राजु लामिछाने
काठमाडौं, १ भदाै
देशकै ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी सुरू भएको छ । तोकिएकै समयमा महाधिवेशन भएको खण्डमा कांग्रेस महाधिवेशन आगामी फागुन ७ गते सुरू भएर १४ गते सकिनेछ । हाल नेपालमा आक्रमक भैरहेको कोरोना भाइरस दशैं अगाडि नै नियन्त्रणमा आएको खण्डमा कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुने सम्भावना छ । अन्यथा महाधिवेशन सर्ने पक्का छ । यद्दपि कांग्रेसमा सभापतिका आकांक्षी नेताहरूको दौडधुप भने सुरू भैसकेको छ ।
१३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला सभापतिको उम्मेद्वार रहेका थिए । कांग्रेसमा हालसम्म पनि यी तीन गुठ सक्रिय छन् । यी तीन गुठभित्रका पनि विभिन्न उपगुठ रहेको कुरा सर्वविद्दितै छ । त्यसैले महाधिवेशनको मिति नजिकिएसँगै ती विभिन्न उपगुठको नेतृत्व गरेका नेताहरूले पनि सभापतिमा आ–आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन् । यसरी दावेदारी गरेअनुसार नै महाधिवेशनमा गएको खण्डमा १४ औं महाधिवेशनमा भने सभापतिको लागि कम्तिमा पनि ८ जना उम्मेद्वार बन्ने देखिन्छ ।
कुरा सुरू गरौं संस्थापन पक्षबाट, संस्थापन पक्षबाट १४ औं महाधिवेशनको लागि ३ जना आकांक्षी देखिएका छन् । सभापति शेरबहादुर देउवाले दोहोरिने इच्छा देखाएका छन् भने विमलेन्द्र निधिले पनि १३ औं महाधिवेशनकै बाचा पूरा गर्न देउवालाई दबाव दिंदै सभापतिमा उम्मेद्वार बन्ने घोषणा गरिसकेका छन् । १३ औं महाधिवेशनमा देउवाले निधिलाई १४ औं महाधिवेशनमा सभापति बनाउने भन्दै आफूलाई सघाउन आग्रह गरेका थिए ।
यता निधिले सभापतिमा दावेदारी प्रस्तुत गरेपछि संस्थापन पक्षकै अर्का नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेद्वारी दिने बताएका छन् । श्रेष्ठले सहमतिमा देउवा नै सभापतिमा उठेमा उनैलाई सघाउने र संस्थापन पक्षबाट देउवाको विकल्प खोज्ने भए आफूलाई सभापतिको उम्मेद्वार बनाउनुपर्ने बताएका छन् । निधिभन्दा पार्टीमा आफू सिनियर भएकोले आफुलाई सघाउन उनले देउवालाई भेटेरै आग्रह गरिसकेका छन् ।
त्यसो त नेता निधिले पनि अहिले सभापति बन्न नसकेमा १५ औं महाधिवेशनसम्म गगन थापा र विश्वप्रकाश शर्मालगायतको तेस्रो तहका नेताहरूले सभापतिको दाबी गर्ने भएकोले आफ्नो राजनीतिक त्यागको मुल्यांकन गर्दै यसपटक सभापति बनाउन सघाउन आग्रह गर्दै आएका छन् । यदि कांग्रेस संस्थापन पक्षमा सहमति हुन सकेन भने ३ जनासम्म सभापतिको उम्मेद्वार बन्ने देखिएको छ । निधि पनि सभापतिमै उठेमा देउवाले हार्ने निश्चित भएकोले निधिलाई फकाउन देउवाले हरसम्भव प्रयास गरिरहेका छन् । उनको प्रयास सफल हुन्छ या हुँदैन थाहा पाउन केही समय कुर्नुको विकल्प छैन ।
पौडेल पक्षका कुरा गर्नुपर्दा त्यहाँ ४ जनाले सभापतिको दावेदारी प्रस्तुत गरिरहेका छन् । १३ औं महाधिवेशनमा देउवासँग हारेका रामचन्द्र पौडेलले सभापतिको दावेदारी गर्ने नै भए । आफ्ना पक्षका नेताहरूलाई मनाएर संस्थापन पक्षमा २ जना सभापतिको उम्मेद्वार भएमा आफूले सभापतिमा बाजी मार्ने पौडेलको आँकलन छ । साथै कृष्ण सिटौलालाई अन्तिमसम्म सहमतिमा ल्याउन सकेमा संस्थापन पक्षलाई सजिलै हराउन सक्ने पौडेलको बुझाइ छ । तर पौडेलले आफ्नै समूहमा आफ्नो निर्विरोध उम्मेद्वारीको वातावरण बनाउन सक्नेमा आफैं ढुक्क देखिँदैनन् ।
१३ औं महाधिवेशनमा पौडललाई अगाडि सारेका कोइराला समूहमा यसपटक भने कोइरालालाई नै सभापतिको रूपमा अगाडि सार्ने तयारीमा छन् । कोइराला समूहले शशांक या शेखर कोइरालामध्ये एकलाई महाधिवेशनमा अगाडि सार्ने तयारी गरेको छ । त्यसो त शशांक र शेखर दुबैजना महाधिवेशनमा सभापतिमै उठ्ने तयारीका साथ क्रियाकलाप अगाडि बढाइरहेका छन् ।
त्यसैगरी पौडेल समूहमै सक्रिय रहेका प्रकाशमान सिंहले पनि सभापतिको दाबेदारी गरिरहेका छन् । यसरी हेर्दा पौडेल पक्षलाई सभापतिको निर्विरोध उम्मेद्वार छान्न फलामको चिउरा चपाएसरी हुने देखिएको छ ।
अब कुरा गरौं सिटौला पक्षको । सिटौला पक्षमा पनि सभापतिका २ जना आकांक्षी देखिएका छन् । १३ औं महाधिवेशनमा नै देउवा र पौडेलसँग सभापतिमै भिडेका कृष्ण सिटौला १४ औं अधिवेशनमा पनि सभापतिमा भिड्ने निश्चित छ । उनले घोषणा नै नगरे पनि महाधिवेशन लक्षित क्रियाकलाप गरिरहेकोले उनले सभापतिमा उम्मेद्वारी दिने निश्चित छ । सिटौला समूहबाटै युवा नेता गगन थापाले पनि सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । यद्यपि थापाले महामन्त्रीमा आफ्नो स्थान सुरक्षित गर्न सभापतिको दाबी गरेको चर्चा छ ।
अहिलेसममको गतिविधि हेर्दा कांग्रेस सभापतिमा यो नै आउछ भन्न सकिने अवस्था छैन, तर पनि निधिलाई मनाउन सकेको खण्डमा देउवा नै सभापतिमा दोहोरिने देखिन्छ । यदि संस्थापन पक्षबाटै २ जना उम्मेद्वार भएको खण्डमा भने पौडेल पक्षका सर्वसम्मत उम्मेद्वार भएको खण्डमा सोही समूहले सभापति जित्ने सम्भावना देखिन्छ । यदि संस्थापन पक्ष र पौडेल पक्ष दुबैले एकल उम्मेद्वारीका साथ महाधिवेशनमा गएको खण्डमा सिटौला निर्णायक बन्न सक्ने देखिन्छ । सिटौला आफैंले सभापति जित्न नसके पनि उनले समर्थन गरेको समूहले सभापति हत्याउने देखिन्छ ।