महेश कठायत
काठमाडौं, १७ भदौ ।
भनिन्छ– रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बेस हो । तर हाम्रो नेपाली समाजमा यो भनाइ केवल भनाइमा मात्र सीमित भएको देखिन्छ । हुन त आम मानिसहरूमा जति ज्ञान हुन्छ त्यो सबै व्यवहारमा लागु भएको पाइँदैन । हामीलाई थाहा भएका तर व्यवहारमा लागु हुन नसकेका थुप्रै उदाहरणहरू हाम्रै सामु भेटिन्छन् । यसका पछाडि अनेकौं कारणहरू होलान् तीमध्ये एउटा मूल कारण भनेको इच्छाशक्तिको कमी हो । जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ; तर इच्छा नै नभएपछि उपाय कहाँ हुनु ?
प्रसंग हो कोरोना कहरको । कोरोना भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ ? आज यो प्रश्न जति जटिल बनेको छ, उत्तर त्यति नै सजिलो छ । किनभने रेडियो सुन्ने, टेलिभिजन हेर्ने र फोनको रिङटोन सुन्ने जोसुकैलाई कोरोनाबाट बच्न सकिने उपायहरू कण्ठस्त भइसकेको छ । त्यसोभए ती मिडियाहरूमा भनेअनुसार नै गयौं भने संक्रमणबाट जोगिन सकिएला त ?
विभिन्न देशहरूको अनुभव र विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट बच्ने उत्तम उपायहरू भनेकै एकअर्का बीच कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्ने, साबुनपानीले पटकपटक हात धुने या स्यानिटाइजरको प्रयोग गर्ने र मास्कको सही प्रयोग गर्ने हो । यदि विकल्प यतिमात्र थियो भने पाँच–पाँच महिनासम्म आम नागरिकहरू घरभित्रै किन थुनियो ? अनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले अरबौं रूपैयाँ किन खर्च गर्यो ? प्रश्न गम्भीर छ ।
ठूलाठूला शक्तिशाली राष्ट्रहरूलाई अझ भनौं विश्व मानव समुदायलाई थर्कमान गराउँदै महामारी रूपमा फैलिएको कोरोना भाइरसप्रति सुरूवाती दिनदेखि नै गम्भीर बन्न नसक्नु नेपाल सरकारको ठूलो कमजोरी हो । पछि देशमा जति संक्रमण फैलिँदै गयो, त्यसबेला पनि उचित निर्णय र रोकथामका प्रयासलाई सरकारले व्यवस्थित गर्न सकेन र सरकार फेरि पनि चुक्यो । सरकारले आम नागरिकको साथ लिन पनि सकेन । सरकार आम नागरिकलाई साथमा लिएर अगाडि बढेको भए एकले अर्कोलाई दोषारोपण गर्ने स्थिति नै आउने थिएन ।
सरकार र नागरिकबीचको सम्बन्ध बिग्रिएकै कारण परिस्थिति झनै विकराल बन्यो र अझ बन्दैछ । नागरिक र सरकारबीचको सम्बन्धमा चिसोपन थपिदै गइरहेका बेला सरकारी अधिकारीहरूका अभिव्यक्तहरूमाथि नागरिकहरू विश्वासै गर्न छोडे । आज पनि सरकारसँग कुनै नागरिकलाई घरघरमा थुन्नेबाहेक अर्को ठोस विकल्प देखिँदैन ।
संक्रमण समुदायस्तरमा फैलिएको छैन भन्ने सरकारको दाबीलाई आइतबार स्वास्थ्य मन्त्रालयकै एक जना जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीले मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा उक्त भनाइलाई गलत सावित गरिदिए । उनले काठमाडौं उपत्यकासिहतका १२ वटा जिल्लामा संक्रमण समुदायस्तरमा नै फैलिसकेको बताएका छन् । संक्रमणको जोखिम बढिरहेका बेला सरकारी पक्षको कछुवा गतिको तयारीलाई हेर्दा कोरोना संक्रमण अघि–अघि र सरकारको तयारी पछि–पछि देखिन्छ । संक्रमणको जोखिम घटे लकडाउन खोलिदिने र संक्रमणको जोखिम बढे लकडाउन गरिदिने बाहेक अहिले पनि सरकारसँग विकल्प देखिँदैन । यदि सरकारले अझ पनि आफ्नो कार्यशैली परिवर्तन गरेन भने दिनहूँजसो उक्कालोलाग्दो कोरोनाको संक्रमण दरले नागरिकमा आर्थिक, सामाजिक मात्र होइन, मनोवैज्ञानिक त्रासको सिकार हुनुपर्ने अवस्था नआउँन भन्न सकिन्न ।
निषेधाज्ञा र लकडाउनले मात्रै संक्रमणलाई रोक्छ र यही मात्र अन्तिम अस्त्र हो भन्ने सरकारको मनसाय देखिन्छ । चारमहिना लामो लकडाउन र पछिल्लो समयका निषेधाज्ञाले संक्रमण फैलिन नदिन केही मद्दत मिले पनि यसबाट उत्पन जटिल परिस्थितिलाई सरकारले नजर अन्दाज गरेको भान हुन्छ । यसले सीमान्तकृत वर्गका नागरिकहरूको दैनिकीमा कस्तो प्रभाव परिरहेछ भन्ने कुरामा सरकारले खास्सै ध्यान दिएजस्तो लाग्दैन । नागरिकहरू रोगले भन्दा पनि भोक र मनोवैज्ञानिक त्रासबाट ग्रसित भएको कुरामा सरकार गम्भीर बन्न सकेको देखिन्न ।
केहीदिन अघि सामाजिक सञ्जालमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको करिब–करिब दुई मिनेटको एउटा भिडियो क्लिप धेरैले रूचाएका थिए । उनले उक्त भिडियोमा भनेको कुराको सार यस्तो थियो– ‘लकडाउन भनेको जनतालाई घरभित्रै थुनेर बाहिर कफ्र्यु लगाउनु हो तर हाम्रो देशमा एकछाक टार्नका लागि बाहिर जानैपर्ने जनता पनि छन् । यदि मैले लकडाउन गर्दिएँ भने मेरो देशका दैनिक काम गरेर आफ्नो गुजारा चलाइरहेका रिक्सावाला, ट्याक्सीवाला, दोकानदारवाला र यस्ता सबै वर्गहरू घरमै थुनिन्छन् । यस्तो दुई हप्तासम्म घरमै बसेर आफ्नो र छोराछोरीको पेट पाल्ने अवस्था छैन र हाम्रो क्षमता पनि छैन सबैको घरघरमा खान पुर्याउन । यो काम चीनले गरेको थियो किनकि चीन दुनियाँकै दोस्रो अमिर मुलुक हो । चीनसँग पैसा, पावर र स्रोतसाधन सबै थियो तर हाम्रो अवस्था त्यस्तो छैन । त्यसैले यदि मैले लकडाउन गर्न चाहेँ भने मैले मेरो देशका ती पच्चीस प्रतिशत गरिब जनताको हालत के होला एकपटक सोच्नैपर्छ ।’
यो उदाहरणले भन्न खोजेको कुरा हामीले हाम्रो देशको स्रोत, साधन र क्षमता अनुसारकै कदम चाल्न सक्नुपर्छ, कुनै विदेशी मुलुको सिको गर्नु जरूरी छैन । यो महामारीको लडाइँमा सबै व्यक्ति आफैंमा एउटा सिपाही हो, र लडाइँमा मेरो भूमिका पनि महत्वपूर्ण छ भनेर नागरिकहरू पनि आफै सजग र गम्भीर बन्नुपर्छ । सरकारले कस्तो कदम चाल्ने भन्ने कुरा आम नागरिकहरूको व्यवहारमा भर पर्छ भने आम नागरिकको व्यवहार कस्तो हुने भने कुरा सरकारको कामकारबाहीमा भर पर्छ । तसर्थ महामारीको यो लडाइँमा सरकार नागरिकसँग र नागरिक सरकारसँग होइन दुबै मिलेर कोरोनाको महामारीसँग लड्न सके सफलता प्राप्त हुन सक्छ ।
यस्तो छ, नेपालमा संक्रमणको अवस्था
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबारसम्म ४० हजार ५ सय ९९ संक्रमितहरूमध्ये सक्रिय संक्रमितहरूको संख्या १८ हजार १ सय १२ रहेको छ । उक्त संक्रिय संक्रमितहरूमध्ये १० हजार ८ सय ३२ जना संस्थागत आइसोलेशनमा र बाँकी ७ हजार २ सय ८० होम आइसोलेसनमा रहेको छन् । हालसम्म सङ्क्रमण देखिएकामध्ये एक सय २७ जना सघन उपचार कक्ष र १७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कूल संक्रमितहरूमध्ये हालसम्म ५५ प्रतिशत संक्रमितहरू अर्थात् २२ हजार १ सय ७८ जना निको भएर घर फर्किसकेका छन् भने मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । अहिले काठमाडौं, रौतहट, सर्लाही र मोरङ गरी चार जिल्लामा एक हजार बढी सक्रिय संक्रमितहरू रहेका छन् भने सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, चितवन, ललितपुर र रूपन्देही गरी आठ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमितहरू रहेका छन् । त्यस्तै, कोरोना संक्रमितमुक्त जिल्लाहरू पाँच छन् । आइतबारसम्ममा देशभरिका क्वारेन्टिनमा रहनेहरूको संख्या ७ हजार ३ सय ९० रहेको छ ।