माधवलाई ओलीको आश्वासनः नखाउँ दिनभरिको शिकार, खाउँ कान्छा बाउको अनुहार

पूर्व एमाले र पूर्व एमाओवादीबीच औपचारिक एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको वर्षदिन नपुग्दै पार्टीमा अस्वस्थ शक्ति संघर्ष शुरु भएको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्षले नेकपाको भविष्य अन्यलतातर्फ धकेलिएको छ । नेकपामा ओली, प्रचण्ड र नेपालको गुट शक्तिका हिसाबले बलियो मानिन्छ । नेता नेपाल ओलीतिर ढल्कदा ओली बलियो हुने र प्रचण्डतिर ढल्किदा प्रचण्ड बलियो हुने स्थिति भएकोले यतिबेला नेपाल ओली र प्रचण्डको तानातानमा परेका छन् ।

पछिल्लो समय सभामुख चयनका विषयमा होस् या पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयमा नै किन नहोस्, नेपाल प्रचण्डतिर ढल्किदा ओली अल्पमतमा परे । त्यसो त संविधान संशोधनको कुरा उठ्दासमेत आफू अल्पमतमा परेकोले मौन बसेका ओली नेपाललाई नफकाएमा प्रचण्डले आफूइत्तरका शक्तिलाई हात लिएर सजिलै सरकार ढालिदिने आशंकामा नेपाललाई फकाउने नीति लिएका थिए । उनले आफ्ना नजिकका भनिएका नेता विष्णु पौडेल र ईश्वर पोखरेलमार्फत नेपाललाई फकाउने रणनीति बनाए, परिणामस्वरूप अहिले नेकपाको शक्ति सन्तुलनमा फेरबदल आएको छ ।



विगतलाई हेर्दा ओली-नेपालको सम्बन्ध
विगतलाई हेर्दा पनि ओली र नेपालबीचको सम्बन्ध सहज देखिँदैन । उनीहरूको सम्बन्ध बिग्रने र मिल्ने भइरहेको पाइन्छ । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर जाँदै थिए । सिङ्गापुर उड्नुअघि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बोलाएको सचिवालय बैठकमा नै दुई नेताबीच चर्काचर्की परेको थियो । उपचारको क्रममा रहेको बेला पनि विवाद गरेकोले ‘आफ्नो मृत्युको कामना गर्ने काम माधव नेपालबाट भएको’ सम्मको आरोप ओलीले लगाएका थिए ।

सो बैठकमा ओलीले आफू उपचारका लागि सिङ्गापुरमा जान लागेको र आफ्नो अनुपस्थितिमा पनि पार्टीले निर्णय लिन सक्ने तर त्यसका लागि आफूसँग सहमति लिनुपर्ने बताएका थिए । ओलीको सो भनाइ नेपालले प्रतिवाद गर्ने बित्तिकै ओली जङ्गिएका थिए । विवादका क्रममा ओलीले ‘मेरो मृत्युको कामना गर्ने तपाईंको स्वास्थ्य लाभको कामना चाहिँदैन’ भन्नेसम्मको ओठे जवाफ फर्काएका थिए । सो चर्काचर्कीपछि झण्डै ४ महिना ओली र नेपालबीच बोलचालै बन्द भएको थियो ।

ओली र नेपालबीचको तीक्ततापूर्ण सम्बन्ध सुधारका लागि आफ्ना निकटका नेताहरूका साथै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले समेत भूमिका खेल्नुपरेको थियो । त्यसका लागि प्रचण्डले प्रधानमन्त्री ओलीका साथै नेता नेपाललाई एक्लाएक्लै भेटेर सम्बन्ध सुधारमा जोड दिएका थिए । त्यस क्रममा प्रचण्डले अर्का नेता वामदेव गौतम र ईश्वर पोखरेलसँग पनि पटक पटक छलफल गर्नुपरेको थियो । अन्ततः ओलीले नेता नेपालाई ‘राजनीतिक र साङ्गठानिक रूपमा हामीबीच मतभिन्नता हुनसक्छन्, तर हाम्रो व्यक्तिगत सम्बन्ध पनि छ । त्यसैले भेटौँ र छलफल गरौँ’ भनेर टाढा भैरहन दिएनन् ।

तस्विरमा लेखक राजु लामिछाने

त्यस क्रममा आफूहरूबीचको तीक्तताको फाइदा उठाउँदै अरूले खेल्ने मौका पाएको दुबै नेताहरूले महसुस गरेका थिए । पछिल्लो समय पुनः ओली र नेपालले आफूहरू टाढा हुदाँ प्रचण्डले पार्टीमा खेल्ने अवसर पाएको महसुस गरेका छन् । प्रचण्डको जालमा नेपाल परेको महसुस गरेपछि ओलीले नेपाललाई प्रचण्ड र गौतमको लागि किन सती जान लागेको ? भन्दै मिलेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । ओलीले नेपाललाई आगामी निर्वाचनपछि प्रधानमन्त्री बनाउन सघाउने आश्वासन दिएको स्रोतको दाबी छ । ओलीको आश्वासनपछि नेपाल आफूलाई मध्यमार्गी नेताको रूपमा उभ्याउने प्रयास गरेका छन् ।

नेपाल न्यूटल बसिदिदा ओलीलाई केही राहात भएपनि प्रचण्डले भने आफू नेकपामा अल्पमतमा परेको महसुस गरेका छन् । वामदेवलाई राष्ट्रियसभामा पठाउन खोज्दा आली आफूसँग रुष्ट भएको बुझेका प्रचण्डले पूर्वएमाले निकट नेताहरूसँग आफ्नो कार्यकारी अध्यक्षको पद पनि खोस्ने प्रयास भैरहेको गुनासो गरेका थिए ।

नेपाललाई न प्रचण्डको आश न ओलीको भर
ओली र प्रचण्ड दुबैबाट आश्वासन पाएका नेपालले दुबैको भर पर्न सकेका छैनन् । ओली निकट हुन खोज्दा स्वाभाविक रूपमा उनलाई विगतले तर्साउनेछ । विगतमा ओलीको पेलाई सहजै भूलेर उनले विश्वास गरिहाल्ने अवस्था पनि छैन । उधारो आश्वासनको भरमा ओलीलाई साथ दिँदा भोलि धोका हुने हो की भन्ने आशंका नेपालमा कायमै छ ।

यता प्रचण्डलाई साथ दिँदा पनि नेकपा पूर्वमाओवादीमय देखिने भय उनमा छ । प्रचण्डलाई साथ दिएर ओलीलाई एक्ल्याउँदै जाँदा प्रचण्ड शक्तिशाली हुने र नेकपा माओवादीमय भएमा आफू पनि ओझेलमा पर्ने डर नेपालमा छ । फेरि प्रचण्डलाई साथ दिँदैगर्दा आफूभन्दा अगाडि झलनाथ खनाल आउने र गौतमको व्यवस्थापन पनि जिम्मेवारी हुँदा आफूलाई कुनै फाइदा नहुन सक्ने बुझेरै नेपाल हाललाई मध्यमार्गी बन्न चाहेका छन् ।

गुण र दोषका आधारमा प्रचण्ड र ओलीसँग समदुरी राख्दै परिस्थितिको मुल्याङ्कन गर्दै अगाडि बढ्ने रणनीतिमा नेपाल रहेको बुझ्न सकिन्छ । नेकपाको वर्तमान राजनीतिक शक्ति सन्तुलनलाई नियाल्दा नेपालको मध्यमार्गी रणनीतिले नेकपाको विवादलाई केही राहात दिने देखिएको छ ।

सम्बन्धित समाचार