धरातल बिर्सने नेतृत्व : देशको दुर्भाग्य

म कहिलेकाहीं यसो सोच्ने गर्छु, मेरो जीवनको गोरेटोले मलाई अपर्झट विदेशतिर नलगेको थियो भने आज म के गर्दै हुन्थें होला भनेर । तेह्रथुम जिल्लाको एउटा गरिब परिवारमा जन्मिएको म, झापा जिल्ला हुँदै काठमाडौँ आएको वर्षौं बितिसक्दा पनि आर्थिक समस्याले उस्तै पिरोली रहेको थियो । परिवारमा दुईजना दाइहरू पछिको कान्छो भाइ, परिवारले गर्ने सबै क्रियाकलापहरूमा र सबै प्रयासहरूमा मैले थाहा पाउँदादेखि नै सहभागिता जनाउदै आएँ । तर काम र पढाइबीच तारतम्य मिलाउन नसक्दा एसएलसीमा राम्रैसँग उत्तीर्ण भएर पनि पहिलो वर्ष क्याम्पस भर्ना हुन सकिनँ र मेरो पढाइ एक वर्ष पछाडि धकेलियो । यसैबीच क्यान्सर रोगको कारण दुई महिनाको हस्पिटल बसाइपश्चात बुबाको स्वर्गारोहण भयो । बुबाको महाप्रस्थानले परिवारमा पर्नगएको अपूरणीय क्षतिबाट बाहिर निस्कनको लागि हामीले निकै लामो समय लाग्यो ।

बुबाकोको स्वर्गारोहणपश्चात हाम्रो बसाइ काठमाडौँबाट भक्तपुर पुग्यो र म त्यहीं एउटा निजी विद्यालयमा पढाउन थालेँ ।



प्रमाणपत्र तह अध्ययन गर्दैगर्दा देशको राजनीतिले थोरै कोल्टे फेर्यो र तत्कालीन वामपन्थी पार्टी विभाजन भएर माले र एमाले बन्योे । यसरी पार्टी विभाजन हुने कारण जे सुकै भए पनि त्यसको बीउ भने विधार्थी संगठनबाटै रोपिएको थियो भन्ने कुरामा म राम्रोसँग जानकार थिएँ । विभाजन अघि र पछि क्याम्पसमा हुनेगरेका बाक्ला भेला, प्रशिक्षण र गोष्ठीजस्ता कार्यक्रमहरू हेर्दा लाग्थ्यो म पढिरहेको नेपाल कमर्स क्याम्पस त्यसबेला बामपन्थी विद्यार्थी राजनीतिको एउटा हब नै बनेको थियो । प्रगतिशील विचारधाराबाट प्रभावित भएर राजनीतिमा सामान्य चासो राखेता पनि औपचारिक रूपमा म कुनै पनि पार्टी विशेष वा भातृसंगठन विशेष वा कुनै कमिटी विशेषमा संगठित भैसकेको थिइनँ । तर पार्टी विभाजनपश्चात भने म अध्ययनरत क्याम्पसबाट संगठनको माथिल्लो कमिटीमा रहेर काम गरिरहेका सिनियर दाइहरूको अनुरोधमा विभाजनपछि बनेको पहिलो प्रारम्भिक कमिटीमा रहेर औपचारिक रूपमा विद्यार्थी राजनीतिमा सक्रिय हुन पुगें ।

मेरो स्नातक तहको पढाइ, काम र संगठन तीनै कुराहरू सँगसँगै अगाडि बढिरहेका थिए ।

विभाजन पछिको संगठन निर्माणको काम र त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा वर्षको अन्त्यमा आउन लागेको स्ववियुको निर्वाचनको तयारीलगायतले गर्दा त्यतिबेलाको विद्यार्थी राजनीति निकै तातेको थियो । यस्तो लाग्दथ्यो, क्याम्पसमा हुनुपर्ने पढाइ चाहिँ अलिक कम र अन्य कुरा चाहिँ धेरै नै हुने गर्छ । यस्तै समय र परिस्थितिबीच कमिटीको प्रारम्भिक सम्मेलन सम्पन्न भयो र उक्त सम्मेलनले मलाई उक्त कमिटीको सचिव पदमा निर्वाचित गर्यो ।

सम्मेलन सकिएको केही दिनपश्चात कार्यसमितिकै केही साथीहरूबाटै जागिर खाँदै गरेको मान्छेलाई कमिटीको कार्यकारी पदमा स्वीकार गर्न नसकिने आवाज उठ्यो । अर्थात् मैले गरिरहेको स्कूल पढाउने कामलाई लिएर विवाद सुरू भयो । यस्तै आग्रह पूर्वाग्रहका बीच कमिटीको बैठकले औपचारिक रूपमा नै मलाई स्कुलको जागिर छोड्न निर्देशन दियो । अथवा जागिर र कमिटीको कार्यकारी पदमध्ये कुनै एउटा रोज्न भनियो । कमिटीको निर्देशनपछि मैले स्कुलको जागिर छोडेर पूर्णकालीन कार्यकर्ताका रूपमा संगठनको कामलाई रोजेेंं ।

तर यसरी काम छोडेर संगठनको पूर्णकालीन कार्यकर्ता भएको केही समय पनि नपुग्दै विवाद नरोकिएको भन्दै तत्कालीन कमिटी भंग गरेर आयोजक कमिटी निर्माण गर्ने नाममा मलाई मेरो निर्वाचित पदबाट पनि बर्खास्त गरियो । यी सबै घटनाक्रम र क्रियाकलापहरूमाझ कत्ति पनि बिचलित नभई मैले संगठनको कामलाई उत्तिकै सक्रियताका साथ जारी राखेँ ।

साठीको दशकको पूर्वार्धतिर देशमा माओवादी द्वन्द चरम उत्कर्षमा पुगेको थियो । विद्रोही र राज्यपक्ष दुबैको चेपुवामा परी हजारौंले अकालमा ज्यान गुमाई सकेका थिए भने नेपाली समाज द्वन्दको कारण थिलथिलो भएको थियो । त्यसैताका म स्नातक तहको विद्यार्थी र संगठनको पूर्णकालीन कार्यकर्ता रहेकै समयमा २०५७ सालको फाल्गुन महिनामा भएको नेपाल कमर्स क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा स्ववियुको सचिव पदमा निर्वाचित हुने अवसर मिल्यो । त्यसपश्चात ३ वर्षसम्म मैले स्ववियुमा रहेर विद्यार्थीहरूलाई फेसिलेट गर्ने र संगठनको कामलाई पनि जारी राखेँ ।

यसरी विद्यार्थी राजनीतिको ६ वर्षे कार्यकालका मेरा हरेक दिनहरू अत्यन्तै सक्रियतापूर्वक बिते । त्यसबेला जे सिकियो, जे बुझियो, जे जानियो र जे गरियो सबै उपलब्धिमूलक नै रह्यो भन्ने मेरो ठम्याइ छ ।

यसरी संगठनको पूर्णकालीन कार्यकर्ता भएर ५-६ वर्षदेखि काम गरिरहेको र स्ववियुमा समेत निर्वाचित भएको अवस्थामा परबाट झट्ट हेर्दा सबै कुराहरू ठीकठाक चलिरहेको अवस्था देखिन्थ्यो, तर मेरो वास्तविकता भने थोरै भिन्न हुँदै गैरहेको थियो । मभित्र भने कतिपय प्रश्नहरू र अन्य विविध कारणहरूले गर्दा समग्र विद्यार्थी राजनीतिप्रतिको दृष्टिकोणमा क्रमशः परिवर्तन हुँदै जान थाल्यो ।

स्कुलको जागिरलाई छोडेर संगठनको काम सम्हालेको लामो समय भैसक्दा पनि दिगो अर्थोपार्जनको अभावमा घरमा आर्थिक समस्याले भने दह्रोसँग जरो गाड्दै थियो । राजधानीको महँगाईभित्र विधार्थी राजनीति जस्तो खर्चिलो पेशामा एउटा सामान्य परिवारको सदस्य मैले आफूलाई फिट गराउन सकिरहेको थिइनँ । मेरो लागि अर्थोपार्जन विनाको राजनीति कुनै हालतमा पनि दिगो हुने मैले देखिनँ ।

देशभरिका त्रिभुवन विश्वविधालयका सबै आंगिक क्याम्पसहरूमा संगठनका प्रारम्भिक कमिटीहरू सक्रिय रहेका हुन्छन् । हरेक जिल्लामा जिल्ला कमिटीहरू, केन्द्रीय कमिटी तथा विभिन्न विभागहरू आदि गरेर एउटा विधार्थी संगठनमा हजारांै विद्यार्थीहरू गोलबद्ध भएका हुन्छन् । यसरी हजारांै विद्यार्थीहरू राजनीतिमा क्रियाशील हुँदै गर्दा एउटा क्याम्पसस्तरको प्रारम्भिक कमिटीमा रहेर काम गर्दा समेत मलाई जागिर छोड्न निर्देशन दिइएको कुराले मेरो मथिंगलमा एउटा प्रश्न भने रही रह्यो । त्यो के भने मेरोजस्तो आर्थिक अवस्था रहेका हजारौं कार्यकर्ताहरू अर्थोपार्जन विना यति लामो समयसम्म राजनीतिमा कसरी टिकिरहेका होलान् ?

तर मेरो त आफ्नै बाध्यता थियो । घरमा आफूसँगै आमालाई समेत हेरचाह गर्नुपर्ने उत्तरदायित्व बोकेको मैले भइरहेको जागिर छोडेपछि त्यसबाट मेरो घरको दैनिकीमा उत्पन्न हुनसक्ने आर्थिक चुनौती र त्यसको समाधानका सम्भावित उपायहरूको बारेमा तत्कालीन विद्यार्थी नेतृत्वले कुनै किसिमको राय सल्लाह वा विचार विमर्श गरेन । त्यसपछि मेरा त्यस्ता दिनहरू पनि आए, जब म दिनभरि क्याम्पसको राजनीतिमा संलग्न भएर साँझ घर फर्किंदा राजनीतिमा नरहेको कुनै जागिरे साथीलाई फोन गरेर १-२ हजार रूपैया सापटी मागेर घरका लागि आवश्यक सामग्री किन्ने गर्थें ।

संगठनको उपल्लो कमिटीमा निर्वाचित हुन वा मनोनित हुन केन्द्रीयस्तरका नेताहरूलाई नियमित रिझाउनु पर्ने र जी–हजुरी गरिरहनु पर्ने कुरालाई पनि मेरो अन्तर्मनले स्वीकार गर्न सकेन । त्यही भएर होला मैले कुनै पनि केन्द्रीयस्तरका नेताहरूसँग व्यक्तिगत रूपमा उठबस गर्ने वा सम्बन्धलाई प्रगाढ बनाउने वा राजनीतिक रूपमा आफ्नो भविष्यलाई उज्ज्वल बनाउने कुरा कहिले पनि मेरो प्राथमिकतामा परेन ।

मेरो राजनीतिको सुरूवातका दिनहरूमा जजसलाई मैले आदर्श व्यक्तित्व मान्ने गरेको थिएँ र जजसको प्रेरणाले विद्यार्थी राजनीतिमा म सक्रिय रहेको थिएँ, त्यो छोटो समयमा नै अधिकांश ती व्यक्तित्वहरू राजनीतिक रङ्गमञ्चबाट पलायन भइसकेका थिए ।

स्ववियुले क्याम्पसभित्र दैनिक प्रशासनिक कामहरूमा दिने गरेको दख्खल, क्याम्पसभित्र हुनेगरेका विकास निर्माणका कार्यहरूमा गर्नेगरेको हस्तक्षेप, सांस्कृतिक र खेलकुदलगायत विधार्थीहरूको शारीरिक र मानसिक विकासँग सम्बन्धित क्रियाकलापहरूमा हुने गरेको अपारदर्शी खर्च र त्यस्तो प्रवृतिप्रति केन्द्रीय विधार्थी नेताहरूको अस्वाभाविक रूचि र चासो आदि गतिविधि देखेर मलाई विद्यार्थी राजनीतिमा टिकिरहने कुरा त्यति आकर्षणको विषय लाग्न छोड्यो । बरू मलाई कोठाको भाडा तिर्ने क्रममा, घर चल्ऽाउने क्रममा साथीभाइसँग लिएको सापटी रकम कसरी फिर्ता गर्ने भन्ने चिन्ताले सधैं पिरोलीरहन थाल्यो ।

यस्तै यस्तै यक्ष प्रश्नहरूका बीच घेरिरहँदा मेरा पछिल्ला दिनहरू र मेरा विचारहरू करिब करिब अस्थिर बनिरहेका थिए ।

समयले दिएको हण्डर र ठक्कर खाँदै तथा विगत र वर्तमानलाई समीक्षा गर्दै आफ्नो जिन्दगीको बाटो आफैं तय गर्ने सोच ममा क्रमशः विकास हुँदै थियो । त्यो बेला मैले गर्ने कुनै पनि निर्णयको परिणाम् सही वा गलत जे भए पनि त्यसको जिम्मेदार म स्वयम् हुने थिएँ । म यस्तै निर्णयक मोडमा उभिएको बेला २०६० सालको फाल्गुन महिनामा हुने निर्वाचनमा स्ववियुको उपसभापति पदमा चुनाव लड्न संगठनले गरेको प्रस्तावलाई अस्वीकार गर्दै मैले मेरो ६ वर्ष लामो विद्यार्थी राजनीतिलाई त्यही बिन्दुबाट, त्यही क्षणबाट अन्त्य गर्दै सम्पूर्ण राजनीतिक गतिविधिबाट विश्राम लिने निर्णय गरेँ ।

१६-१७ वर्षपछाडि अहिले आएर, कहिलेकाहीँ म सोच्ने गर्छु, के त्यो बेलाको मेरो निर्णय गलत थियो ? के त्यो मेरो निर्णय अपरिपक्व थियो ? अनि लामो सास लिएर भन्न मन लाग्छ– अहँ, कुनै पनि अवस्थामा त्यो निर्णय गलत थिएन । आफूलाइ फर्केर हेर्दा मलाई कुनै पनि बिन्दुमा मैले गलत गरेँ भन्ने लागेको छैन । म हेर्छु कतिपय मेरा समकालीनहरूलाई; धेरै मित्रहरू अझै पनि राजनीतिमै सक्रिय छन् । कोही संघीय संरचनाअन्तर्गत विभिन्न तहमा निर्वाचित भएका छन् । कोही भने निर्वाचित हुने अवस्थामा आफ्नो पालो पर्खेर बसिरहेका छन् ।

तर व्यक्तिगत रूपमा राजनीतिमा कुनै व्यक्ति जहाँ पुगे पनि अहिलेको राजनीतिक नेतृत्वबाट देश र जनताले आफूले सोचे जस्तो परिवर्तनको महसुस गर्न पाए कि पाएनन् ? आजको मूल प्रश्न हो यो । कुनै एउटा पार्टीलाई करिब करिब दुई तिहाइ मतले निर्वाचित गराएर सत्तामा पुर्याउदा त्यो मत दिने जनताको, मजदुर र किसानको अनि आम सर्वसाधारणकोे आँशु पुछियो कि पुछिएन ? भोको पेट भरियो कि भरिएन ? र उसको घरमा चुल्हो बल्यो कि बलेन ? आजको मूल प्रश्न हो यो । तर अहिले सत्ताको बागडोर सम्हालिरहेका नेताहरूको तौरतरीका हेर्दा यस्तो लाग्छ कि उनीहरू आफैले चुनावताका जनतासामु गरेको बाचालाई सम्पूर्ण रूपले बिर्सिसकेका छन् र अहिले केवल सत्तामा आफ्नो पकडलाई कसरी बलियो र दिगो बनाउने भनेर आफ्नो सम्पूर्ण शक्तिलाई खर्च गरिरहेका छन् ।

कहिलेकाहीं मलाई लाग्छ हामीले देखेको र हामीले बुझेको राजनीतिले कहिले पनि प्रेम गर्न जानेन । राजनीतिले जहिले पनि समाजमा घृणा मात्रै बाँडिरह्यो । आजकल धेरै नेता कार्यकर्ताहरू आफ्नो वास्तविक औकात बिर्सिएर पार्टीको कुनै अमुक नेताको पछाडि लागेर अझ भनौं कुनै एउटा सानो गुटमा लागेर सामाजिक सञ्जालतिर बर्षौंदेखि सहकार्य गरेको आफ्नै सहकर्मीको उछितो काढ्दै गरेका, उनीहरूलाई खुइल्याउँदै गरेका भेटिन्छन् । यदि राजनीतिले प्रेम गर्न जानेको थियो भने, आफूलाई मत दिने त्यो गरिबसम्म अलिकति मात्र भएपनि सहानुभूतिपूर्ण स्पर्श पुग्ने थियो, भोको पेटमा दुई छाक अन्नले भरिने थियो अनि त्यो नाङ्गो आङ् एकसरो कपडाले ढाकिने थियो । तर विधिको बिडम्बना, कम्युनिस्टको दुईतिहाई नजिकको सरकार हुँदा पनि त्यस्तो सम्भव भएन र हुने अवस्था पनि देखिएको छैन । हुँदा खाने वर्गलाई भर्याङ बनाएर हुने खाने वर्गले चलाएको उद्योग मात्रै रहेछ राजनीति । फगत एक उद्योग ! र, यस्तो उद्योग जुन देशमा जतिसुकै विप्लव आए पनि वा देश जस्तोसुकै संकटबाट गुज्रिए पनि त्यो सधैं फस्टाइ मात्र रहन्छ ।

मेरा एक मित्र जोसँग विधार्थी राजनीतिको त्यो कालखण्डको केही वर्षसम्म सँगै रहेर सहकार्य गरेका थियौं, अहिले आफ्नै जिल्लामा पार्टीको महत्वपूर्ण पदमा रहेर काम गरिरहनु भएको छ । देशमा सङ्कटकाल लागेको बेला वहाँले पटक पटक प्रहरी हिरासतमा समेत रहनु परेको थियो । वहाँको शालीन व्यक्तित्व, राजनीतिप्रतिको निष्ठा र समर्पणको म सदैब प्रशंसक रहिआएको छु । राजनीतिक नेतृत्वको गलत प्रवृतिको विरूद्धमा कहिले पनि खुलेर आलोचना गर्न नचाहने वहाँले भर्खरै सामाजिक संजालमा वर्तमान राजनीतिप्रतिको आफ्नो कुण्ठा यसरी व्यक्त गर्नुभयो– ‘सतीले सरापेको देश ।’

वर्तमानमा सत्ताको बागडोर सम्हालीरहेको, सरकारको नेतृत्व गरिरहेको त्यो व्यक्ति, जसले देशको मुहार फेर्छु, गरिब र भोका–नाङ्गा जनताको जीवनमा परिवर्तन ल्याउँछु भनेर आफ्ना गतिविधि संचालन गर्दा चौध–चौध वर्षम्म जेलको कालकोठरीमा बस्नु पर्यो । त्यस्तै अर्का व्यक्ति जसले पनि ठ्याक्कै यिनै कुरा गर्छु भनेर दस–दस वर्ष सशस्त्र विद्रोहको नेतृत्व गर्यो । दुईसय पचासवर्षदेखि जरा गाडेर बसेको सामन्ती राजसंस्थाको अन्त्य गर्दै गणतन्त्र प्राप्तिको सपनालाई यथार्थमा परिणत गरायो अनि पटक पटक सत्ताको बागडोर समेत सम्हाल्ने मौका पायो । समयको एउटा अन्तरालसम्म विपरीत ध्रुवमा रहेका यस्ता महान् हस्तीहरूको आपसी मेल पक्कै पनि देशको लागि एउटा स्वर्णिम युग बन्नु पर्ने थियो । आफ्ना जन्मदाताको अनुहारमा खुशी र आफ्ना आउने सन्ततिको स्वर्णिम भविष्यको कामनासहित देशभित्रै पसिना बगाइरहेको युवाहरूको एउटा पुस्ता र विदेशमा समेत अझ भनौ खाडीको तातो मरूभूमिमा आफ्नो जीवन सेकाइरहेका लाखौं युवाहरूको मुहारमा खुशीका रेखाहरू कोरिनु पर्ने थियो तर बिडम्बना, त्यस्तो हुन सकेन । के देशको राजनीति सही दिशातिर गइरहेको छ ? के चौध वर्ष जेल बस्दा देखिएको सपना के यही थियो र ? सत्रहजार सर्वसाधारणको ज्यान लिएको दस वर्षे विद्रोहले कोरेको देशको विकासको रूपरेखा के यही थियो ?

अहँ, पक्कै थिएन । यसैले त आफ्ना व्यक्तिगत इच्छा र आकांक्षाहरूलाई तिलाञ्जली दिएर यो देशको मुहारलाई फेर्नेछु भनेर दशकौंदेखि रगत र पसिना बगाइरहेको एउटा इमान्दार कार्यकर्ताको पीडा सामाजिक संजालमा आज छताछुल्ल पोखिन्छ ‘सतीले सरापेको देश’ भनेर । अनि, त्यो आम सर्वसाधारणको मनमा के गुज्रिरहेको छ भन्ने कुराको लेखाजोखा कसले गर्ने ? कसले दिने यी सबै प्रश्नहरूको उत्तर ? कसले पुर्ने त्यो नेतृत्वको खाडललाई जसले यी सबै प्रश्नहरूको उत्तर शब्दले होइन कामले दिन सकोस् ?

मैले यी कुराहरू गरिरहँदा निराशाको खेती गर्न भने पक्कै पनि खोजिरहेको छैन । हरेक कालो बादलको वरिपरी सेतो चाँदीको घेरा हुन्छ भनेझैं, सुन्दर कमलको फूल पनि फोहोर पानीभित्रै फुलेको हुन्छ भनेझैं खराब नेतृत्वका बीच पनि असल व्यक्ति कतै लुकेको होला भन्ने अपेक्षा गर्न सकिन्छ । विभिन्न पार्टीको नेतृत्व तहमा आजकल धेरै युवाहरूको प्रवेश हुन थालिसकेको छ । राजनीतिमा चासो राखेर अगाडि आइरहेका शिक्षित युवाहरू आजकल धेरै भेट्न सकिन्छ । आशा गरौं, हजारौं नेताहरूको भीडभित्रबाट एउटा असल र देशभक्त नेता भेटिने छ र देशलाई नेतृत्व गर्ने तहसम्म चाँडै पुग्नेछ । उसैले हाम्रो सुन्दर र शान्त देशलाई सतीले सरापेको देश होइन, प्राकृतिक छटाले भरिपूर्ण स्वर्गको एक टुक्रा हो अथवा हाम्रा लागि एउटा बरदान हो भन्ने कुरालाई व्यवहारले पुष्टि गर्नेछ, कामले पुष्टि गर्नेछ । प्रतीक्षा कालो बादल फाट्ने दिनको हो ।

(यो सामग्री हाल अमेरिकाको टेक्सास राज्यलाई आफ्नो कर्मक्षेत्र बनाएका युवराज खतिवडाको फेसबुकमा प्रेषित ‘जीवनका पानाहरू’ बाट साभार गरिएको हो ।)

 

सम्बन्धित समाचार