार्टीका शीर्ष नेता तथा सचिवालय सदस्यहरूसँग भेटघाट गरेका प्रधानमन्त्री ओली डिस्चार्ज भएको दुई दिनपछि पुनः नियमित स्वास्थ्य परीक्षण र मूत्रनलीमा राखिएको स्टेन्ट निकाल्न आइतबार बिहान शिक्षण अस्पताल पुगे । त्यसपछि आइतबार साँझ बालुवाटारबाट सिंहदरवार पुगेर कोभिड १९ (कोरोना) सम्बन्धी सार्क राष्ट्रका सरकार, राष्ट्रप्रमुख र प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा सहभागी भए । झण्डै एक घण्टासम्म कन्फरेन्समा बसेका प्रधानमन्त्री ओलीले २ पटक गरेर करिब १० मिनेट सम्बोधन गरे ।
भिडियो कन्फरेन्समा : मृगौला प्रत्यारोपणपछि पहिलो पटक सार्वजनिक रूपमा बोलेका प्रधानमन्त्री ओलीको उक्त भिडियो कन्फरेन्समा केही गलेको अनुहार देखिन्थ्यो । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसका विरूद्ध लड्न सार्क मुलुकले साझा रणनीति बनाएर अघि बढ्नु पर्ने बताए । साथै उनले संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले चालेका कदमहरूबारे सदस्य राष्ट्रलाई जानकारी समेत गराए । प्रधानमन्त्री ओलीले नेपाल सरकारले अस्पतालको क्षमता बढाएको, रक्षात्मक उपकरण र स्वास्थ्यकर्मीलाई प्रेरित गर्न सुविधा बढाएको आदि विषयमा जनाकारी गराएका थिए ।
कन्फरेन्समाथि प्रश्न : ६९ वर्षको उमेर र ठूलो अप्रेसन गराएको दुई हप्ता नबित्तै प्रधानमन्त्री आलीले भिडियो कन्फरेन्समा सहभागी भएको विषयलाई लिएर अहिले टिकाटिप्पणी भइरहेको छ । प्रधानान्त्रीलाई अस्पतालबाट डिस्र्चाज गरिएको दुईदिनमै आराम गर्न नदिएर किन भिडियो कन्फरेन्समा सहभागी गराइयो भनेर प्रश्न उठेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यको ख्याल गर्नु पर्ने बेला प्रधानमन्त्रीलाई झनै अप्ठ्यारोमा मार्न खोजेको भन्दै धेरैले गुनासो गरेका छन् । भिडियो कन्फरेन्समा अन्य कुनै प्रतिनिधिलाई सहभागी गराएको भए पनि हुन्थ्यो ? किन प्रधानमन्त्रीलाई नै सहभागी गराइयो भन्ने टिकाटिप्पणी भइरहेका छन् । उक्त भिडियो कन्फरेन्समा पाकिस्तानका प्रधानमन्त्री नभएर त्यहाँका स्वास्थ्य राज्यमन्त्री सहभागी थिए । कन्फरेन्समा प्रधानमन्त्रीका साथमा उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्री थिए भने पछाडि स्वास्थ्यमन्त्री, सल्लाहकार समूह र सरकारी अधिकारी सहभागी थिए ।
प्रधानमन्त्रीको आत्मबल : दोस्रो पटकको मृगौला प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्रीलाई उपचारमा संग्लग्न चिकित्सकहरूले अबको ३ महिना संक्रमणको उच्च जोखिम हुने भएकाले प्रधानमन्त्रीलाई भेटघाट र कार्यक्रममा सहभागी हुन पूर्णरूपमा बन्देज गनुपर्ने सुझाव दिएका थिए । तर प्रधानमन्त्री ओली आत्मबल बलियो बनाउँदै संक्रमणको डर नमानी भेटघाट र कार्यक्रमा व्यस्त भए । प्रधानमन्त्रीको यस्तो कार्यले आफन्त शुभ चिन्तक र उपचारमा संग्लग्न चिकित्सकहरूमा चिन्ता बढाएको छ । जति सावधानी अपनाए पनि मृर्गौला प्रत्यारोपण गरेको बिरामीलाई हिँडडुल र मानिसहरूसँगको घुलमिल गर्न ६ महिनासम्म घातक हुने चिकित्सकहरू बताउँछन् । तर प्रधानमन्त्रीलाई आफ्नो रोगसँग कुनै डर छैन । जस्तोसुकै परिस्थितिमा पनि अविचलित भई उच्च मनोबलका साथ चुनौतीका रूपमा रहेको आफ्नो प्रतिकुल स्वास्थ्य अवस्थालाई गहिरो आत्मविश्वासले पराजित गर्न प्रधानमन्त्रीको सफल भएको भन्दै उनको प्रशंसा पनि हुने गरेको छ । प्रधानमन्त्रीले यस्तो आराम गर्नु पर्ने अवस्थामा पनि आराम नगर्दा सबैलाई लाग्नु स्वभाविक नै हो, ‘प्रधानमन्त्रीलाई आफ्नो स्वास्थ्यको भन्दाबढी देशको ख्याल गर्नु छ ।’
भिडियो कन्फरेन्सले सार्क ब्युँताउने प्रयास : भारत र पाकिस्तानबीचको तनावका कारण सन् २०१६ मा पाकिस्तानको इस्लामाबदमा हुने भनिएको सार्क शिखर सम्मेलन आजसम्म पनि हुन सकिरहेको छैन । तर गत फागुन ३० गते शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनासविरूद्ध लड्न सार्क मुलुकले साझा रणनीति बनाउनुपर्ने प्रस्ताव राखे । ‘हाम्रा नागरिकलाई स्वस्थ राख्न हामी भिडियो कन्फरेन्समार्फत छलफल गर्न सक्छौं,’ मोदीले ट्विटमार्फत भनेका थिए, ‘संयुक्त रूपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान पुर्याउन सक्छौं ।’
सार्क राष्ट्रमा कोरोना भाइरसविरूद्ध लड्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई मृगौला प्रत्यारोपणका क्रममा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै उक्त प्रस्तावको स्वागत गरेका थिए । कोरोना भाइरसजस्तो प्राणघातक रोगसँग लड्न सार्क सदस्य राष्ट्रसँग मिलेर नागरिकको सुरक्षाका लागि नेपाल सरकार तयार रहेको बताएका थिए । मोदीको प्रस्तावबारे सार्क मुलुकहरू सबैले सहमती जनाएपछि आइतबार साँझ भिडियो कन्फरेन्स सफल भएको थियो ।