नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।
पार्टी विवाद समाधान गर्न वार्तामा बसेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजको वार्तामा चर्काचर्की भएको छ । वार्ताको सुरुवातमै सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका थिए । विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै प्रचण्ड र खनालले आपत्ति जनाएपछि केहीबेर चर्काचर्की नै भएको थियो ।
‘अझै पनि नियुक्तिबारे पार्टीमा छलफलै नगरी मनपरी विवादास्पद व्यक्तिलाई अँगाल्न छोड्नुभएन । तपाईको कारण आगामी निर्वाचनमा जनतामाँझ जान पनि लाजमर्दो अवस्था आउने भयो । न त र तपाई राजीनामा दिनुहुन्छ न त पार्टीसँग छलफल गरेर सहमतिमा सरकार सञ्चालन गर्नुहुन्छ । यसरी अब चल्दैन’ भन्दै वार्ताको सुरुवातमै प्रचण्डले ओलीसँग चर्काचर्की गरेका थिए ।
प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनै पनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका थिए । ओलीले सोमबार मन्त्रीपरिषद्ले गरेको निर्णयबारे परामर्श नगरेकोमा माफी मागेका थिए । छलफलको लागि समय नभएकोले हतारमा निर्णय लिनुपरेको ओलीको भनाई थियो । ‘आगामी दिनमा पार्टीको राय लिएर नै नियुक्ति गर्नेछु, यो विषयलाई धेरै नउचाल्नुहोस् । तपाईहरूको चित्त नै दुखेको भए म माफी माग्छु’ ओलीको भनाई उध्रित गर्दै स्रोतले भन्यो ।
ओलीले नियुक्ति प्रकरणमा माफी नै मागेपछि वार्ता विषयमा केन्द्रित भएर अगाडि बढेको थियो । तर आजको वार्तामा पनि ओली र प्रचण्डबीच सचिवालय कि स्थायी कमिटी भन्ने विवाद कायमै रहेकोले ठोस सहमति हुन सकेन । करिब सवा घण्टा भएको वार्तामा दुवै पक्षले आ–आफ्नै अडान राखेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको हो । ओली स्थायी कमिटी बैठक राख्न तयार नभएपछि प्रचण्ड पनि जारी बैठक छोडेर सचिवालयमा फर्किन नसकिने अडानमा रहे । वार्ता सहमतितर्फ नगएपछि बुधबार पुनः बस्ने गरी नेताहरू उठेका थिए ।
वामदेवलाई भेटेर के भने प्रचण्डले
प्रधानमन्त्री ओलीले बालुवाटारमा विज्ञसँगको छलफलमा प्रचण्डलाई पनि बोलाएको भए पनि प्रचण्ड भने बालुवाटार नगई भैंसेपार्टीमा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न पुगेका थिए । पछिल्लो समय ६ बुँदे प्रस्तावसहित ओलीलाई समर्थन गरेपछि गौतम र प्रचण्डबीच दुरी बढेको थियो । ओलीसँगको लगातारको वार्तामा सहमति नजुटेपछि आज ओलीलाई भेट्नुअघि प्रचण्डले गौतमलाई फकाउने प्रयास गरेको स्रोतको दाबी छ ।
‘ओलीको प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्ने बेलामा तपाई नै ओलीको पछि लाग्नुभयो । ओलीको गतिविधि देखिहाल्नुभयो । हिजोको नियुक्तिबारे पार्टीमा छलफलै भएन । हामी अब ओलीले जे गर्छन् टुलुटुलु हेरेर बस्ने हो ? यसपटक त निर्वाचन हार्नुभयो, अर्कोपटक जित्नु पर्दैन ?’ गौतमलाई प्रचण्डले प्रश्न गरेका थिए । जवाफमा गौतमले ओलीलाई सम्झाउने बताएका थिए ।
गौतमले पार्टीलाई फुटबाट जोगाउन तत्काल ओलीको राजीनामा माग्न नहुने दोहोर्याए । प्रचण्डले भने ओलीको रबैयाले पार्टी फुटेको भन्दा तल्लो स्तरमा पुग्ने भन्दै पुनर्र्विचार गर्न आग्रह गरेका थिए ।