विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट २ लाख १८ हजारले ज्यान गुमाएका छन् । संक्रमित हुनेको संख्या ३१ लाख ३८ हजार नाघेको छ । मंगलबार साढे ७६ हजार थपिएसँगै संक्रमितको कुल संख्या ३१ लाख ३८ हजार नाघेको हो । जसमध्ये ९ लाख ५३ हजार व्यक्ति निको भएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिका प्रभावित भएको छ । त्यहाँ संक्रमितको संख्या १० लाख ३५ हजार नाघ्दा ५९ हजार २ सयले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा साढे २५ हजार संक्रमित थपिँदा २ हजार ४७० जनाको मृत्यु भएको छ । केही दिनयता मृत्युदर घटेको अमेरिकामा मंगलबार फेरि दोब्बरले बढेको छ । सोमबार त्यहाँ १ हजार २३६ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै, कोरोनाबाट अर्को बढी प्रभावित देशमा स्पेनमा संक्रमितको संख्या २ लाख ३२ हजार पुग्दा २३ हजार ८ सय व्यक्तिले ज्यान गुमाएका छन् । इटालीमा संक्रमितको संख्या २ लाख नाघेको छ । जसमध्ये २७ हजार ३ सय व्यक्तिको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ६६ हजार, बेलायतमा १ लाख ६१ हजार, जर्मनीमा १ लाख ५९ हजार, टर्कीमा १ लाख १४ हजार, रसियामा साढे ९३ हजार, इरानमा साढे ९२ हजार, चीनमा करिब ८३ हजार, ब्राजिलमा ७२ हजार, क्यानाडामा ५० हजार व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् । अन्य देशमा भने ५० हजार भन्दा कम संक्रमित छन् ।
दक्षिण एसियाको कोरोना संक्रमणको तथ्यांक हेर्दा भारतमा संक्रमितको संख्या ३१ हजार ३ सय पुग्दा १ हजार ८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १ हजार ८७३ संक्रमित थपिँदा ६९ जनाको मृत्यु भएको छ ।
दक्षिण एसियाको अर्को बढी प्रभावित पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ६ सय नाघेको छ । जसमध्ये ३१२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा पाकिस्तानमा ६ सय ९७ जना नयाँ संक्रमित थपिँदा २० जनाको मृत्यु भएको छ ।
बुधबार बिहानसम्म बंगलादेशमा ६ हजार ४ सय, अफगानिस्तान १ हजार ८ सय, श्रीलंकामा ६ सय, माल्दिभ्स २५०, नेपालमा ५४ र भुटान ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा नेपालमा २ जना थपिएसँगै संक्रमितको कुल संख्या ५४ पुगेको हो । जसमध्ये १६ जना बिरामी उपचारपछि घर फर्किसकेका छन् ।