के संसारले कहिल्यै कोरोनाबाट मुक्ति पाउने छैन ?

डब्लुएचओले यो आंशका व्यक्ति गरेको छ कि कोरोना भाइरसको महामारी लामो समयसम्म मानिसहरूका बीच रहन्छ र हुन सक्छ एड्सको भाइरस जस्तै यो कहिल्यै पनि खतम नहुन पनि सक्छ । अब शायद हामीले कोरोनाका साथ जीवन जिउने आदत बनाउन पर्न सक्छ किनकि यो भाइरस सजिलै जानेवाला छैन ।

अब मानिसहरूलाई कैयौं प्रकारको सावधानी अपनाउनु पर्नेछ । यस भाइरसको भ्याक्सिन पत्ता लागेपछि पनि अगाडिको यात्रा सजिलो हुनेछैन किनकि भ्याक्सिन सर्वसाधारणको पहुँचमा पुग्न निकै समय लाग्न सक्छ । अनि प्रश्न उठ्छ– त्यसोभए अब के गर्न सकिन्छ त ? यदि कोरोना भाइरस लामो समयसम्म हामीबीच रहन्छ भने त्यसबाट जीवनलाई बचाउन हामी के गर्न सक्छौं ?



यस तयारीलाई मेडिकल साइन्स, समाज मनोविज्ञानको नजरले बुझ्ने कोसिस गरौं । पहिला वैज्ञानिक दृष्टिकोणले यी ५ महत्वपूर्ण सत्यलाई सम्झौं जसको सामना हामीले भविष्यमा गर्नुपर्ने छ ।

पहिलो सत्यता यो हो कि यो भाइरस अझै पनि सारा संसारमा तेज गतिमा फैलिरहेको छ । पूरा दुनियाँमा ५५ लाख ९० हजार भन्दा बढी व्यक्ति यसबाट संक्रमित भएका छन् भने ३ लाख ४७ हजार भन्दा बढी मानिसको ज्यान गैसकेको छ । बिरामीहरूको भिन्ना भिन्नै तरिकाले उपचार गरिंदैछ तर यसको ठोस उपचार पद्धति भने पत्ता लागिसकेको छैन ।

दोश्रो सत्य यो हो कि अहिलेको समयमा दुनियाँमा लाखौं करोडौं यस्ता व्यक्तिहरू छन् जो संक्रमित त भएका छन् तर उनीहरूमा कुनै पनि लक्षण देखिएको छैन । त्यस्ता व्यक्तिहरूलाई एसिंप्टोमेटिक पेसेन्ट भनिन्छ ।

तेश्रो सत्य यो हो कि जुन व्यक्तिहरू संक्रमणको शिकार भएका छन् जसमा भाइरसको पुष्टि भएको छ, तिनीहरूमध्ये ३ देखि ४ प्रतिशत व्यक्तिहरूको जीवन नै खतरामा हुन्छ । अर्थात यो भाइरसको मामिलामा मृत्युदर अहिले ३ देखि ४ प्रतिशत मात्र छ । तर अलग अलग देशमा यसको स्थिति फरक फरक छ । जस्तो उदाहरणको लागि बेल्जियमको स्थिति सबैभन्दा खराब छ । बेल्जियममा कोरोना भाइरसबाट हुने मृत्युदर १६ प्रतिशत छ । अमेरिकामा यो दर ६ प्रतिशत र भारतमा करिब ३ देखि ४ प्रतिशत छ । नेपालमा अहिलेसम्म ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

चौथो सत्य यो हो कि गम्भीर अवस्थाका बिरामीको संख्या पनि अलग अलग मुलुकमा फरक फरक छ । ११ मे सम्मको आँकडामा गम्भीर रूपले बिरामीको धेरै संख्या अमेरिकामा छ भने नेपालमा यसबाट हुने गम्भीर बिरामी खासै देखिएका छैनन्, जसलाई हामीले राम्रो मान्नुपर्दछ । भारतमा भने गएको हप्तासम्म कोरोना भाइरसको कुल बिरामीको करीब ९ प्रतिशत व्यक्ति गम्भीर बिरामी थिए भने अहिले यसको संख्या आधा रहेको छ । अहिले भारतमा केवल ४.८ प्रतिशत मानिसहरू मात्र गम्भीर रूपले बिरामी भएका छन् ।

पाँचौ सत्य, कोरोना भाइरसको भ्याक्सिनका पर्खाइ अझ पनि लामो छ । दुनियाँभरिका करिब १०० रिसर्च गु्रपहरू यस भाइरसको भ्याक्सिन खोज्ने कार्यमा जुटिरहेका छन् तर भ्याक्सिन तयार हुन करीब १२ देखि १८ महिना लाग्न सक्दछ ।

अब यो कुरा बुझौं कि कसरी चमेराबाट जनावरमा र फेरि जनावरबाट मानिसमा कोरोना भाइरस फैलियो र कसरी रूखा खोकीको यो भाइरसले विश्वभर नै महामारीको रूप लियो ।

वर्ष २००३ मा चीनको गुआनडोंग प्रान्तबाट सार्स कोभ २००३ को संक्रमण शुरू भएको थियो । सार्सको मतलब Severe Acute Respiratory Syndrome हो, Cov को अर्थ कोरोना भाइरस र २००३ ले त्यस साललाई जनाउँदछ जुन सालमा यो शुरू भएको थियो । यो भाइरस चमेरोबाट कुनै स्तनपायी जीव र फेरि त्यस जीवबाट मानिसमा फैलिएको थियो । यो भाइरस त्यसबेला ३० देशमा फैलिएको थियो जसबाट ८ हजार व्यक्तिहरू संक्रमित भएका थिए भने ७७४ व्यक्तिको मृत्यु भएको थियो ।

त्यसपछि सन् २०१२ मा मर्स नामको कोरोना भाइरस संसारमा फैलिन शुरू भएको थियो । MERS को मतलब Middle East Respiratory Syndrome  हो । यो भाइरस चमेराबाट ऊँटमा र ऊँटबाट मानिसमा सरेको थियो । मर्सबाट करिब २७ देश प्रभावित भएका थिए । तर यो भाइरसले केवल २५०० व्यक्तिहरूलाई नै संक्रमित गर्यो र मर्ने व्यक्तिहरूको संख्या ८५० थियो ।

यसपछि डिसेम्बर २०१९ मा कोभिड १९ को शुरूआत भयो । यो कुरा मानिएको छ कि यो भाइरस पनि चमेरोबाट आएको हो । वैज्ञानिकका अनुसार यस भाइरसले पहिले कुनै जनावरलाई संक्रमित गर्यो र फेरि त्यस जनावरसँग सम्पर्कमा आएपछि यो मानिसहरूमा फैलियो । यसको शुरूआत चीनको बुहान शहरबाट भएको थियो । त्यहाँको वेट मार्केटमा कैयौं प्रकारको जंगली जनावरको मासु बेच्ने गरिन्थ्यो । कोभिड १९ बाट पुरा दुनियाँमा ३ लाख ४८ हजार व्यक्तिको मृत्यु भएको छ ।

अब कोरोना भाइरसको मामिलामा यो समस्या भएको छ कि यो भाइरसले यसभन्दा पहिले कहिल्यै पनि मानिसको शरीरमा प्रवेश गरेको थिएन । तर वर्ष २०१९ मा यस्तो भएपछि यो एक मानिसबाट अर्को मानिसमा निकै तेज गतिमा फैलिरहेको छ । एउटा डरलाग्दो कुरो यो छ कि यो भाइरसले आफूलाई लगातार बदलिरहेको छ । अथवा यसको संरचनामा परिवर्तन आएको छ जसलाई म्युटेशन भनिन्छ । यही म्युटेशनको मद्दतद्वारा यो भाइरसले आफूलाई मानिसको शरीरमा लामो समयसम्म बस्न सक्ने लायक बनाएको छ ।

लण्डनको स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनमा भएको एउटा रिसर्चको अनुसार यो भाइरस आफ्नो स्पाइक प्रोटीन्समा परिवर्तन ल्याउन सक्षम भएको छ । हामीले देख्ने गरेको कोरोना भाइरसको तस्वीरमा कोरोना भाइरसको शरीरमा केही माथि उठेको काँडा जस्तो संरचना देख्न सक्छौं । त्यसलाई नै स्पाइक प्रोटीन्स भनिन्छ र यसैको मद्दतबाट कुनै पनि भाइरस मानिसको कोशिकाहरूमा गएर टाँसिन्छ ।

कोरोना भाइरसमा आएको यो परिवर्तन ६२ देशहरूबाट सेम्पलको जाँचबाट सावित भएको थियो । अझै पनि यसको बारेमा अरू रिसर्च हुनु बाँकी छ ।

कोरोना भाइरसको यस म्युटेशनले गर्दा नै यसको भ्याक्सिन बनाउन मुस्किल बनेको छ । किनकि जबसम्म एउटा भ्याक्सिन बनिसक्छ, तबसम्म यसले आफ्नो स्वरूप परिवर्तन गरिसक्छ । अहिले विभिन्न किसिमको रिसर्च र आँकडाको आधारमा यो भनिएको छ कि कोरोना भाइरस मानिसको बीच लामो समयसम्म रहने वाला छ र हामीले यसको साथै जीवन जिउने बानी बसाल्नुपर्दछ । अब जब कोरोना भाइरस लामो समयसम्म हामीबीच रहन्छ भने यसले हाम्रो समाज, हाम्रो देश र दुनियाँमा यसको के कस्ता असरहरूको सामना गर्नुपर्ला ?

सबभन्दा पहिला समाजको कुरा गरौं । कोरोना भाइरसको शुरूआत भएपछि तपाईहरूले एउटा शब्द सबैभन्दा धेरैचोटी सुन्नुभएको होला त्यो हो सोशल डिस्टेसिंग अथवा एक दोश्रोमा सामाजिक दुरी बनाएर बस्नु । अथवा यस भाइरसको सबभन्दा बढी असर सामाजिक क्रियाकलापमा पर्दछ । हात मिलाउने र आमुन्ने सामुन्ने बसेर कुराकानी गर्ने परम्परा खतम भएर जान्छ ।

मानिसहरूलाई अब एकान्तमा काम गर्ने बानी बसाल्नुपर्दछ र भविष्यको चिन्ता छोड्नुपर्दछ । जुन कुरा वशमा छ अथवा जुन तपाईको नियन्त्रणमा छ, त्यसमा नै सन्तुष्ट मान्नुपर्ने हुन्छ । एउटा परिवर्तन यो पनि हुन सक्दछ कि अब मानिसहरू भविष्यको लामो लामो योजना बनाउन छोड्नेछन् । कोरोना भाइरसले यो कुरा बताइदिएको छ कि दुनियाँमा कुनै पनि कुरा स्थायी छैन । जब वर्तमानलाई लिएर नै कुनै पनि कुरा निश्चित रूपमा भन्न सकिंदैन भने भविष्यको बारेमा कुनै शर्त कसरी लगाउन सकिन्छ ?

हाम्रो जीवनको हिस्सा बनेका हाम्रा धेरै स्वभावहरू अब अनावश्यक हुन जान्छ । विकेन्डमा शापिंग मल जानु, फिल्म हेर्न हलमा जानु, साथीभाइहरूँग मिलेर रेष्टुरेण्ट गएर खाना खानु, रमाइलो गर्नु आदि । यी सबै कुराहरू पहिला हामीलाई निकै जरूरी लाग्दथ्यो । यो नगर्दा हामी फोमोको शिकार हुन जान्छौं । FOMO को अर्थ हो Fear of Missing Out हो । तर कोरोनाका डरले FOMO माथि ठूलो मूल्य चुकाउन पर्ने हुन्छ ।

पैसा सुखद् जीवनको लागि आवश्यक छ तर अब पैसाको स्थानमा स्वास्थ्य मानिसहरूको प्राथमिकता बन्न जानेछ । कोरोना भाइरसले बारम्बार यो कुरा सावित गरेको छ कि स्वास्थ्य नै सबैभन्दा ठूलो पुँजी हो र जसको पास राम्रो स्वास्थ्य छ त्यो नै आउनेवाला समयमा टिक्न सक्दछ । स्वास्थ्यको अलावा इमान्दारी पनि सफलताको कुँजी बन्नेछ । घरमा बसेर अफिसको काम गर्ने, अनलाइन क्लास अटेंड गर्ने र अनलाइनबाटै परीक्षा दिने कुरा । यी सबै तब मात्र सम्भव हुन्छ जब तपाई इमान्दार हुनुहुन्छ । इमान्दार सर्वोत्तम नीति हो (Honesty is the best policy) भन्ने कुराहरू हिजोसम्म पुस्तकमा मात्र सीमित थिए भने अब यसलाई पुस्तकबाट बाहिर ल्याएर जीवनको हिस्सा बनाउनुपर्ने हुन सक्छ ।

एकचोटी फेरि विचार गरौं त, कोरोना भाइरसपछि सामाजिक रूपमा के के परिवर्तन होला ? पहिलो कुरा एकान्त तपाईंको जीवनको हिस्सा बन्ने छ, भविष्यको चिन्ता तपाईले छोड्नु पर्दछ । अनावश्यक चीज र बानीहरूलाई बाई बाई गर्नुपर्दछ । पैसालाईभन्दा बढी प्राथमिकता स्वास्थ्यलाई दिनुपर्दछ र जीवनको प्रत्येक पाइलामा इमान्दारीलाई अपनाुउनु पर्दछ ।

कोरोना भाइरसका साथ जीउने यही नै ब्लूप्रिन्ट हो र यसलाई नबुझ्ने मानिस लडाइँलाई लड्नुभन्दा पहिले हार्न पुग्दछ । समाज मात्र होइन कि देशले पनि आफूलाई बदल्नु पर्दछ । पहिलो परिवर्तन यो आउँछ कि लिबरल विचारधाराको सट्टा राष्ट्रवादी विचारधाराले प्राथमिकता पाउने छ । देशहरू एक अर्कामा निर्भर हुनुको सट्टा हरेक देशले आफूलाई आत्मनिर्भर बनाउने प्रयास गर्नेछ । जो देशमा खुला सीमानाको वकालत गर्दथे, उनीहरू सबै देशकोे सीमानालाई सील गर्नुपर्छ भन्न थाल्नेछन् । अहिले युरोपका व्यक्तिहरू विना कुनै रूकावट एउटा देशबाट अर्को देशमा जान सक्दछन्, तर कोरोना भाइरसको कारणले जुन स्थिति इटाली, स्पेन, फ्रान्स र जर्मनी जस्तो देशको भएको छ, त्यसलाई देखेर यो लिबरलिज्म अब पुरानो जमानाको कुरा हुन थाल्नेछ ।

अर्को परिवर्तनमा कोरोना भाइरसको कारणले सरकारको काम गर्ने तरिका पनि बदलिनेछ । सरकारको प्राथमिकतामा सबभन्दा माथि स्वास्थ्य आउनेछ ।

तेश्रो कुरा, सर्विलान्स अथवा नजिकबाट अनुगमन गर्ने नीति सरकारी कामकाजको महत्वपूर्ण हिस्सा बन्नेछ । सर्विलान्सको मद्दतबाट सरकारले तपाईंको स्वास्थ्यमा दृष्टि राख्न सक्नेछन् । केही व्यक्तिहरू यस नीतिको विरोध पनि गर्न सक्नेछन् तर जब उनीहरूलाई स्वास्थ्य र निजता अथवा हेल्थ र प्राइवेसीमा कुनै एउटालाई रोज्न भनियो भने धेरैजसो मानिसहरू खुशीसाथ स्वास्थ्यको विकल्पलाई नै चुन्नेछन् ।

अनि चौथो ठूलो परिवर्तन राजनीतिको तौर तरिकामा हुनेछ । ¥याली र जनसभाहरू तब पुराना जमानाका कुरा हुने छन् । यी र्याली र जनसभाहरू मैदानको ठाउँमा अब सोशल मिडिया र डिजिटल प्लेटफर्ममा सीमित हुन थाल्नेछ ।

तपाईंको डाटा नै राजनैतिक पार्टीको लागि चुनाव जित्ने कुँजी बन्नेछ र जनसम्पर्कको सट्टा कम सम्पर्क गरेर तपाईंलाई एउटा मतदाताको रूपमा प्रभावित गरिनेछ । चुनावको तौर–तरिका पनि बदलिनेछ । हुन सक्छ कि मतदानको लागि लाइन लागेर पर्खने प्रथा खतम हुनेछ र यसको सट्टा तपाईलाई कुनै मोबाइल फोन एप्लिकेशनद्वारा भोट हाल्ने सुविधा मिल्न सक्नेछ ।

अब तपाईं यो कुरा बुझ्नुहोस् कि भाइरसको असर तपाईको मानसिक स्वास्थ्यमा कस्तो पर्ला ? मनोवैज्ञानिकका अनुसार सोशल डिस्टेसिंगको सबैभन्दा बढी असर तपाईंको मनोस्थितिमा पनि पर्नेछ । मानिसले सभ्यताको शुरूआतसँगै आफूलाई एकअर्कोमा नजिक राख्न सिकेको छ । तर अब सोशल डिस्टेसिंग नै यस भाइरसको ठूलो उपचार हो र जति तपाईं अरू व्यक्तिबाट टाढा बस्नुहुन्छ त्यति नै तपाईंको स्वास्थ्य राम्रो हुनेछ ।

कोरोना भाइरसको मानसिक स्वास्थ्यमाथि पर्ने असर यति गम्भीर विषय बनिसकेकोे छ कि अष्ट्रेलियाको न्यू साउथ वेल्स युनिभर्सिटीले दुनियाँभरको ३ हजार व्यक्तिमाथि एक रिसर्च गर्ने फैसला गरेको छ । यस रिसर्चमार्फत यो कुरा पत्ता लगाउने कोसिस गरिनेछ कि जब अचानक सामाजिक सुरक्षाको भाव विलुप्त भयो भने तब यसको मानसिक स्वास्थ्यमा कस्तो असर पर्दछ ?

मार्चको महिनामा चीनमा भएको एउटा रिसर्चबाट यो कुरा पत्ता लागेको छ कि जुन व्यक्तिहरू कोरोना भाइरसको शिकार भएका थिए, तिनीहरूमध्ये धेरै व्यक्तिहरू पोस्ट ट्रामेटिक स्ट्रेस डिसअर्डर भएको आशंका गरिएको थियो । चीनमा यो रिसर्च कोरोना भाइरसबाट ठीक भएका ७१४ बिरामीहरूमा गरिएको थियो । यस रिसर्चमा करीब ९६ प्रतिशत बिरामीमा PTSD को लक्षण पाइएको थियो । PTSD तब हुन्छ जब तपाईको जीवनमा कुनै यस्तो अनपेक्षित घटना घट्दछ, जसको लागि तपाई तयार हुनुहुन्न ।

अमेरिकाको हावर्ड युनिवर्सिटीको स्कूल अफ पब्लिक हेल्थद्वारा गरिएको एउटा रिसर्चका अनुसार दुनियाँभरिको मानिसहरूलाई २०२२ सम्म सोशल डिस्टेसिंगको नियम पालना गर्न पर्न सक्छ । यति लामो समयसम्म चल्ने सोशल डिस्टेसिंगको असर पनि तपाईंको मानसिक स्वास्थ्यमा पर्नु निश्चित छ । यति मात्र होइन, यो भाइरसले समाजलाई दुई भागमा विभाजन गर्नेछ । एउटा वर्गमा ती व्यक्तिहरू हुनेछन् जो यसको शिकार भएर ठीक भैसकेका हुनेछन् र जसको शरीरको प्रतिरोधक क्षमताले यस भाइरसमाथि काबु पाइसकेको हुनेछ र अर्को वर्गमा ती व्यक्तिहरू पर्नेछन् जसमा संक्रमित हुने खतरा छ र जसको इम्युनिटी कमजोर हुनेछ ।

ब्रिटेनसमेत अरू देशहरूले यस भाइरसबाट ठीक भएका व्यक्तिहरूलाई इम्युनिटी सर्टिफिकेट दिने कुरामा विचार गरिरहेका छ जसले गर्दा यी व्यक्तिहरू सामान्य तरिकाबाट आफ्नो कामकाज गर्न सक्नेछन् जब कि बाँकी अरू व्यक्तिहरूले अझ पनि लकडाउनमा नै रहनु पर्ने हुन्छ ।

यसरी यदि कोरोना भाइरसको संक्रमण लामो समयसम्म रह्यो भने पनि यससँग लड्दै हामीले सामान्य जीवन बिताउने कार्यमा नयाँ नयाँ उपायहरू अवलम्बन गर्नु पर्ने हुन्छ । किनकि हामी न सधैँभरि लकडाउनमा बसिरहन सक्छौं न त आफ्नो जीवनलाई जोखिममा पार्न नैैं । त्यसकारण सोसियल डिस्टेसिंगलाई अपनाउँदै हामीले आफ्नो जीवनलाई सामान्यीकरणतर्फ लाने कोसिस गर्नु पर्दछ ।

 

सम्बन्धित समाचार