यसकारण फुट्न पनि सजिलो छैन नेकपालाई

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई नजिकबाट नियालेर हेर्ने हो भने फुटको संघारमा रहेको देखिन्छ । बहुमत सदस्यको माग एकातिर र पार्टी सञ्चालन विधि पद्दति अर्कोतिर भैरहेको छ । सचिवालयबाहेकका पार्टी कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले राजीनामाको चर्को दवाव परेपछि आवेशमा आएर पार्टी फुटाउने तयारी गरे पनि अन्तिममा रोकिए । यता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले आफूसँग बहुमत सदस्यको समर्थन हुँदाहुँदै पनि ओलीमाथि कुनै कारवाही गर्न सकिरहेका छैनन् ।

ओली र प्रचण्ड समूह एकले अर्कोको आलोचनामै समय व्यतित गरिरहेका छन् । दुबैले एकअर्कालाई पार्टी एकताविरोधी गतिविधिका संलग्न रहेको आरोप लगाइरहेका छन् । दुबै समूहले पार्टी फुटको संघारमा रहेको बताउँदै आएका छन् । नेकपाका शीर्ष नेताहरू अहिले न मिल्न पनि सकेका छन् न आ–आफ्नो सुर गर्न सकेका छन् । नेकपा फुटको नजिक पुगेर पनि फुट्न नसक्नुमा चाहिँ केही प्रविधिक र केही राजनीतिक विषयले भूमिका खेलेको पाइन्छ । नेकपा फुट्न नसक्नुको केही करणहरू :



१ः फुटको अपजस महङ्गो पर्नसक्ने सम्भावना
नेकपा जतिवेला पनि फुट्नसक्छ भनेर ओली र प्रचण्ड दुबै समूह मनोवैज्ञानिक रूपमा तयार भएर बसेका छन् । भित्रभित्र फुटपछिको खाकासमेत तयार गरिसकेका छन् । ओलीले त फुटिहालेमा नेकपा एमालेलाई नै अगाडि बढाउने तयारीस्वरूप आफू निकटकालाई सो पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । तर पनि दुई पार्टी एक भएको छोटो समयमै फुट्दा फुटको अपजस आफूलाई नपरोस् भन्नेमा दुबै समूह चनाखो छन् ।

निर्वाचनको समयमा पार्टी एकता गर्ने, स्थायी सरकार दिने, समृद्धि ल्याउनेजस्ता आश्वासनसहित जनतामा गएका तत्कालीन नेकपा एमाले र नेकपा माओवादीलाई जनताले विश्वास गरेर झण्डै २ तिहाई मत दिएका थिए । यसबीचमा उनीहरूले पार्टी एकता त गरे तर एक निर्वाचन कार्यकाल पनि एक हुन नसकेपछि पार्टी फुटाउनुमा कसको भूमिका बढी छ भन्ने कुरा जनताले हिसाब राख्नेछन् । पार्टी फुटेपछि फुटको अपजस जुन समूहलाई लाग्छ सोही समूह जनताको बहिष्कारमा पर्न सक्ने भयले ओली र प्रचण्ड दुबै समूह फुटको अपजस नलिने गरी अगाडि बढ्न चाहन्छन् । त्यसैले पनि ओली पार्टी फुटाउने अन्तिम चरणमा पुगेर पनि अपजस आइलाग्ला भनेर पछि हटेका छन् भने प्रचण्ड–नेपाल समूह पनि बहुमत समर्थन हुँदाहुँदै ओलीविरुद्ध कुनै कारवाही गर्न सकिरहेका छैनन् ।

२ः दोस्रो तहका नेताहरूको दवाव
नेकपा फुटिहाल्न नसक्नुमा दोस्रो तहका नेताको दवावले पनि काम गरेको छ । नेकपाका अधिकांश दोस्रो तहका नेताहरु नेकपा फुटेमा आगामी निर्वाचनमा विजयी हुने सुनिश्चितता छैन । उनीहरूलाई पार्टी फुटेमा निर्वाचनमा आफू बढारिने चिन्ता छ । अहिलेको पार्टी विवाद शीर्ष नेताहरूका कारण सिर्जना भएको हो तर त्यसको प्रत्यक्ष असर तलका नेता कार्यकर्तामा पर्न सक्छ । त्यसैले उनीहरूले शीर्ष नेताहरुलाई पार्टी एकता बचाउन दवाव दिंदै आएका छन् । हिजो मात्र ६० भन्दा बढी नेकपानिकट सांसदहरुले पार्टी फुटाउँदा आफूलाई नगन्नू भनेर हस्ताक्षर नै शीर्ष नेताहरूलाई बुझाएका थिए । यी र यस्ता दवावले नेकपालाई फुटिहाल्नबाट आजसम्म बँचाएको छ ।

३ः फुटपछि प्रधानमन्त्री पदको ज्ञारेन्टी नहुँनु
नेकपाको पछिल्लो विवाद प्रधानमन्त्रीको राजीनामामै केन्द्रीत छ । नेताहरूले पछिल्लो विवाद पदको लागि नभएको बताउँदै आए पनि ओलीले राजीनामा दिने हो भने पार्टीभित्रको विवाद नै साम्य हुने देखिन्छ । तर ओली राजीनामा दिन तयार छैनन्, बरु पार्टी फुटाएर भए पनि कांग्रेसको साथ लिएर पुनः प्रधानमन्त्री बन्ने तयारीमा लाग्ने संकेत उनले गरिसकेका छन् ।

ओली र प्रचण्ड समूह के कुरामा विश्वस्त हुन सककेका छैनन् भने उनीहरू पार्टी फुटेमा आफ्नै पार्टीले प्रधानमन्त्री पद पाउँछ भन्नेमा दुबै समूहलाई आशंका छ । राजनीतिक शक्तिसन्तुलनलाई नियाल्दा पार्टी विभाजनपछि कांग्रेस र जसपाको समर्थनमा सरकारमा जानुपर्ने हुन्छ । त्यो अवस्थामा प्रधानमन्त्री पद कांग्रेस या जसपाको पोल्टामा नपुग्ला भन्न सकिँदैन । त्यसैले पनि ओली र प्रचण्ड समूहहरूले पार्टी फुटाइहाल्ने हिम्मत गर्न सकिरहेका छैनन् ।

४ः निर्वाचन चिन्ह ‘सूर्य’ को लोभ
नेकपाको निर्वाचन चिन्ह सूर्य निकै लोकप्रिय मानिन्छ । पार्टी फुटाएर जाने समूहले यो निर्वाचन चिन्ह पाउँदैन । प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउने उद्देश्यले नै बजेट अधिवेशन अन्त्य गरेर विधेयक ल्याउने तयरी गरे पनि अन्तिममा पछि हट्नुको कारण सूर्य चुनाव चिन्नकै लोभले भएको बताइन्छ । फुटपछि प्रधानमन्त्रीको सुनिश्चित नहुनु र निर्वाचन चिन्ह सूर्य पनि गुमाउनु पर्ने देखिएपछि ओलीले राजीनामा पनि नदिने र पार्टी पनि नफुटाउने रणनीति अख्तियार गरेका हुनसक्ने अड्कल गरिएको छ ।

सम्बन्धित समाचार