राजीनामा दिन प्रधानमन्त्री ओलीको यस्तो शर्त, वामदेवलाई अगाडि सारेर प्रचण्ड-नेपाल गुट भत्काउने रणनीति

वामदेव प्रधानमन्त्री, नेपाल तेस्रो अध्यक्ष

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्यो । पछिल्लो अध्यादेश प्रकरणको विवादपछि स्पष्ट २ गुट देखिएको नेकपामा दुबै गुट आफूनिकट संसदहरूको हस्ताक्षर संकलन गर्ने तहसम्म विभाजित भएका थिए । आफूइत्तरका नेताहरूबाट पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट पछि हट्ने दवाव खेपिरहेका ओलीले बुधबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई अगाडि सार्ने योजना बैठकमा पेश गरेका थिए ।

आफू राजीनामा दिन तयार भएको तर अफूपछि बन्ने प्रधानमन्त्रीमा आफ्नो पनि समर्थन हुनुपर्ने ओलीले बताएका थिए । हामी एकपटक प्रधानमन्त्री भैसकेकाहरूको क्षमता जनताले थाहा पाईसकेकै छन् । त्यसैले वामदेवलाई अवसर दिंदा जनतामा पनि सकारात्मक सन्देश जान्छ, ओलीको भनाई थियो । कोरोनाको प्रभाव सकिएपछि गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न या कुनै क्षेत्र खाली गराएर गौतमलाई जिताएर प्रधानमन्त्री बनाउन पनि आफू तयार रहेको ओलीको भनाई थियो ।



नरम भएर गरम प्रस्ताव
बुधबारको बैठकमा निकै नरम भएर प्रस्तुत भएका ओलीले शुरूमा प्रचण्डलाई बोल्ने अवसर दिएका थिए । प्रचण्डले शुरूमै ओलीलाई जनतामाझ अलोकप्रीय भएको भन्दै राजीनामा दिन सुझाव दिएका थिए । यस्तो परिस्थितिमा म भएको भए राजीनामा दिइसक्ने थिएँ । एक व्याक्तिले गर्दा पार्टीलाई अलोकप्रीय बनाउनु हुँदैन । त्यसैले ओलीजीलाई राजीनामा दिन म सुझाव दिन्छु, बैठकमा प्रचण्डले भने ।

प्रचण्डले बोल्दै गर्दा रोकेरै ओलीले आफ्नो प्रस्ताव राख्न थालेका थिए । वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा प्रतिक्रिया राख्नै नदिई ओलीले माधव नेपाललाई पनि पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेका थिए । आफूसँग रुष्ट भएका गौतम र नेपाललाई फकाएर तत्कालको समस्या समाधान गर्न ओली केन्द्रित देखिन्थे । नरम भएर गरम प्रस्ताव राखेपछि गौतम र नेपाल एकछिन वाक्क न बाक्क भएका थिए । ओलीको यो प्रस्तावमा वामदेव र नेपालले सोचेर निर्णय लिने बताए । गौतमले त ओलीको प्रस्ताव सकारात्मक भएको भन्दै सबैको राय बुझ्न चाहेको बताएका थिए ।

पार्टी महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्तावमा सहमति जनाए । झलनाथ खनालले भने स्थायी कमिटी बैठक बोलाउन र सोही बैठकको म्यान्डेडअनुसार निर्णय लिन सुझाव दिएका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले खनालकै प्रस्तावमा सहमति जनाए । अन्त्यमा बैठक वैशाख २० गते पुनः बस्ने गरि स्थगित भयो ।

प्रचण्ड–नेपाल गुट भत्काउने ओलीको रणनीति
गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने प्रस्तावले प्रचण्ड नेपाल गुट भत्कने विश्वास प्रधानमन्त्री ओलीमा रहेको देखिन्छ । झलनाथदेखि गौतमसम्मको साथ रहेको प्रचण्ड–नेपाल गुट नभत्किएसम्म आफू पार्टीका सबै कमिटीमा अल्पमतमा पर्ने बुझेका ओलीले गौतमलाई अगाडि सार्नुमा आफ्नो प्रधानमन्त्री पदको समयावदी लम्ब्याउने स्वार्थ पनि लुकेको बुझ्न सकिन्छ ।

गौतमलाई प्रधानमन्त्री बनाउने २ वटा बाटा छन् । एउटा त उनलाई राष्टियसभामा लाने र प्रधानमन्त्री बनाउने । यसको लागि संविधान संशोधन गर्नु आवश्यक पर्छ । संविधान संशोधनको लागि दुई तिहाई संसदको समर्थन आवश्यक पर्छ, जुन हाल नेकपासँग छैन । निर्वाचन हारेको व्याक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने प्रस्तावलाई कांग्रेस र जनता समाजवादी दुबै पार्टीले सधाउने देखिँदैन । त्यसैले यो बाटोमार्फत गौतमलाई प्रधानमन्त्री बनाउन असम्भव देखिन्छ ।

अर्को बाटो हो, प्रतिनिधिसभाका कुनै सांसदलाई राजीनामा गराएर गौतमलाई निर्वाचित गराई प्रधानमन्त्री बनाउने । यो प्रक्रिया लामो हुनेछ । कोरोनाको प्रभावका करण तत्काल यसको तयारी गर्ने वातावरण छैन । तयारी शुरू भएपछि पनि निर्वाचनको प्रक्रिया पूरा गर्दा कम्तिमा एक वर्ष लाग्ने नै छ । यसकारण ओलीले अझै एकवर्ष पदबाट राजीनामा दिनुपर्ने छैन । त्यसो त २ वर्षपछि देश नै आम निर्वाचनको माहोलमा हुनेछ । त्यसैले ओलीले आफ्नो कार्यकाल कम्तिमा पनि ३ वर्ष लम्ब्याउन बुधबार गौतमलाई प्रधानमन्त्री बनाउने योजना पेश गरेको बुझ्न सकिन्छ ।

सम्बन्धित समाचार