सरकारले बुझ्नुपर्छ- खाली पेटले राष्ट्रियताको गीत गाउन सकिँदैन : सरिता लामिछाने

अभिनेत्री सरिता लामिछाने नेपाली रंगमञ्चमा सिरियल क्वीनको रूपमा चिनिन्छिन् । पारिवारिक टेली चलचित्र ‘मुक्ती’ मार्फत् नेपाली रजतपटमा प्रवेश गरेकी लामिछाने ‘सन्तानको माया’ नामक चलचित्रमार्फत ठूलो पर्दाका चलचित्रमा प्रवेश गरेकी थिइन् । सयाैं टेलिचलचित्र र केही ठूलोपर्दाको चलचित्रमा अभिनय गरेकी उनले नेपाल चलचित्र कलाकार संघको महासचिवको रूपमा जिम्मेवारी बहन गरिसकेकी छिन् ।

सधैं सकारात्मक भूमिकामा मात्र देखिने भएकोले होला, लामिछाने नेपालकी एकमात्र यस्तो कलाकारमा पर्छिन् जसको फोटो उनका फ्यानहरूले पुजाकोठामा टाँसेर पूजा नै गर्ने गर्दछन् । बुटवलकी सरस्वती अधिकार र धरानकी एक उनकी शुभचिन्तक दैनिक रूपमा उनको फोटोमा पूजा गर्ने गर्दछन् । बेला बेलामा सामाजिक सञ्जालमार्फत् जोडिएर आफ्ना फ्यानले भगवानकै रूपमा पुज्दा खुसी लाग्ने गरेको लामिछाने बताउँछिन् । ‘वहाँहरूले मलाई भन्दापनि मेरो कामलाई पुज्नुभएको हो भन्ने मलाई लाग्छ’ लामिछाने भन्छिन् ‘म पनि मेरो सम्पूर्ण दर्शकहरूलाई भगवानै ठान्दछु ।’



कुनै समय नेपाल टेलिभिजनमा लामिछाने अभिनित हप्तामा १२ ओटासम्म सिरियल प्रसारण हुन्थे । ती सिरियलका कारण सबै घरको मनपर्ने कलाकारका रूपमा थिइन् लामिछाने । अहिले उनी अभिनित टेलिचलचित्र ‘दृष्टि’ लाई दर्शकले रूचाएकोले नै हरेक हप्ता ट्रेन्डिङमा पर्ने गर्दछ ।

उनै नेपाली समाजकी आदर्श पत्र लामिछानेसँग कोरोना भाइरस, यसको रोकथामको लागि चलिरहेको लकडाउन र यसपछिका योजनाका बारेमा नवकान्तिपुर डट कमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

लकडाउनका कारण दिनभर घरभित्रै रहँदाको अनुभव कस्तो भइरहेको छ ?
कोरोना भाइरसको कारण संसार नै लकडाउनको अवस्थामा छ । संभवतः पहिलोपटक विश्वका सबै मानिसहरूको दिनचर्या एउटै किसिमको भएको छ । शुरूशुरूका दिनहरूमा मान्छेहरू ज्यादै आत्तिएका थिए । स्वाभाविक रूपमा मेरो मन पनि आत्तिएको थियो । तर पनि कोरोनालाई लिएर जिन्दगी नै बर्बाद हुनेभयो, खत्तमै हुनेभयो भन्ने त लागेको थिएन । समस्याहरूसँगै समाधानको पनि आशा गरेर बसेँ । लकडाउन लम्बिदै जाँदा कतिपय मानिसहरू समस्यामा परे । लकडाउनकै बीचमा पनि सरकारका निर्देशन पालना गरेर, सामाजिक दुरी कायम गरेर समस्यामा पर्नुभएकाहरू र आफ्नो आस्था रहेका ठाँउमा आफूले सकेको सहयोग गरेँ ।

कोरोनालाई जितेर लकडाउन पूर्णरूपमा सकिने बित्तिकै पहिलो काम के गर्नुहुन्छ ?
म कहिल्यै पनि योजना बनाएर अगाडि बढ्दिन । यस्तो गर्छु भनेर धेरै अगाडिदेखि योजना बनाएर गरेका अधिकांश काममा म असफल भएकी छु । विना योजना गरेका कामले सफलता पाएको छ मेरो हकमा । फेरि यो कोरोनाको कारण यसपछिको परिस्थिति कस्तो हुन्छ भन्ने अनुमान नै गर्न सकिएको छैन । आगामी दिनमा यसको प्रभाव कुन रूपमा, कुन तहमा अगाडि बढ्छ भन्ने एकिन साथ भन्न सकिने अवस्था छैन । त्यसैले योजना बनाउनेहरूलाई पनि अप्ट्यारो परेको होला । निरन्तर गरिरहेको कामलाई निरन्तरता दिन्छु, म बाँचेसम्म अरूलाई पनि बचाउने प्रयत्न गर्नेछु । गाँस, बास, कपास, शिक्षा स्वास्थ्यपछि मात्र मनोरञ्जन प्राथमिकतामा पर्छ । हामी पनि मनोरन्जन क्षेत्रकै भएकोले कोरोनाको असर हामीहरूलाई पछिसम्म नै पर्छ । त्यसैले अहिलेलाई निरन्तर भइरहेका कामबाहेक अन्य योजना बनाएको छैन ।

लकडाउनकाबीच कुनै सिर्जनात्मक गतिविधि गर्नुभयो ?
म त्यति साह्रै क्रिएटिभ मान्छे त होइन । त्यसैले शारीरिक र मानसिक रूपमा स्वच्छ रहनुपर्छ भन्नेमा बढी ध्यान केन्द्रित भयो । घरका कामहरू आफैं गरेँ । शुरूवातका दिनहरूमा पढिसकेकै किताबहरू दोहोर्याएर पढेँ । यसरी पढ्ने समय हुन्छ भन्ने भएको भए नयाँ किताबहरू किन्ने थिएँ । लकडाउन भएपछि सबै बन्द भइहाल्यो ।  एउटा नयाँ टेलिसिरियलको तयारी गर्दै थिएँ । लकडाउनको बेला त्यसको स्कृप्टलाई पूर्णता दिएँ । कोरोनाको प्रभाव सकिएलगत्तै त्यो फ्लोरमा जानेछ ।

कुन कुन किताब पढ्नुभयो ? पढेकामध्ये उत्कृष्ट लागेको कुनै एउटा किताबको नाम लिनुपर्दा ?
मैले सेतो धर्ती, महको म, चिना हराएको मान्छे, कायकल्पलगायतका किताबहरू पढें । यी सबै निकै राम्रा लागेर नै दोहोर्याएर पढेकी थिएँ । तीमध्ये पनि एउटाको नाम लिन भन्नुहुन्छ भने सेतो धर्ती को नाम लिन्छु । यो निकै उत्कृष्ट लाग्यो मलाई ।

यसअघि हुँदै आएका कुन कुन कामलाई निरन्तरता दिने सोच छ ?
मैले समातेको धार, अझ भनौं मेरो कलाकारिता नै टेलिचलचित्रमार्फत् भएको थियो । अहिले पनि दृष्टि नियमित प्रसारण भैरहेको छ । कोरोनाले फिचर फिल्म र त्यसमै निर्भर कलाकर्मीलाई ठूलै धक्का दियो । तर टेलिभिजन कार्यक्रम र टेलिचलचित्र यसबीचमा पनि निरन्तर प्रसारण भए । परिस्थितिअनुसार कार्यशैली बदलेर पनि हामीले यस कामलाई निरन्तरता दियौं । यसबीचमा पनि सामाजिक दुरी कायम गरेर केही बाहिरी व्यानरका कामहरू पनि गरेँ । खासगरी कोरोना र सीमा विवादसँग सम्बन्धि कामहरू यसबीचमा पनि भए । यस्ता कामहरूले निरन्तर पाउने नै छन् ।

कोरोना भाइरससँग कतिको डराउनु भयो ?
शुरूमा चीनमा मात्र देखिँदा खासै डर लागेको थिएन । विस्तारै संसारभरि फैलिन थालेपछि स्वाभाविक रूपमा मन डरायो । अब के होल ? भन्ने चिन्ता पनि भयो । परिवारसँग छलफल हुँदा पनि सतर्क हुनुपर्छ भन्ने र कोरोनाकै बारेमा कुराकानी हुन थाल्यो । औषधी नै नभएका कुरा र बिरामी भए या मरे पनि आफन्तले भेट्न नपाउने कुराले थप चिन्तित बनायो । तर जब यसबाट सुरक्षित हुने उपायका बारे जानकारी हुँदै गयो, तब विस्तारै कोरोनालाई धेरैले जितेको पनि सुनियो । यसले कल्पना गरेजस्तो जटिल होइन रहेछ भन्ने भान हुँदै गयो । डर पनि कम हुँदै गयो ।

पछिल्लो समय रोगले भन्दा पनि भोकले मान्छे मर्ने स्थिति आउला भन्ने चिन्ता छ । शुरूका दिनमा राजधानीबाट कयौं दिन हिँडेरै घर फर्केकाहरू देख्दा मन दुखेको थियो, अब दैनिक काम गरेर परिवार पाल्नेहरूको दैनिकी कसरी चल्ला भन्ने कुराले मन चिन्तित हुन्छ । कोरोनाले असर नगरेको क्षेत्र नै छैन । कयौ मानिस बेरोजगार भएका छन् । अर्थतन्त्रमा ठूलो असर गरेको छ । आजभोलि यो कोरोनाको खाडलबाट मानिस र देश कसरी बाहिर निस्कन्छ भन्ने कुराले चिन्तित बनाउँछ ।

यसबीचमा कोरोना रोकथामलाई लिएर सरकारको कामलाई कसरी हेर्नुभएको छ ?
कोरोनाको असर बढ्दै जाँदा सरकार जुन रूपमा सक्रिय हुनुपर्ने हो, त्यो पाएको छैन । सामान्य अवस्थामा जनाताले कर तिरेर सरकारलाई सहयोग गरेका थिए । यतिबेला लकडाउन लम्बिदै जाँदा दैनिक रूपमा गरिखाने वर्गलाई जुन रूपले राहतको व्यवस्था गर्नुपर्ने थियो त्यसमा सरकार चुक्यो । अहिले कोरोनाको संक्रमण बढ्दै जाँदा परीक्षणको दायरा बढाउनबाट पनि सरकार चुकेको छ । अब वर्षा लाग्यो । तराईमा सर्पको डर हुन्छ । क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्यो । बाढीपहिरोको डर हुन्छ, त्यसको तयारी गर्नुपर्यो । यो सरकारको लागि जनताको मन जित्ने अवसर पनि थियो तर त्यसमा पनि सरकार चुक्यो । लकडाउन लम्बिदै जाँदा जनता पनि सरकारको विरोध गर्न थालेको छन् । भोको पेटले राष्ट्रियगान गाउन गाह्रो हुन्छ । यो कुरा सरकारले बेलैमा बुझ्नु पर्छ ।

यो विपत्ति र लकडाउनले केही सिकायो पनि कि ?
मैले त भूइँचालोबाटै धेरै पाठ सिकेकी थिएँ । हरेक कुराको लिमिटेसन हुन्छ । जब जब मानिसमा काम, क्रोध, लोभ र मोह बढ्दै जान्छ, यस्ता प्रकृतिक विपत्तिले पाठ सिकाउने गर्दछन् । लोभ बढेपछि तिम्रो धरातल यो हो है भन्ने देखाउन प्राकृतिक विपत्ति आउछन् जस्तो लाग्छ । अहिले कोरोनालाई नै हेर्नुहोस् न, संसारका शक्तिशाली राष्ट्रहरूलाई पनि घुँडा टेक्न बाध्य पार्यो । संसारका सबै राष्ट्र, सबै मानिस बराबर हुन् भन्ने सन्देश पनि कोरोनाले दिएको छ ।

कोरोनालाई लिएर तपाईको सन्देश के छ ?
म त अबको स्थिति झन् भयावह देख्छु । कतिपय देशलाई हेरेर हामीले पाठ सिक्नुपर्छ । लकडाउन खुकुलो हुँदैगर्दा कोरोना महामारी झन् फैलने खतरा हुन्छ । लकडाउन खुकुलो भयो भन्दैमा काम नै नपरे पनि बाहिर ननिस्कनुस् भन्न चाहन्छु । सरकारको धेरै भर पर्ने अवस्था छैन । आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्नुहोस्, आफू बाँच्नुहोस् र अरूलाई पनि बचाउनुहोस् भन्न चाहन्छु । भएसम्म बाँडेर खाने हामी नेपालीहरूको संस्कार नै हो । यो विपत्तिको बेला दुःख पाएकाहरूलाई सहयोग गरेर सँगसँगै अगाडि बढौं भन्न चाहन्छु ।

 

 

सम्बन्धित समाचार