सशर्त ओलीलाई समर्थन गर्ने बादलको निर्णय, प्रचण्ड थप तनावमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको जारी विवाद थप रोचक मोडमा पुगेको छ । प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले स्थायी कमिटी बैठकमै र्याखर्याखती पारेपछि सुरू भएको विवादको श्रृङ्खला एक अध्यक्षले बैठक स्थगित गर्ने र अर्का अध्यक्षले सञ्चालन गर्ने तहसम्म पुगेको थियो । तर पछिल्लो समय पार्टी उपाध्यक्ष वामदेव गौतमले क्याम्प चेन्ज गरेर ओलीको समर्थनमा पुगेपछि ओली र प्रचण्डबीच वार्ताको वातावरण पनि बिग्रिएको छ ।

प्रचण्ड–नेपाल समूहलाई बेवास्था गर्दै गलाउने रणनीति लिएका ओलीले पछिल्लो समय प्रचण्डले वार्ताको लागि समय माग्दासमेत समय दिएका छैनन् । ओलीले जारी विवाद स्थायी कमिटीबाट नभई सचिवालयमार्फत हल गर्नुपर्ने भन्दै प्रचण्डसँगको वार्ताको कुनै अर्थ नरहेको बताउने गरेका छन् । ‘प्रचण्डजी राजीनामा माग्नुहुन्छ । म राजीनामा दिन्न । यस्तो अवस्थामा वहाँसँग वार्ता गर्नुको कुनै अर्थ नै छैन’ ओलीले प्रचण्डको टिप्पणी गर्दै महासचिव विष्णु पौडेललाई भनेको भनाई उध्रित गर्दै स्रोतले भन्यो ।



गौतमको साथ पाएपछि थप रणनीति तय गर्न ओलीले आफूनिकट नेताहरूसँगको छलफललाई तिब्रता दिएका छन् । उनले प्रचण्डसँग असन्तुष्ट रहेका भनिएका नेताहरूसँग पनि पारामर्श गरेका छन् । स्रोतका अनुसार उनले प्रचण्ड–नेपाल समूहका केही स्थायी कमिटी नेताहरूलाई विभिन्न प्रलोभननमा पारेर आफूतिर तान्ने प्रयास गरिरहेका छन् । पार्टीका सबै कमिटीमा अल्पमतमा परेकै कारण प्रचण्ड र नेपाल समूहका नेताहरूले हेप्ने गरेको भन्दै ओलीले सरकारमा सहभागी गराउनेदेखि महाधिवेशनमा उपयुक्त पद दिने प्रलोभनमा नेताहरूलाई फकाउने क्रम जारी राखेका छन् ।

बादल पनि ओली क्याम्पमा ?
पार्टीभित्रको पछिल्लो विवाद र शीर्ष नेताहरूको ध्रुवीकरणका विषयमा परामर्श गर्न गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले पनि सरकारी क्वार्टर पुल्चोकमै गुटगत भेलाका गरेका छन् । बादलले आफूपक्षीय २६ जना नेता बोलाएर नेकपाभित्र देखिएको संकट र समाधानका उपायहरू बारे चर्चा गरेको स्रोतको दाबी छ । नेकपाभित्रको आन्तरिक समीकरणका बारेमा हाम्रो पोजिसन के हो भन्ने बारेमा बादलले ब्रिफिङ गरेको स्रोतले बतायो ।

बादलले तत्काल ओलीको राजीनामा माग्नु गलत भएको बताउँदै जारी विवादमा आफू ओलीको समर्थनमा रहेको बताएका थिए । बहुमतले ओलीलाई हटाउन खोजे संसद विघटन गर्ने, मध्यावधि निर्वाचन गर्ने, राष्ट्रपति शासन लगाउने जस्ता कामहरू हुन सक्ने भन्दै बादलले त्यो पार्टीको लागि प्रत्युत्पादक हुने बताएका थिए । गौतमले जारी गरेको ६ बुँदे प्रस्तावप्रति सकारात्मक रहेको बताउँदै बादलले ओलीलाई महाधिवेशनसम्म दुबै पदमा काम गर्न दिनुपर्ने बताएका थिए ।

पार्टी फुटेमा प्रचण्डतिर
तर आफूनिकट नेताहरूसँगको छलफलमा बादलले पार्टी फुटेमा भने केपी ओलीलाई साथ दिन नसकिने बताएका थिए । ओलीलाई दिएको समर्थन पार्टी नफुटाउने शर्तमा हो । नेकपा फुट्ने अवस्था आएमा ओलीतिर पश्चगामी धारका नेताहरू लाग्ने भन्दै पश्चगामीको सार्थन गर्न नसकिने बताएका थिए । बादलले तत्कालको विवादलाई बिर्सने हो भने ओलीभन्दा प्रचण्ड नेपाल–समूह प्रगतिशील रहेको बताएका थिए ।

ओली थप शक्तिशाली
बादलको समर्थन पाएपछि प्रधानमन्त्री केपी ओलीलाई सचिवालयमा स्पष्ट बहुमत मिलेको छ । संसदीय दल र स्थायी कमिटीमा बहुमत पुर्याउन उनको दौधधुप चलिरहेको छ । गौतम र बादलको समर्थनपछि पछिल्ला दिनहरूमा ओली आक्रमक रूपमा दौडधुप बढाएका छन् भने प्रचण्ड नेपाल–समूह रक्षात्मक रूपमा गतिविधि गरिरहेका छन् ।

सम्बन्धित समाचार