महाविपत्तिको बेला सबै दलहरू मिलेर यसको सामना गर्नुपर्छ : सभापति केसी

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइसरले २ लाख ६५ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने संक्रमितको संख्या ३८ लाख २० हजारमाथि पुगिसकेको छ । नेपाल पनि कोरोना भाइरसले अक्रान्त बनेको छ । देशैभरी चलिरहेको लकडाउनले आज ४५ औं दिन पार गर्दैगर्दा नागरिकको जनजीवन पनि कष्टकर हुँदै गएको छ । रोगभन्दा भोकले मर्न पर्ने परिस्थिति सिर्जना हुने हो कि भन्ने आम जनतामा चिन्ता बढिरहेको छ तर सत्तासिन शीर्ष तहका नेताहरू भने राजनीतिक खिचातानीमा नै व्यस्त रहेको देखिन्छ । यसैको सेरोफेरोमा रहेर नेपाली कांग्रेस नुवाकोटका पार्टी सभापति, पूर्व संविधान सभा सदस्य एवं प्रभावशाली युवा नेता जगदीश्वर नर्सिङ केसीसँग नवकान्तिपुर डटकमका नवराज घिमिरेसँग गरेको कुराकानीको संक्षिप्त अशं :

तपाई जिम्मेवार कांग्रेस नेताको रूपबाट आजको दिनमा समग्र राजनीतिलाई कसरी हेरिरहनु भएको छ ?



देश पुरै लकडाउनमा छ । यो अवस्थामा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर महाविपत्तिको सामना गर्नुको विकल्प छैन । यस्तो परिस्थितिमा दलगत राजनीति निष्कृय जस्तै छ । यो हुनु स्वाभाविक पनि छ किनकि अहिले हामी सबै दलहरू मिलेर कोरोना भाइरसलाई परास्त गर्न लागिपरेका छौं । यस अवस्थामा आ–आफ्नो पार्टी राजनीतिमा मात्र लाग्न मनासिब देखिंदैन । तर पनि सरकार चलाउने पार्टीको रवैया देख्दा भने घृणा जागेर आउँछ । नेकपा बेमौसमी बाजा बजाइरहेको छ । आज विचार र आस्थाभन्दा पनि यस अवस्थामा देशलाइ बचाउनु सबैको पहिलो प्राथमिकता हो । त्यसैले कोरोना भर्सेस हामी लड्नु छ । त्यसकारण म कांग्रेस नेताको हैसियतले सबैलाई यही अव्हान गर्न चाहन्छु ।

कोरोनाको महाविपत्तिमा सरकारले गरेको रोकथाम र राहतका सामग्री वितरण प्रणालीलाई पूर्व सांसदको आँखाबाट हेर्दा कस्तोे देख्नु हुन्छ ? अहिलेको वितरण प्रणाली न्यायोचित र पारदर्शी छ ?

चाइनाको वुहानबाट सुरु भएको कोरना भाइरस भोलिका दिनमा नेपालमा पनि फैलिन सक्छ भन्ने सामान्य हेक्कासमेत यो सरकारले राखेन । जब अन्य मुलुकहरूमा फैलिंदै भारतसम्म पुग्यो, तब मात्र नेपाल सरकारलाई अलिअलि महसुस भयो । जब सरकारले महसुस गर्यो– धेरै ढिला भइसकेको थियो । लक डाउन पनि भयो तर अन्तर्राष्ट्रिय उडानहरू र खुल्ला नाकाहरू समयमा बन्द गरिएनन् । आज त्यसैको परिणाम नेपालमा पनि कोरोनाले आफ्नो साम्राज्य विस्तार गरिरहेको छ । रोकथामको लागि सरकारले जुन इक्विपमेन्ट, किट र अन्य उपकरणहरू खरिद गर्ने निर्णय गर्याे त्यो पनि प्रचलित खरिद ऐनलाई तोडेर आफ्ना लाइनका मान्छेलाई सामान ल्याउन अनुमति दियो । त्यो पनि विवादमा परेपछि मानिसको जीवनसँग जोडिएका महत्वपूर्ण सामग्री किन्ने सम्झौता खारेज गर्नुपर्ने स्थिति सिर्जना भयो । त्यस खरिद काण्डमा ५० करोडभन्दा बढी भष्ट्राचार गरेको आरोप लागेको छ । यस्तो विपतमा पनि सरकार कमाउन र लुट्न नै लालाहित देखिन्छ । यो घटना अत्यन्तैै दुःखद् र भत्सर्ना योग्य छ ।

लकडाउनले आज ४५ आंै दिन पार गर्दैगर्दा नागरिकको जनजीवन थप कष्टकर हुन पुगेको छ । यसमा सरकारले ल्याएको राहत प्याकेज ठीकै हो, तर वितरण प्रणाली पारदर्शी र न्यायोचित देखिँदैन ।

लकडाउनले सीमान्तकृत वर्ग र मजदुर वर्ग बढी प्रभावित छन् । दैनिक ज्यालादारी गरेर छाक टार्नुपर्ने वर्गको पहिचान नै नगरी आफ्ना कार्यकर्ता, नातेदार र नेकपामा भोटहालेका हरूलाई मात्र छानीछानी राहत वितरण गरेको गुनासो सुनिएको छ । राहत वितरणको नाममा ठाउँ ठाउँमा झडप र लाडीचार्जसमेत भएका छन्, त्यो आफैमा दुःखद् कुरो हो ।

नेपाली कांग्रेसका जिल्ला पार्टी सभापतिहरूको ककनी भेला र देउवा निवास भेलाले तपाईको व्यक्तित्वलाई थप उचाइमा पुर्याएको छ । महाधिवेशन पनि नजिकने क्रम छ । यस परिप्रेक्षमा व्यक्तिगत रूपमा तपाईले र सामुहिक रूपमा ७७ वटै जिल्लाका सभापतिहरूले सिङ्गो नेपाली कांग्रेस पार्टीलाई के–कस्तो सुझाव दिने रणनीति बनाउनु भएको छ ?

सबै पार्टी सभापतिहरूको चिन्ता र चासो भनेको सिङ्गो पार्टीको शुद्धीकरण र सबलीकरण हो । पार्टीप्रति मतदाता र कार्यकर्ताहरूको विश्वास जगाउँदै नेपाली कांग्रेस पार्टीलाई अबको वैकल्पिक शक्तिका रूपमा पुनः स्थापित गराउनु नै हो । पार्टी कमजोर भएर नेता बलियो हुन सक्तैन । विगतका कमीकमजोरीलाई सच्याउँदै जिम्मेवारी बाँडफाँड गर्नेदेखि टिकट वितरणमा हुने अवाञ्छित खेल हुन नदिन नेपाली कांग्रेसका पार्टी सभापति, उपसभापति, महामन्त्रीलगायत वरिष्ठ नेताहरूलाई पाँच बुँदे सुझाव–पत्र दिएका छौं । सबै साथीहरूको अभिमत नै मेरो पनि अभिमत हो ।

अन्त्यमा, जिल्ला पार्टी सभापतिको हैसियतले कोरना महाविपत्तिको सामना गर्न नुवाकोटमा तपाईको योजना के छ ?

कोरना भाइरस सुरु भएको ५-७ दिनपछिदेखि नै यसोदादेवी भगवानसिंह केसी ट्रष्टमार्फत् नुवाकोट जिल्लाभरि रहेका दुई नगरपालिका र १० वटै गाउँपालिकामा रहेका स्वस्थ्य शाखाहरू र वडाहरूसम्म नै पिपिई, ग्लोब, स्यानेटाइजर पुर्याउने कामगरेका छांै । म नुवाकोटको सभापति भएको नाताले पनि थप क्रियाशील बनेर र अरू दल÷पार्टीहरूसँग पनि समन्वय गर्दै अगाडि बढ्न खोजेको हो तर सत्ताको उन्मादले भरिएकाहरूसँग मिलेर सहकार्य गर्ने काम हुन सकेन ।

हाम्रै एकल पार्टी प्रयासले पनि कृषि बाली लगाउने बेला फ्रन्ट लाइनमा बसेर काम गर्ने किसान तथा वृद्ध–वृद्धाहरूलाई ८८ वटै वडाहरूमा माक्स पुर्याउने, १० वटै गाउँपालिकाहरूमा ज्वरो नाप्ने अत्यावश्यक थर्मामिटर पुर्याउने काम गरियो भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली कांग्रेसको जिल्ला कार्यालयलाई क्वारेन्टाइनका रूपमा विकास गरी ३० देखि ४० जनासम्मलाई राख्न सकिने र यसरी राखिएकाहरूलाई खाना, नास्ता तथा अन्य बन्दोवस्त मिलाउने व्यवस्थापन गरिसकिएको छ । साथै, कोरोनाको कहर कति फैलिने हो, त्यसलाई ध्यानमा राखी ‘कोरोना भाइरस विपत नियन्त्रण समिति’ गठन गरिसकिएको छ भने एउटा कोरोना राहत कोष पनि  स्थापना भइसकेको छ ।

सम्बन्धित समाचार