नवकान्तिपुर संवाददाता
काठमाडौं, असार ८ ।
नेपाल कला, संस्कृति र सम्पदाले सम्पन्न मुलुक हो । यस मुलुकले धेरै कलाकार, संस्कृतिकर्मी तथा संस्कृतिविदहरू मात्र जन्माएको छैन, नेपाली लोककला, संस्कृति र परम्परलाई विश्वभरि प्रचारप्रसार गर्ने लोक प्रसारकहरूहरू पनि जन्माएको छ । यिनै स्रष्टाहरूको योगदानले गर्दा नै नेपाली लोककला तथा लोक संस्कृतिलाई विश्व बजारमा प्रचारप्रसार गर्न ठूलो मद्दत पुगेको छ ।
नेपाल सरकार तथा सम्बन्धित निकायहरूले वार्षिक संस्कृतिका नाममा करौडाैं रूपैयाँ खर्च गरेता पनि यस क्षेत्रमा उल्लेखनीय काम गरेको पाइँदैन । तर नेपालमा यस्ता व्यक्तिहरू पनि छन् जसले आफ्नो अथक प्रयासबाट विश्व बजारमा नेपाली लोक कला क्षेत्रको माध्यमबाट एक बेग्लै पहिचन बनाउन सफल भएका छन् । त्यस्तै एक व्यक्ति हुन्, हाल अमेरिकामा बसोबास गरेर पनि नेपाली लोक कला संस्कृतिको प्रचारप्रसारमा क्रियाशील– ठाकुर कोइराला आकाश ।
उनले विगत लामो समयदेखि नृत्यकलासँग नाता गाँसेर एक प्रखर नृत्यकार हुँदै नृत्य निर्देशक भई अरूलाई पनि नेपाली लोक कला संस्कृतिमा लाग्न अभिप्रेरित गरे । नेपाली संस्कृतिलाई स्वदेशदेखि विदेशसम्म प्रबद्र्धन गर्नु तथा यसको संरक्षण र संवद्र्धन गर्नु नै उनले आफ्नो मुख्य उद्देश्य बनाएका छन् । लामो समयसम्म एभरेष्ट नेपाल कल्चरल ग्रुपमा आबद्ध भई नृत्यकार, कार्यकारी सदस्य, कार्यक्रम प्रबन्धक जस्ता जिम्मेवारी सम्हाल्दै आएका कोइराला विगत ८ वर्षदेखि एभरेष्ट नेपाल कल्चरल ग्रुप, अमेरिका शाखाका निर्देशक छन् ।
नुवाकोट जिल्ला कल्यानपुर गाउँ विकास समिति वडा नं. १ हर्कपुर (हाल विदुर नगरपलिका वडा नं. १३) मा बुबा रत्नप्रसाद कोइराला र आमा सवित्री कोइरालाको कोखबाट पाँचौ सन्तानका रूपमा जन्मिएका कोइरालाले विगतमा लामो समयसम्म काठमाडौंलाई आफ्नो अध्ययन केन्द्र बनाए । हाल अमेरिकालाई कर्मक्षेत्र बनाउदै आएका यिनै संस्कृति प्रेमी कोइरालासँग अनलाइन पत्रिका नवकान्तिपुर डटकमकी संवाददाता शीतल आचार्यले समसामायिक विषयमा गरेको कुराकानीको सम्पादित अंश :
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०२० को लागि नेपाल आएको थिएँ । तर, दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सकिएसँगै विश्वभर फैलिएको कोभिड १९ को प्रकोपले गर्दा अन्तर्राष्ट्रिय उडानहरू सबै बन्द भए । यही कारणले हाल म नेपालमा नै छु ।
अमेरिका फर्किनुभन्दा पहिला एक अन्तर्राष्ट्रिय साँस्कृतिक भेलामा भाग लिने सिलसिलामा पोर्तुगल जानु पर्ने थियो तर कोरोनाको कारण सबै कार्यक्रमहरू रद्द भए । विश्वलाई घरभित्र थुनेको बेलामा म पनि आफ्नै घरभित्र छु तर जति व्यस्त हुनु पर्ने हो, त्यती व्यस्त हुन चाहिँ परिस्थितिले दिएन ।
तपाईं नृत्यकार हुँदै नृत्य निर्देशक हुनुभएको छ, आफ्नो साँस्कृतिक यात्राको बारेमा केही भनिदिनुहोस् न ?
म सानैदेखि केही चञ्चल स्वभावको थिएँ रे, आमाले भन्नु भएको । कतै मादल, खंैचेडी बजेको आवाज सुन्यो कि बुर्लुक्क उफ्रेर नाँच्न पुगिहाल्थेँ रे । पछि काठमाडौंमा अध्ययनको लागि आएँ । त्यति बेलासम्म मेरो माइलो दाजु आरसी कोइराला एक कुशल नृत्य निर्देशक भइसक्नुभएको थियो । दाजुले केही साथीहरूसँग मिलेर एभरेष्ट नेपाल कल्चरल ग्रुप खोल्नुभयो । त्यसपछि यस यात्रालाई निरन्तरता दिन खासै गाह्रो भएन ।
तपाईंको बुझाइमा संस्कृति के हो ?
संस्कृति देशको पहिचान हो, देशको सम्पत्ति हो र पुर्खाको नासो तथा प्राचीनदेखि चलिआएको चलन हो ।
तपाईंको बुझाइमा देशको साँस्कृतिक सम्पत्तिलाई नेपाल सरकारले संवद्र्धन र प्रबद्र्धन गरेको छ कि छैन ?
नेपालमा साँस्कृतिक प्रवद्र्धन गर्नको लागि सरकार छ र ? मलाई त छ जस्तो लाग्दैन । किनकि यदि नेपाल सरकारको त्यस्तो निकाय हुन्थ्यो भने त संस्कृतिको संवद्र्धन तथा प्रबद्र्धन भै हाल्थ्यो नि । यससम्बन्धी काम गर्न बसेका निकायहरू लोक संस्कृतिको संवद्र्धन तथा प्रबद्र्धन गर्नुभन्दा आफ्नो स्वार्थसिद्धका लागि तल्लिन बनेका छन् । त्यसैले मेरो अनुभवमा नेपाल सरकारबाट कुनै पनि त्यस्तो काम भएको जस्तो लाग्दैन जसले नेपाली लोक संस्कृतिको संवद्र्धन तथा प्रबद्र्धनमा टेवा पुगोस् ।
अहिलेसम्म आफ्नो प्रस्तुतिको लागि कहाँ कहाँ जानु भयो ?
म साँस्कृतिक क्रार्यक्रमको सिलसिलामा युरोपको धेरै जसो मुलुकहरू पुगेको छु । जस्तै– पोल्याण्ड, जर्मनी, फ्रान्स, पोर्तुगल, स्पेन, बेल्जियम, ताईवान, चाइना, भारतलगायत धेरै देश पुगेको छु ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा पनि आबद्ध हुनुहुन्छ कि ?
एभरेष्ट नेपाल कल्चरल ग्रुप, अमेरिका शाखाबाहेक कला, संस्कृति र साँस्कृतिक कार्यहरूको हक हितको लागि काम गर्ने केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा पनि आबद्ध छु । जस्तै– World Association of Performing Arts “WAPA”, International organization of Folk Arts IOV, American Folklore Society जस्ता संस्थाहरूको सदस्य छु । यसै गरी अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपालको कार्यक्रम प्रबन्धक, नेप्लीज सोसाइटी अफ टेक्सस, ग्रेटर अस्टिन अफ नेपालीज सोसाइटीको सदस्य, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालको आजीवन सदस्यलगायत संस्थाहरूमा आबद्ध छु ।
अमेरिकामा नेपाली लोक संस्कृतिको प्रबद्र्धनको लागि के कस्ता कार्यहरू गर्दै आउनु भएको छ ?
म अमेरिकाको टेक्सस राज्यमा बस्छु र मैले त्यही राज्यमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूलगायत स–साना बाबुनानीहरूलाई नेपाली लोक नृत्य सिकाउने गर्छु । नेपाली समुदायले आयोजना गरेको साँस्कृतिक क्रार्यक्रमहरूमा भाग लिने गर्छु । अमेरिकाको स्थानीय सरकारले आयोजना गरेको विभिन्न साँस्कृतिक क्रार्यक्रमहरूमा पनि नेपालको तर्फबाट प्रतिनिधित्व गर्दछु ।
अन्त्यमा, तपाईको मनमा लागेको केही छ कि ?
खासै त्यस्तो केही छैन तर पनि म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु कि नेपाली संस्कृतिको अपनत्व ग्रहण गरौं । आफ्नो संस्कृति, परम्परा, रहनसहनको अनुशरण गर्दै यसको संवद्र्धन तथा प्रबद्र्धन गर्दै जान हामी सबैमा प्रेरणा मिलोस् । विश्व महामारीको रूपमा फैलिरहेको कोरना भाइसरबाट सुरक्षित रहन सकौं । यस महामारीबाट आँफू बाँच्नु र अरूलाई बचाउन सक्नु नै आजको पहिलो दायित्व हो ।