यसरी हुँदैछ नेकपाको विवाद समाधान, ओली सर्वोच्च नेता, प्रचण्ड एकल अध्यक्ष

जारी स्थायी कमिटी बैठकबाटै आफ्नो राजीनामा मागेपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली लामो समयदेखि तनावमै रहे । राजीनामाको मागलाई विषयान्तर गर्न कहिले भारतले सरकार ढाल्न खोजेको बताए त कहिले आफ्नै सहकर्मीहरुमा सत्ताको लोभ जागेको बताए । जारी स्थायी कमिटी बैठक नै रोकेर सचिवालयमार्फत विवाद समाधान गर्नुपर्ने भन्दै बैठकबाट भाग्ने काम गरे ।

ओली बैठकबाट भाग्न थालेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनीसँग वार्तामा बस्न इच्छा देखाएनन् । दुई अध्यक्षबीच वार्ता नै हुन छोडेपछि नेकपाका दोस्रो तहका नेताहरुले मध्यस्थताको काम गर्न थाले । विशेषगरी महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, जनार्दन शर्मालगायतका नेताहरुले विवाद मिलाउन ओली र प्रचण्डबीच पुलको काम गरिरहे । अन्ततः दोस्रो तहकै नेताहरुमार्फत नेकपाको जारी विवाद समाधानउन्मुख देखिएको छ ।



विवाद समाधानउन्मुख भएपछि प्रधानमन्त्री केपी ओलीले हिजो एक टेलिभीजन अन्तवार्तामा नेकपा नफुट्ने अभिव्यक्ति दिए । जारी विवाद अन्त्यको सिनारियो ५ दिनभित्र दिइने भन्दै उनले काउनडाउन सुरु गर्न आग्रह गरे । ओली त्यतिमैं रोकिएनन् । उनले यही सरकारले ५ वर्षसम्म निरन्तरता पाउने बताए । लामो समयपछि ओलीको अनुहारमा चमक देखियो ।

यसरी हुँदैछ विवादको अन्त्य
जारी विवादको अन्त्यको लागि प्रचण्डले गत शनिबार महासचिव पौडेलमार्फत ओलीलाई एक प्रस्ताव पठाएका थिए । प्रचण्डको प्रस्ताव थियो महाधिवेशनको मिति तोक्ने र दुबै अध्यक्षले राजीनामा दिने । तर ओली प्रचण्डको प्रस्तावमा विश्वस्थ हुन सकेनन् । प्रचण्डले आफ्नो राजीनामा गराएर वरिष्ठ नेता माधव नेपाललाई अगाडि सार्न खोजेको आशंका ओलीमा पैदा भयो । उनले प्रचण्डको प्रस्तावबारे थप छलफल गर्नुपर्ने बताए । तर पौडेल र नेम्वाङ्ले ओली र प्रचण्डबीच पैदा भएको आशंका हटाउन लागिपरे । अन्ततः उनीहरू दुई अध्यक्षबीचको आशंका मेटाउन सफल भए । प्रचण्डको प्रस्तावमा ओली थोरै र प्रचण्ड थोरै लचक हुन तयार भए । र, नेकपाको जारी विवाद समाधानउन्मुख भयो ।

ओली सर्वोच्च नेता, प्रचण्ड एकल अध्यक्ष
प्रचण्डको महाधिवेशन मिति तोक्ने र दुबै अध्यक्षले राजीनामा दिने भन्ने प्रस्तावलाई नै केही संशोधन गरेर नेकपामा बृहत् सहमतिको तयारी गरिएको छ । प्रचण्डको प्रस्तावमा ओलीले केही परिमार्जन गरेका छन् । ओलीले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउने, दुबै अध्यक्ष महाधिवेशन आयोजक कमिटीको संयोजक रहनेगरी सहमतिको ड्राफ्ट बनाए । सो ड्राफ्टमा प्रचण्ड–नेपाल समूह सकारात्मक देखिएको छ ।

ओलीले आफूूलाई पार्टीभित्र सर्वोच्च नेताको पद कायम गरेमा महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्षको उम्मेद्वार बनाउन सघाउने प्रस्ताव गरेका छन् । महाधिवेशनपछि एकल अध्यक्ष बन्ने भएमा ओलीलाई सर्वोच्च नेता बनाउन प्रचण्ड सहमत भएका छन् । दोस्रो तहका नेताहरु अब माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको भूमिकाबारे छलफलमा केन्द्रित भएको स्रोतको दाबी छ ।

नेपाल प्रधानमन्त्री, खनाल राष्ट्रपति
बृहत् सहमतिको लागि नेकपाको सचिवालय सदस्यहरूको भूमिकामा सामूहिक सहमति खोज्ने प्रयास गरिएको छ । अगामी निर्वाचनपछि माधव नेपाललाई प्रधानमन्त्रीको रूपमा र झलनाथ खनाललाई राष्ट्रपतिको रूपमा अगाडि सार्ने विषयमा ओली प्रचण्ड सहमत रहेको स्रोतको दाबी छ । अब बाँकी सचिवालय सदस्यहरुको भूमिकामा सहमति जुटेपछि नेकपामा बृहत् लिखित सहमति गरेर जारी विवाद समाधान गर्ने योजनाले छिट्टै मूर्तरूप लिनेमा ओली प्रचण्ड समूह आश्वस्त देखिन्छन् ।

सम्बन्धित समाचार